कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमका ७२४ वडाको नतिजा आउँदा ५ जनामात्रै महिला वडाध्यक्ष

६५ वडा रहेको डोटी र ६१ वडा रहेको दार्चुलामा एक जना वडाध्यक्ष पनि दलित समुदायका छैनन् ।
अर्जुन शाह

बाजुरा — ७ सय ३४ वडा रहेको सुदूरपश्चिममा ७ सय २४ वडाको नतिजा आइसकेको छ । बुढीगंगा नगरपालिकाको मतगणना भने अझै अनिश्चित छ । ७ सय २४ मध्ये पाँच जना महिला मात्रै वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिमका ७२४ वडाको नतिजा आउँदा ५ जनामात्रै महिला वडाध्यक्ष

बझाङको खप्तडछान्ना गाउँपालिका २ मा कांग्रेसकी गौरी कुमारी अधिकारी, कैलालीको गोदावरी नगरपालिका ७ मा एमालेकी कलावती साउँद, गौरीगंगा नगरपालिका ८ मा माओवादी केन्द्रकी करुणा चौधरी, जोशीपुर गाउँपालिका ३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा र लम्कीचुहा नगरपालिका ५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएका हुन् ।

यस्तै, यस प्रदेशका ७ सय २४ वडामध्ये दलित समुदायका १४ जनाले मात्रै वडाध्यक्षमा चुनिने मौका पाएका छन् । बाजुराबाट ५, कैलालीबाट ३, बैतडीबाट २ र अछाम, बझाङ, डडेलधुरा र कञ्चनपुरबाट दलित समुदायबाट एक/एक जना मात्र निर्वाचित हुन सकेका छन् । ६५ वडा रहेको डोटी र ६१ वडा रहेको दार्चुलामा एक जना वडाध्यक्ष पनि दलित समुदायबाट निर्वाचित हुन सकेनन् ।

बाजुराका ६९ वडामध्ये ५ जना वडाध्यक्ष भने दलित समुदायका छन् । गौमुल गाउँपालिका ४ मा एमालेका अमर बिक, जगन्नाथ गाउँपालिका ५ एमालेकै गौरी सार्की, जगन्नाथ ६ मा एमालेकै धनबहादुर सार्की, बडिमालिका नगरपालिका ९ मा एमालेकै सूर्यकिरण बिक र स्वामीकार्तिक गाउँपालिका १ मा माओवादी केन्द्रका अजय बिक निर्वाचित भएका हुन् ।

१ सय २६ वडा संख्या रहेको कैलालीमा वडाध्यक्ष पदमा निर्वाचित हुने तीन जनामा टीकापुर नगरपालिका १ मा एमालेका मोहन बिक, टीकापुर ३ मा कांग्रेसका ऋषि बिक र बर्दगोरिया गाउँपालिका २ मा एमालेका गोविन्द बिक निर्वाचित भए ।

८४ वडा संख्या रहेको बैतडीमा डोगडाकेदरा गाउँपालिका २ मा एमालेका कालुराम सार्की र पञ्चेश्वर १ मा माओवादी केन्द्रका दिवान सार्की चुनिए । ९१ वडा रहेको अछाममा कमलबजार नगरपालिका २ मा कांग्रेसका दिर्घ टमटा, ५२ वडा रहेको डडेलधुरामा अमरगढी नगरपालिका ८ मा नेपाली कांग्रेस बीपीका नरबहादुर साँकी र ९२ वडा रहेको कञ्चनपुरमा पुनर्वास नगरपालिका ९ मा माओवादी केन्द्रका नरबहादुर बिकले निर्वाचित हुने अवसर पाए ।

नेपाल राष्ट्रिय समाज कल्याण संघका अध्यक्ष चक्र बिक दलितहरु नेतृत्वमा आउन नसक्नुमा गठबन्धनको संरचना पनि बाधक देखिएको औंल्याउँछन् । ‘दलहरुले समानुपातिक समावेसी मान्यताको पनि उल्लंघन गरेका छन्’ अध्यक्ष बिकले भने ‘दलहरुले दलित समुदायलाई नेतृत्वमा ल्याउने सोचै राखेको देखिएन ।’

प्रकाशित : जेष्ठ १२, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?