कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६८

धनुषा बमकाण्ड : “११ बजे जडान, १२ बजे विस्फोट”

- तीन कदम पर पड्कियो बम, - इन्स्पेक्टरसहित तीनको मृत्यु
अजित तिवारी

(जनकपुर) — धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४६ वर्षीय राजेश साह शुक्रबार राति सुत्नुअघि शौचालय जान लागेका थिए । त्यति नै बेला उनले घरको भित्री ढोकामा रातो झोला झुन्डिइरहेको देखे । नजिकै पुगेर हेर्दा झोलामा प्रेसरकुकर थियो । उनी आत्तिँदै कोठामा पसे । अनि हतारहतार श्रीमती र छोराछोरीलाई लिएर बाहिर निस्किए ।

धनुषा बमकाण्ड : “११ बजे जडान, १२ बजे विस्फोट”

त्यसपछि साह सिधै इलाका प्रहरी कार्यालय पुगे । उनले प्रहरीलाई घरमा बम राखिएको जानकारी गराए । प्रहरी निरीक्षक अमिर दाहाल खाना खाइवरि कार्यालयमै बसिरहेका थिए । लगत्तै उनी असई मोहम्मद मुस्तफालाई लिएर साहको घरतर्फ लागे ।

इन्स्पेक्टर दाहालले बाटोबाटै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरे । बम हो/होइन भन्ने यकिन गर्न भन्दै उनीहरू घटनास्थल पुगे । प्रहरी पुग्दा साहको घरवरिपरि मानिसहरू भेला हुन थालेका थिए । त्यतिबेला रातिको करिब १२ बज्नै लागेको थियो । वर्षासँगै आकाशमा गड्याङ्गुडुङ चलिरहेको थियो ।


दाहालले भीड पन्छाउन सुरक्षाकर्मीलाई आदेश दिए र आफू बम राखिएको ढोकातिर अघि बढे । उनीसँगै घरधनी साह र उनका छोरा आनन्द पनि थिए । ‘उनीहरू ३–४ कदम परै हुँदा ठूलो आवाजसहित बम पड्कियो,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले भने, ‘कसैले बम नछुँदै पड्कियो ।’


इन्स्पेक्टर दाहालले खबर गरेपछि महेन्द्रनगरमै रहेको नेपाली सेनाको बम डिस्पोजल टोली तयार हुँदै थियो । बम नै हो कि होइन, यकिन गरेर फेरि खबर गर्छु भन्दै उनी साहको घरमा गएका थिए । ‘डिस्पोजल टिम तयार हुँदै थियो,’ सेनाका कर्णेल अञ्जन रूपाखेतीले भने, ‘हाम्रो टोली घटनास्थल नपुग्दै बम पड्कियो ।’


मध्यरातको त्यो विस्फोटमा इन्स्पेक्टर दाहाल, साह र उनका छोरा आनन्दको मृत्यु भयो । साह र आनन्दको घटनास्थलमै र दाहालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान मृत्यु भएको हो । विस्फोटमा साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, १९ वर्षीया अन्जलीकुमारी साह, ७३ वर्षीय भिखारी साह र प्रहरी जवान रिझनाथ महतो घाइते भए ।

विस्फोटको प्राविधिक अनुसन्धान थालेको सेनाले घटनास्थलबाट पड्केको बमको टुक्रा र अवशेष संकलन गरेको छ । ‘बमको टुक्रा र कणलाई हाम्रा विशेषज्ञले केलाउँदै छन्,’ सेनाको महेन्द्रनगर गणका प्रमुख कर्णेल रूपाखेतीले भने ।


केही प्रत्यक्षदर्शीले प्रहरीले छोएलगत्तै बम विस्फोट भएको बताए पनि प्रहरीका प्रदेश प्रमुख डीआईजी प्रद्युम्न कार्कीले आफैं पड्किएको जनाए ।


