२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

रातो मत्स्येन्द्रनाथको रथारोहण आज

ललितपुर — अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण बिहीवार साँझ पुल्चोकमा हुँदैछ । रथारोहणको लागि बुधबार मातातीर्थ औँशीको दिन मत्स्येन्द्रनाथका पुजारीहरू ललितपुरको देवीचौरस्थित कटुवाल दहमा मत्स्येन्द्रनाथ देवता ल्याउन रात बस्न गएका थिए । बिहीबार बिहान पूजा गरेर कटुवाल दहबाट देवता ल्याउने चलन छ ।

रातो मत्स्येन्द्रनाथको रथारोहण आज

रथजात्रा गर्न त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिएको छ ।

गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यले रथारोहण सकिएपछि अक्षय तृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने बताए ।

रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ । साथमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाई राजकीय सम्मानका साथ लगिन्छ ।

मूर्तिलाई पुल्चोक लग्नुअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको ऐतिहासिक खड्गलाई भक्तपुर राजदरबारबाट छत्रले ओढाइ ( म्वाली-सहनाई) र नायखी बाजा बजाई मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर कोतः पूजा गर्ने चलन छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जात्रामा शान्ति सुरक्षा कायम गर्न प्रहरी तयारी अवस्थामा रहेकाे बताए ।

प्रकाशित : वैशाख २७, २०८१ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?