१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

पोखरामा मतगणना सुरु गर्न माग गर्दै गठबन्धनको नाराबाजी

दीपक परियार

पोखरा — मंगलबार बिहानदेखि रोकिएको पोखरा महानगरको मतगणना सुरु गर्न माग गर्दै सत्तारुढ पाँच दलनिकट कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि नाराबाजी सुरु गरेका छन् । दिउँसोसम्म मतगणना टुंगिएर विजय र्‍यालीमा सहभागी हुने योजनामा पोखराको सहिदचोकमा ठूलो संख्यामा भेला भएका कार्यकर्ता लामो समय मतगणना स्थगित भएपछि आक्रोशित भएका हुन् ।

पोखरामा मतगणना सुरु गर्न माग गर्दै गठबन्धनको नाराबाजी

एमालेले पोखराका दुई वडामा पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि पाँच घण्टादेखि मतगणना सुरु हुन सकेको छैन । वडा १८ र ३१ मा मुचुल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएकाले ती वडामा पुनः मतगणना गर्नुपर्ने एमालेको माग छ । एमालेले निवेदन दर्ता गराएपछि कांग्रेसले समेत वडा १ र १७ मा पुनः मतगणनाको माग गर्दै निवेदन दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटकपटक एमालेका उम्मेदवार र गणक प्रतिनिधिलाई मतगणनास्थलमा बोलाए पनि उनीहरू गएका छैनन् । पुनः मतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने एमालेले अडान लिएको छ ।

उक्त निवेदनउपर सुनुवाइ नहुँदासम्म बाँकी मतगणनामा सहभागी नहुने एमाले महानगर समिति सचिव जीवन आचार्यले बताए । पोखराका ३३ मध्ये हाल वडा २२, ३२ र ३३ को मतगणना भइरहेको थियो । कार्यालयले एमालेका प्रतिनिधि नआए अरु दललाई राखेर मतगणना सुरु गर्ने तयारी गरेको छ । कार्यालयले केही समयपछि बाँकी वडाका मतगणना सुरु गरिने भएकाले उम्मेदवार र प्रतिनिधिलाई तयारी अवस्थामा बस्न सूचना जारी गरेको छ ।

हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा ३ हजार ८ सय १५ गन्न बाँकी छ । हालसम्म सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर प्रत्याशी धनराज आचार्य एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ५ हजार ४ सय ८५ मतले अघि भएकाले जित सुनिश्चितजस्तै भइसकेको छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतले पछि पारेकी छन् । पोखरा महानगरको सम्पूर्ण परिणाम मंगलबार नै घोषणा गर्ने भनिएकोमा एमालेका मतगणना प्रतिनिधि गणनामा उपस्थित नहुँदा अनिश्चित भएको छ । गठबन्धन आबद्ध दलका कार्यकर्ता भने विजय र्‍यालीको तयारीका साथ पोखराको सहिदचोकमा उपस्थित भइसकेका छन् ।

१८ र ३१ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । वडा १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात ४ हजार ३ सय ३९ मतपत्र भेटिएको थियो । कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका थिए । तिमिल्सिनाले १६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६ सय ४० मत पाएका थिए ।

पोखरा ३१ मा ४ हजार ४ सय ८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो । कांग्रेस उम्मेदवारले १ सय ६१ मतान्तरले एमालेलाई हराएका थिए । कांग्रेसका ढकनाथ कँडेलले १८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १७३७ मत पाए ।

पोखराका ३३ मध्ये हालसम्म कांग्रेसले २२ र एमालेले ८ वटा वडाका अध्यक्ष जितेको छ । गणना रोकिएका २२ मा स्वतन्त्र उम्मेदवार, ३२ र ३३ मा कांग्रेस उम्मेदवारको अग्रता छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?