पार्किङ न फुटपाथ

माया श्रेष्ठ

अनामनगरदेखि हनुमानस्थान जाने सडक खण्डमा हिँडै थिइन् बच्चा बोकेर गुल्मीकी सुष्मा ढकाल । बबर महलमा काम गर्ने भएकाले दैनिक यही बाटो हिँड्ने गर्छिन उनी । ‘पैदलयात्रु हिँड्ने बाटो भरि पार्किङ गर्छन्’ उनी भन्छिन्, ‘हामी सडकछेउ डराइडराई हिँड्नुपर्छ ।’

फुटफाथमा पार्किङ गरेका सवारीसाधनको बिचबाट बच्चा लिएर हिँडदा धेरै पटक ठोकिएको अनुभवसमेत उनले सुनाइन् । महानगरले यहाँ फुटफाथ र पार्किङ भनेर नछुटाउँदा पैदलयात्रुलाई समस्या भएको उनको भनाइ छ । सिंहदरबार पूर्वी गेटमा फुटफाथ साँघुरो छ भने वारिपट्टि अनामनगरको बाटो भएर हिँड्ने पैदलयात्रु सडकबाट हिँड्न बाध्य छन् ।


त्यही बाटो प्रयोग गरिरहेका भेटिए डिल्लीबजार जाँदै गरेका दोलखाका मिलन परियार । हनुमानस्थान बस्ने उनी भन्छन्, ‘पैदल यात्रु हिँड्ने बाटो पार्किङजस्तो भयो । मूल सडकको बाटो भएर हिँडदा डराउँदै हिँड्नुपर्छ, त्यसमाथि सवारी चालकले नानाथरी गाली गर्छन् ।’ घरधनीले घर अगाडि पिच गरे पनि करिब साढे २ मिटरबिचमा सडकबाट यता बिचमा कतै रूख छन भने कतै कच्ची फुटफाथ छ । अपांगमैत्री फुटफाथ नहुँदा अपांग पैदलयात्रु ओहोदोहोर गर्ने अवस्था छैन ।


पार्किङ क्षेत्रमा झैँ पसलदेखि सडकसम्म गरिएको पार्किङले स्थानीय दरबार आयुर्वेद औषधालयका चन्द्रकिशोर झा आजित परेका छन् । ‘एक लाइन पसल अगाडि पार्किङ गरे हिँड्न मिल्थ्यो,’ झा भन्छन्, ‘फेरि अर्को लाइनमा जता पायो त्यतै कार भ्यान ल्याएर तेर्साउँदा पैदलयात्रुलाई समस्या भयो ।’


मन लाग्दी तरिकाले सवारीसाधन पार्किङ गर्दा ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको स्थानीय होटल व्यवसायी सुवास पौडेल बताउँछन् । ‘पैदल यात्रुलाई सास्ती हुने गरेर पार्किङ गर्दा घरबेटी चुप लाग्छन्,’ उनी भन्छन्, ‘अगाडिको पार्किङले गर्दा होटलमा आउने ग्राहक पनि भडकन्छन् ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलका अनुसार, अनामनगर क्षेत्रमा पैदल यात्रुलाई खासै समस्या छैन । ‘पैदल यात्रीलाई सास्ती दिएर पार्किङ पाइँदैन,’ उनी भन्छन्, ‘पैदल यात्रीलाई समस्या हुने गरी पार्किङ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’


सडकको बाटो भएर समूहमा ४/५ जना हिँडदा सवारी आवागमनमा समेत समस्या हुँने ललितपुर बालकुमारीदेखि चाबहिल, गोपीकृष्ण हलसम्म नेपाल यातयात बस चालक सिहंबहादुर श्रेष्ठले बताए । ‘यस क्षेत्रमा सडकभन्दा फुटफाथ देख्दा ठूलो देखिन्छ,’ उनले भने, ‘सडक छेउ भए बसमा ठोकिएलाझैं गरी पैदलयात्रु हिँड्छन् ।’ सडक मापदण्डअनुसार, व्यस्त ठाउँमा १.५ मिटर फुटपाथ हुनुपर्छ ।


प्रकाशित : असार २०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

हुड्केलीलाई होस्टे हैंसे

सम्पादकीय

स्मृतिबिना न संस्कृति रहन्छ न सभ्यता र अभ्यासबिना स्मृति अडिन्न । सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकप्रिय संस्कृति ‘हुड्केली नृत्य’ अहिले यस्तै अनुशीलनको खोजीमा छ । एउटा भव्य संस्कृतिको पुस्ता हस्तान्तरणमा संकट नपरोस् भनेर केही गैरसरकारी प्रयास हुन थालेका छन् ।

यसको संरक्षण, बजारीकरण र प्रचार–प्रसारमा जुटेको कर्णाली आर्ट सेन्टरको प्रयास प्रशंसनीय छ । यसका अभियन्ता हिरा बिजुलीले संघीय राजधानी काठमाडौंमा बुधबार तीनदिने हुड्केली कार्यशाला सके । कार्यशालाका सहभागीलाई हुड्के बाजा र ‘हुड्केली नृत्य’ सिकाए । यसको परिचय, नृत्य, ताल, कथावाचन शैली, वेशभूषा र महत्त्वबारे जानकारी गराए । आफैंले हुड्केली नृत्यको अगुवाइ गरे ।


