पोखराका दुई वडामा पुन: मतगणना गर्न एमालेको माग- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखराका दुई वडामा पुन: मतगणना गर्न एमालेको माग

दीपक परियार

पोखरा — पोखराका दुई वडामा मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ ।

पोखरा महानगरका वडा १८ र ३१ को पुन: मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् । दुवै वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

वडा १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात ४ हजार ३ सय ३९ मतपत्र भेटिएको थियो । कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका थिए । तिमिल्सिनाले १६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १६४० मत पाएका थिए ।

पोखरा ३१ मा ४ हजार ४ सय ८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो । कांग्रेस उम्मेदवारले १ सय ६१ मतान्तरले एमालेलाई हराएका थिए । कांग्रेसका ढकनाथ कँडेलले १८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १७३७ मत पाए । मुचुल्कामा भएको भन्दा कम मत भएकैले पुन: मतगणनाका लागि निवेदन दिएको एमाले महानगर समिति अध्यक्ष दिलिप न्यौपानेले बताए ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले यस विषयमा निर्वाचन कानुनअनुसार अघि बढ्ने बताए ।

प्रकाशित : जेष्ठ १०, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

माछा मारेर पढाइ, डुंगा खियाएर नेता

दीपक परियार

पोखरा — दलित महिला वडा सदस्यमा निर्वाचित भएपछि पोखरा महानगर–६ बैदामकी शोभा जलारीको मुहारमा बेग्लै चमक छ । निर्वाचित भएको तेस्रो दिन फेवाताल किनारमा डुंगा चढ्ने पर्यटकको पर्खाइमा बसिरहेकी उनले बाल्यकालदेखि वडा सदस्यसम्मको यात्रा एकै सासमा सम्झिइन् । समाजसेवामा रुचि राख्ने उनले ६ वर्षअघि कांग्रेसको सदस्यता लिएकी थिइन् । गएको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिइन् ।

यसपल्टको चुनावमा उनलाई पार्टीले वडा सदस्यको उम्मेदवार बनायो । वडाध्यक्ष र दुई सदस्य एमालेले जित्दा उनी र महिला सदस्य पवित्रा थापा कांग्रेसबाट चुनिए । फेवातालमा साहुको डुंगा खियाएर गर्जो टारिरहेकी उनी कास्कीमा जलारी समुदायबाट पहिलो वडासदस्य बनेकी हुन् । माछा मारेर जीविका चलाउने पुर्ख्यौंली पेसालाई शोभाले बाल्यकालदेखि अँगालिन् ।

दुई भाइ र एक बहिनीकी उनी जेठी दिदी हुन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । माछा मारेर आएको पैसाले घरपरिवार धान्न, छोराछोरीलाई पढाइलेखाइ गराउन बाबुआमालाई दुःख नै थियो । आफू ६ कक्षा पढ्दादेखि नै बुबाको सहयोगी भएर माछा मार्न हिँडेको उनलाई सम्झना छ । डुंगा खियाउन, जाल थाप्न उनले त्यतिबेलैदेखि सिकिन् ।

बैदामकै तालबाराही माविबाट १२ कक्षा उत्तीर्ण गरिन् । त्यसबेलासम्म उनले साहुको डुंगा खियाइन् । ‘पढाइलेखाइ दुःखमै बित्यो । पढ्नमा संघर्ष गर्‍यौं । बुबाको दुःख सम्झेर मिहिनेत गरेर पढें,’ ३१ वर्षीया उनले सुनाइन् । त्यसपछि भने उनले एक निजी विद्यालयमा पढाउने अवसर पाइन् । डुंगा चलाउने पेसा छाडिन् । विद्यालयमा पढाउँदै व्यवस्थापनमा स्नातक गरिन् । लेकसाइडकै प्याराग्लाइडिङ पाइलट विकास परियारसँग विद्यालयदेखिको प्रेमलाई १० वर्षपछि विवाहमा बदलिन् ।

झन्डै १२ वर्ष विद्यालयमा पढाएपछि कोरोना महामारी सुरु भयो । लकडाउनले उनलाई घरमै थन्क्यायो । उनी फेरि फेवातालमै फर्किइन् । साहुकै डुंगा चलाउन थालिन् । महामारीभर चलायमान नभए पनि अहिले बेमौसमा समेत उल्लेख्य संख्यामा पर्यटक घुम्न आएको उनले पाएकी छन् । डुंगा चलाएबापत उनले प्रतिघण्टाको १४० रुपैयाँ पाउँछिन् । दिनमा ५–६ सय रुपैयाँ कमाइ हुन्छ । उनको कमाइ घर खर्चमा थपथाप हुन्छ । ५५ वर्षीय बुबा र दुई भाइ अहिले पनि फेवातालमा माछा मार्ने र डुंगा चलाउने गरिरहेका छन् । ‘हाम्रो मुख्य पेसा माछा मारेर बिक्री गर्ने नै हो,’ उनले भनिन्, ‘अहिले तालमा माछा मारेर सोचेजस्तो आम्दानी छैन, त्यसैले पनि डुंगा चलाउनुपर्छ ।’