‘टाइमर सेट गरेर वा रिमोटबाट पड्काएको देखिन्छ,’ कार्कीले भने, ‘बमको प्रकृति थाहा नहुँदा ठूलो क्षति भयो । यस्तो बम उच्च प्रविधियुक्त ज्ञान भएकाले मात्रै बनाउन सक्ने उनले बताए । प्रहरीको छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘राजेशले रकम लगानी गर्ने र व्यापार–व्यवसाय गर्ने भएकाले ऋण लिनेहरूबाटै विस्फोट गराइएको हो कि भन्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाएका छौं,’ उनले भने ।


साहको घर पस्ने दुई ढोका छन् । बम भित्री ढोकामा राखिएको थियो । अग्लो पर्खाल नाघेर घरको भित्री ढोकाको ह्यान्डलमा बम झुन्ड्याएकोले विस्फोटमा साहको घरमा आउजाउ गरिरहेकै व्यक्तिको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।


इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका असई रामपदार्थ साहका अनुसार सहकर्मी मुस्तफालाई भीड नियन्त्रण गर्न भनेर इन्स्पेक्टर दाहाल बम राखिएको ठाउँतिर गएका थिए । ‘घटनास्थलमा अँध्यारो थियो,’ असई साहले भने, ‘बमको कनेक्सन खोज्ने क्रममा आफैं पड्कियो । कुदेर आँगनमा पुग्दा उहाँहरू रगतले लतपतिनुभएको थियो ।’


ब्याजमा ऋण लगाउने साह शुक्रबार पैसा उठाउन हिँडेका बेला अज्ञात व्यक्तिले घरमा बम राखिदिने धम्की दिएका थिए । प्रहरीले लेनदेन विवादमै साहको घरमा बम राखिएको आशंकामा उनको कारोबारसँग जोडिएका व्यक्तिहरूलाई निगरानीमा राखेको छ ।

‘बमबारे राजेशलाई पूर्व जानकारी थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘ढोकामा रातो झोला देख्नेबित्तिकै घरका सबै सदस्यलाई सुरक्षित ठाउँमा सारेर प्रहरीलाई खबर गरेकाले उनले ढोकामा बम नै रहेको यकिन गरिसकेको हुनुपर्छ ।’


घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हंसपुर नगरपालिका २, बघचौडाकी ललितादेवी महरा, सीतादेवी महरा एवं मिथिलाविहारी नगरपालिका १, भुतही पटेर्वाका रामशोभित दाहाल पक्राउ परेका हुन् । पक्राउ परेकाहरू नेत्रविक्रम चन्द समूहमा संलग्न रहेको प्रहरीको आशंका छ । प्रहरीले विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली खटाएको छ ।


संखुवासभाको मादी नगरपालिका घर भएका ४५ वर्षीय प्रहरी निरीक्षक दाहाल ०५५ कात्तिक १ गते प्रहरीमा भर्ना भएका थिए । उनी असईबाट प्रहरीमा प्रवेश गरेका थिए । ०७५ मा प्रहरी निरीक्षकमा बढुवा भएपछि उनी रौतहटको चन्द्रनिगाहपुर, धनुषाको धनुषाधाम हुँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगर आएका थिए ।


दाहालको शनिबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।


सिरहामा पनि विस्फोट

सिरहाका लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि शुक्रबार राति बम विस्फोट गराइएको छ । सिरहा प्रहरीका अनुसार कार्यालयको माथिल्लो तल्लामा भएको विस्फोटबाट झ्याल र ढोकामा क्षति पुगेको छ । घटनास्थलबाट इन्टेल मोबाइलको ब्याट्री, किप्याड, तार र सुतली भेटिएको छ ।


“११ बजे जडान, १२ बजे विस्फोट”

धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ । बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको बुझाइ छ ।


प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बताए । ‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास्थलबाट त्यसलाई पुष्टि गर्ने चिप्ससहितका सबुत प्रमाण फेला परेका छन्,’ उनले कान्तिपुरसँग भने, ‘कसैले छोएर पड्किएको वा पड्काइएको होइन, राति ११ बजे जडान गरेर १२ बजे पड्किएको देखिन्छ ।’


आततायी घटना : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको बम विस्फोटमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको ज्यानै लिने गरी गराइएको विस्फोटलाई ‘आततायी घटना’ को संज्ञा दिएका छन् ।


गृहमन्त्री थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु ।’

प्रकाशित : मंसिर २९, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?