संगीत, हुर्को र नृत्यको संयोजनसहित हुने यो नृत्य सुदूरपश्चिम र कर्णालीको मौलिक संस्कृति हो । परम्परागत रूपमा उक्त भेगको मनोरञ्जनको महत्त्वपूर्ण माध्यम । अचेल पहिलेजति व्यापक छैन । डमरुजस्तै बाजा हुड्के बजाउँदै कथा या सन्देश भन्ने यो परम्परा समाजबाट बिस्तारै हराउँदै छ । लोकजीवनको प्रतीकका रूपमा रहेको बाजा गाउँठाउँमै बिरानो बन्दै छ । नयाँ पुस्तामा सीपसहित हस्तान्तरण हुन सकेको छैन ।


नाचकै क्रममा खस भाषामा कथा भन्ने उत्कृष्ट शैली हो– हुड्केली । एकजना मुख्य मान्छेले हुड्के बजाउँदै गीत गाउँछ । उसले टाउकामा सेतो फेटा, रातो ध्वजा अनि झाँक्रीले लगाउने जामाजस्तै सेतो पहिरन लगाएको हुन्छ । कम्मरमा पटुका, छातीमा क्रस माला लगाएर हुड्के बजाउँछ । अरू पाँच–दस जनाले पछाडिबाट उसलाई सहयोग गर्छन्, टुक्काहरू जोडिदिन्छन् । यो नृत्य आक्रामक किसिमको हुन्छ, पूरै हेर्नलायक । दर्शकहरूलाई पट्यार नलाग्ने खालको । हुड्केली नृत्य खुसी र दुःख दुवैमा नाचिन्छ । उहिले यसमा इतिहासको कथा भनिन्थ्यो । राजा–महाराजाहरूको विजय गाथा, हर्षबढाइँका कथा गाइन्थ्यो ।


अचेल प्रेमकथा, कर्णाली पीडा, लोककथा, परिवेश र रहनसहनबारे बताइन्छ । विजयोत्सव, जात्रा, मेला या अन्य रमाइला सांस्कृतिक उत्सवहरूमा यो नृत्य नाचिन्छ । संगीतको ताल खुसीका बेला तीव्र हुन्छ, ध्वनि उमंगमय सुनिन्छ । शोकमा ताल बिस्तारै धिमा भएर जान्छ । उत्सवहरूमा रातभरि हुड्के बजाइन्छ । संस्कृति जोगाउनकै लागि केही समूहले देउसीभैलोमा समेत हुड्के नाच्ने गरेका छन् । पछिल्लो समय चुनावमा पनि हुड्के नाच्न थालिएको छ ।


बाह्य प्रभाव रैथाने संगीत र संस्कृतिमा प्रत्यक्ष पर्ने गरेको छ । विशेष गरी युवा पुस्तामा पुराना सांस्कृतिक पुँजी हस्तान्तरण अहम्पूर्ण चुनौती छ । सूचना प्रविधिको विकासले झन् स्थानीय मौलिकता खियाइदिएको छ । हुड्केलीजस्ता हाम्रा निधिलाई समाज र समयसँग जोड्दै नयाँ पुस्तामा ज्ञान र शिल्प सार्ने कसरी ?


यसको संरक्षण मात्र होइन, प्रवर्द्धन गर्नसके व्यवसायीकरण पनि सम्भव छ । अहिलेसम्म दलित समुदायले मात्र यस संस्कृतिलाई निरन्तरता दिइरहेको छ । त्यसो त उक्त भेगको नृत्य तथा संगीत संस्कृति लगभग दलित समुदायले नै धानेका छन् । राज्यका निकायहरूको ध्यान यसतर्फ पुगेको छैन । सांस्कृतिक प्रवर्द्धनका लागि आवश्यक नीति पहल गर्न सकेको छैन । व्यापारिक स्वार्थले ओतप्रोत नीतिहरूमा मात्र राज्यको चाख बढ्न थालेका बेला हुड्केलीको चर्चा आफैंमा एकान्तको मुरली बाजा हुन सक्छ ।


हामीले झकझक्याउन छाड्नु हुँदैन– स्थानीय सरकारको एउटा दायित्व हो, रैथाने संस्कृतिको जगेर्ना गर्नु । यसका लागि उनीहरूले विद्यालय तहमा यसबारे सिकाउन सक्छन् । संस्कृति संरक्षण र पुस्ता हस्तान्तरण दुवैका लागि यसको खाँचो छ । हाम्रा कक्षाहरूमा संसारका कहाँ–कहाँको पढाइ हुन्छ, आफ्नै गाउँठाउँको संस्कृति किन नसिकाउने ? राज्यले संस्कृति संरक्षणका उपाय अपनाउनुपर्छ– स्थानीयस्तरमा सांस्कृतिक केन्द्र खोलेर, मेलाहरू गरेर, सिकाइ केन्द्रहरू चलाएर ।


प्रकाशित : असार २०, २०७६ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्