समाज सेवामा आफ्नो सक्रियता देखेर स्थानीय कांग्रेस नेता खिमलाल पहारीले प्रोत्साहन गरेपछि आफू राजनीतिमा सक्रिय भएको उनले बताइन् । चुनाव लड्दा भने जित्ने नजित्नेमा उनलाई द्विविधा थियो । उनलाई परिवारको सहयोग मिल्यो । जिताउन सासू, ससुरा, श्रीमान् सक्रिय भए । सबैको घरघरमा पुगिन् । आफूलाई परिचित गराइन् । सबैसँग घुलमिल भइन् । कसैलाई अप्ठेरो पर्दा सहयोगी बनिन् । ‘सबैको हौसला पाएकी थिएँ । सबैले माया गरेअनुसार जित्छु भन्ने आशा थियो,’ उनले भनिन्, ‘तैपनि चुनावै हो, ढुक्क हुने अवस्था थिएन ।’ चुनावी परिणाम आउने दिन उनी भोट गन्ने स्थान मुख्य निर्वाचन अधिकृतका कार्यालय बाहिर थिइन् । आफूले जितेको खबर पाएपछि खुसीको आँसु चुहाइन् । ‘पिछडिएको समुदायबाट आएकी थिएँ, जनप्रतिनिधि बन्नु मेरा लागि गर्वको कुरा हो,’ उनले भनिन्, ‘काँधमा जिम्मेवारी थपिएको महसुस भयो ।’

सार्वजनिक स्थलमा जातीय विभेदका घटनासँग उनी साक्षात्कार भएकी छैनन् । गैरदलितको घरमै प्रवेश गर्न भने उनी अझै समस्या देख्छिन् । उनले पहिलोपल्ट १० कक्षा पढ्दा दलित हुँदाको पीडा महसुस गरेकी थिइन् । गैरदलित साथीको बिहेको अघिल्लो दिन उनी ४–५ जना अरू साथीसँग बिहेघरमा गइन् । साथीले चलाएको देखेर उनले पनि पकाइरहेको तरकारी चलाइदिइन् । बिहे घरकाले उनलाई हेलाहोचो गरे । उनको मन भरिएर आयो । रुँदै घर फर्किइन् । त्यसयता भने उनले त्यतिसाह्रो विभेद भोग्नु नपरेको सुनाइन् । ‘लेकसाइड शिक्षित ठाउँ हो, विदेशी रहनसहनले पनि छोएको छ,’ उनले भनिन्, ‘राजनीतिमा प्रवेश गरेपछि मैले विभेद भोग्नुपरेको छैन । घरभित्रै पस्नु अझै पनि चुनौतीको कुरा छ ।’

लेकसाइडमा पुस्तौंदेखि बसेका १२ घर जलारी छन् । फेवातालको सिरानपट्टि वडा नम्बर १८ मा भने जलारी समुदायको बाक्लो बस्ती छ । आफ्नो वडामा रहेका दलित समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीमा मुख्य समस्या उनी देख्छिन् । आर्थिक अवस्था कमजोर रहेका समुदायका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने उनको योजना छ । ‘रोजगारी भयो भने आम्दानी हुन्छ । आम्दानी भयो भने दलितका बालबालिकाको पढाइको स्तरलाई उकास्न सकिन्छ,’ उनी भन्छिन्, ‘राम्रो शिक्षा पाउँदा स्वास्थ्य पनि राम्रो हुन्छ ।’ महिला हिंसा र भूमिहीनको समस्यामा पनि आफ्नो स्थानबाट आवाज उठाउने उनी बताउँछिन् । पुर्ख्यौली पेसा भएकाले पनि उनलाई डुंगा चलाउन कुनै अप्ठेरो लाग्दैन । जनप्रतिनिधि भइसकेपछि पनि निरन्तर डुंगा चलाउने उनी बताउँछिन् । भन्छिन्, ‘धेरै समय वडाको कामलाई प्राथमिकता दिन्छु तर पेसा नै यही भएपछि डुंगा चलाउन छाड्दिनँ ।’

प्रकाशित : जेष्ठ ९, २०७९ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×