उपेन्द्रको पुत्रमोहले पराजय

विनोद भण्डारी

विराटनगर — राजनीतिक नियुक्तिको जागिर खाँदाखाँदै तीन वर्ष पहिले जनता समाजवादी पार्टीको विराटनगर कमिटी अध्यक्ष बनेका थिए, अमरेन्द्र यादव । यो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाए र विराटनगर महानगरपालिकाको उम्मेदवार बने । तर, उनले ठूलो मतान्तरले हार बेहोर्नुपरेको छ । उनको हारलाई धेरैले बाबु एवं जसपा अध्यक्ष उपेन्द्र यादवको खुम्चिँदो राजनीतिका रूपमा अर्थ्याएका छन् ।

उम्मेदवारी दर्ताकै दिनदेखि पार्टीभित्र अमरेन्द्रविरुद्ध मत तयार भएको थियो । तर, अध्यक्षको निर्णयका अघि असन्तुष्टहरू खुलेरै विरोधमा उत्रिन भने सकेनन् । निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै आधा मतले पराजित भएपछि पार्टीकै नेताहरूले यसलाई लज्जास्पद हारका रूपमा बताउन थालेका छन् । प्रतिस्पर्धी एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६ सय ८० मत ल्याउँदा अमरेन्द्रले १४ हजार २ सय १९ मत मात्रै ल्याए । कतिसम्म भने उनले आफ्नै वडा विराटनगर–१४ मा कार्कीभन्दा आधा कम मत पाए । जसपाका केन्द्रीय सदस्य तथा प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवको गृहवडा भए पनि उनको प्रभाव देखिएन ।

स्थानीय नेताहरू जसपाले २०७४ सालमा हात पारेको विराटनगर र मोरङको उपलब्धि गुमाउनुका पछाडि अध्यक्ष उपेन्द्रलाई नै जिम्मेवार ठान्छन् । अघिल्लो निर्वाचनमा जसपाले विराटनगरमा ६ वटा वडामा अध्यक्ष जितेको थियो, यसपाला पार्टी दुई वडामा खुम्चियो । अघिल्लो निर्वाचनमा छिमेकी जहदा गाउँपालिका प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेको पार्टीले यसपाला त्यो सबै गुमाएको छ ।

उपेन्द्रले छोरालाई उपमयेरमा अघि सारेपछि संघीय परिषद् सदस्य उमेशकुमार यादवले पार्टी त्यागेर स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिएका थिए । उनले ८ हजार ७ सय ९५ मत ल्याए । ‘उनले पार्टी छाडेर स्वतन्त्रबाट मेयरमा उम्मेदवार दिनु र उनीसँगै स्थानीय सिनियर कार्यकर्ता उपेन्द्रविरुद्ध परिचालित हुनु नै विराटनगरमा जसपाको संगठन ध्वस्त हुनु हो,’ एक नेताले भने ।

‘परिवारवादको तानाशाही प्रवृत्ति सहन नसकेर पार्टी त्यागेको’ बताउने उमेश अध्यक्षकै कारण पार्टीले नोक्सान बेहोरोको टिप्पणी गर्छन् । ‘उपेन्द्रले छोरालाई मात्र होइन आफ्नो वडामा पार्टीका एक जनालाई समेत सदस्यमा जिताउन नसक्नु नै यसको प्रमाण हो,’ उनले भने । उपेन्द्रलेले मतदान गरेको विराटनगर–१४ मा एमालेको प्यानल विजयी भयो । यादवको घर भने वडा १० मा पर्छ । पार्टीका एक केन्द्रीय सदस्यले अध्यक्षको पुत्रमोहकै कारण पार्टीले जिल्लामा ठूलो क्षति भोग्नुपरेको बताए । उनले भने, ‘पानीमुनि बसेर गोहीको विरोध गर्न सकिँदैन तर उपेन्द्रको पुत्रमोहले विराटनगरको संगठन डुब्यो ।’

प्रकाशित : जेष्ठ १३, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

मधेसकेन्द्रित दल मधेसमै कमजोर

नेताहरू भन्छन्– ‘पार्टी विभाजन र पााचदलीय गठबन्धनले स्थानीय निर्वाचनमा असर गर्‍यो’
मधु शाही

काठमाडौँ — मधेसकेन्द्रित राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमै कमजोर देखिएका छन् । मधेस प्रदेशका १ सय ३६ मध्ये जनता समाजवादी पार्टी (जसपा) ले २५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ पालिकामा मात्र नेतृत्व जितेका छन् । सबैभन्दा बढी पालिका कांग्रेसले ४६ वटा र त्यसपछि एमालेले ३० वटा जितेका छन् ।

मधेस प्रदेशमा माओवादी केन्द्रले ९ र एकीकृत समाजवादीले ६ वटा पालिकामा नेतृत्व लिएका छन् । जसपा र लोसपापछिका मधेसकेन्द्रित दलहरूमध्ये जनमत पार्टीले २ र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले १ पालिकामा नेतृत्व जितेका छन् । विवेकशील साझा पार्टीका उम्मेदवार एउटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । जनकपुर उपमहानगरपालिका र बर्दिबास नगरपालिकामा भने स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई पराजित गरेका छन् ।

मधेसकेन्द्रित दलका नेताहरू पार्टीमा एक वर्षयताको टुटफुटका कारण स्थानीय तहको निर्वाचनमा क्षति बेहोर्नुपरेको बताउँछन् । जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको एक वर्ष पनि भएको छैन । लोसपाबाट अलग्गिएको वृषेशचन्द्र लाल समूहले पुनर्गठन गरेको तमलोपा तीन महिना नपुग्दै चुनावमा होमिएको थियो । सीके राउत समूह भने तीन वर्षअघि सरकारसँग सम्झौता गरेर मूलधारको नेतृत्वमा आएको थियो । राउत नेतृत्वको जनमत पार्टी पनि स्थानीय तहको निर्वाचनमा कमजोर नै देखिएको छ । जनमतले जितेका दुवै पालिकामा यसअघि संघीय समाजवादीको नेतृत्व थियो । मुलुकभरमा जसपाले ३० र लोसपाले १६ पालिकामा मात्र नेतृत्व जितेको छ । तमलोपा र जनमत पार्टीले अन्य प्रदेशका कुनै पालिका जितेका छैनन् ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मनीष सुमन गठबन्धनका कारण जसपालाई घाटा भएको बताउँछन् । ‘मधेसका झन्डै ६० स्थानमा जित्ने अपेक्षा थियो । गठबन्धनका दलसँग सहकार्य गर्दा घाटा भयो, मधेसका राम्रा स्थान गुमायौं,’ उनले भने, ‘एक्लै चुनावमा उठेको भए योभन्दा राम्रो हुन्थ्यो ।’ उनले स्थानीय तहको निर्वाचनको मत परिणामले मधेसमा पार्टी फुटेर होइन, जुटेर आउनुपर्ने सन्देश दिएको पनि बताए । जसपाबाट फुटेर नयाँ पार्टी खोलेका महन्थ ठाकुरलाई लक्ष्य गर्दै उनले भने, ‘लोसपा फुट्नुको कुनै अर्थ देखिएन, बरु जुटेर मधेसको साख जोगाउनुपर्छ ।’

अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दुई वर्षअघि एकीकरण भएर जसपा बनेको थियो । जसपाबाट गत वर्ष बाहिरिएको महन्थ ठाकुर समूहले लोसपा गठन गरेको हो । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ५९ स्थानीय तहका प्रमुख जितेका थिए । जसमा संघीय समाजवादीले जितेका ३४ वटा र राजपाले जितेका २५ वटा पालिका थिए । समाजवादीले ३२ र राजपाले ३० स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष हात पारेका थिए । यस पटक जसपाले ३१ र लोसपाले १२ उपप्रमुख जितेका छन् । नेपाल लोकतान्त्रिक फोरमले ९ वटा स्थानीय तहमा प्रमुख र ८ वटामा उपप्रमुख जितेको थियो । पहिले मधेस प्रदेशमा मात्रै तत्कालीन फोरमका २५ र राजपाका २५ पालिका प्रमुख/अध्यक्ष थिए । गत वर्ष पार्टी विभाजन भएपछि भने ३४ जना जसपामा र १७ जना राजपामा लागेका थिए ।

लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले मधेसकेन्द्रित पार्टीको विभाजन र गठबन्धनका कारण नतिजा प्रभावित भएको बताए । ‘पार्टी फुटको बेफाइदामा लोसपा छ,’ उनले भने, ‘यसलाई स्वीकार गर्नुको विकल्प छैन ।’ जनमत पार्टीका महासचिव चन्दन सिंहले निर्वाचनमा पहिलो पटक सहभागी भएकाले अपेक्षाअनुरूप पालिका जित्न नसकेको बताए । ‘तर, काम गरेर देखाउन यही जित पनि हाम्रा लागि काफी छ,’ उनले भने, ‘उदाहरणीय सेवा दिएर जनताको मन जित्छौं ।’

...

मधेस प्रदेशमा दलहरूको स्थिति

कांग्रेस– ४६

एमाले– ३०

जसपा– २५

लोसपा– १४

माओवादी– ९

एकीकृत समाजवादी– ६

जनमत पार्टी– २

तमलोपा– १

विवेकशील साझा– १

स्वतन्त्र– २

प्रकाशित : जेष्ठ १३, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×