कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीमा एमाले पहिलो दल

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीका ६ स्थानीय तहमा प्रमुख/उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १२ पदमध्ये ८ पदमा विजयी भएपछि एमाले अर्घाखाँचीमा पहिलो दल बनेको छ । कांग्रेससहितको ५ दलीय गठबन्धन चार पदमा मात्रै विजयी भयो । 

अर्घाखाँचीमा एमाले पहिलो दल

२०७४ को स्थानीय तहमा ६ स्थानीय तहमध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । मालारानी गाउँपालिकाका दुवै पद र पाणिनिको उपाध्यक्ष पदमा मात्रै एमाले विजयी भएको थियो । उतिबेला ६ पालिकाको १२ मध्ये ३ पद मात्रै जितेको एमालेले अहिले गठबन्धनलाई पराजित गर्दै ८ पदमा विजयी भएको छ । कांग्रेस दुई, माओवादी र राष्ट्रिय जनमोर्चा(राजमो) एक–एक पदमा मात्रै विजयी भए ।

गठबन्धनबाट कांग्रेसले शितगंगा नगरपालिका प्रमुखमा छविलाल पौडेल र छत्रदेव गाउँपालिका अध्यक्षमा चन्द्रमान श्रेष्ठले मात्रै चुनाव जिते । भूमिकास्थान नगरपालिका प्रमुखमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका झविलाल थापा र उपप्रमुखमा माओवादी केन्द्रका बालकृष्ण बञ्जाडे निर्वाचित भए ।

अघिल्लो चुनावमा छत्रदेव र पाणिनि गाउँपालिकामा कांग्रेस एक्लै लडेको थियो । त्यतिबेला कांग्रेसका लेखनाथ पोखरेलले ११ सय २ मतान्तरले जितेका थिए । अहिले गठबन्धनबाट पनि श्रेष्ठले १ सय ८२ मतान्तरमा मात्रै चुनाव जिते । उपाध्यक्ष पद एमालेकी मनी पन्थी भारी मतले विजयी भइन् ।

पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल निर्वाचित भएपछि कांग्रेसको गढ भत्किएको छ । यहाँ एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम केही महिनाअघि कांग्रेसमा प्रवेश गरेकी थिइन् । कांग्रेस केन्द्रीय महामन्त्री गगन थापा हेलिकप्टरमा आएर गौतमलाई प्रवेश गराएका थिए । उपाध्यक्षसहित कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दा थप बलियो भएको भनिएको थियो । दोस्रो कार्यकालका लागि अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतमलाई कांग्रेसले पुन: उम्मेदवार बनाएको थियो ।

सन्धिखर्क नगरपालिकामा दोस्रो पटक चुनाव लडेर एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख पदमा विजयी भए । उपप्रमुखमा एमालेकी मिश्रा आचार्य विजयी भएपछि गठबन्धनले विरासत रोक्न सकेन । श्रेष्ठ अघिल्लो चुनावमा कांग्रेसका कमलप्रसाद भुसालसँग पराजित भएका थिए ।

एमालेबाट मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भटराई, उपाध्यक्ष दीपा पोखरेल निर्वाचित भए । शितगंगा नगरपालिका उपप्रमुखमा एमालेकी गीता भाट निर्वाचित भइन् । भाट अघिल्लो चुनावमा ९६ मतान्तरले माओवादीका टीका रेश्मीसँग पराजित भएकी थिइन् । अहिले गठबन्धनका उम्मेदवार उनै रेश्मीलाई २२ सय ३१ मतान्तरले पराजित गरेर उपप्रमुख पदमा निर्वाचित भइन् ।

शितगंगा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यप्रसाद अधिकारीले १६ सय मतान्तरले एमाले उम्मेदवार वसन्त श्रेष्ठलाई पराजित गरेका थिए । अहिले उनै श्रेष्ठलाई कांग्रेसका छविलाल पौडेलले १ सय ८६ मतान्तरले मात्रै पराजित गरे ।

अर्घाखाँचीमा कांग्रेस, माओवादी, राजमो, समाजवादी र जसपा ५ दलीय गठबन्धन पूर्ण रुपमा सफल हुन सकेको छैन । पाणिनि गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लड्का कांग्रेस जिल्ला सचिव अच्युत गौतमले आफू पराजित भएपछि पाटीभित्रैबाट अन्तरघात भएको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

आफू जिल्ला सभापति हुँदा ५ स्थानीय तहमा कांग्रेस उम्मेदवारलाई जिताएका विष्णुप्रसाद खनालले यसपटक कांग्रेस उम्मेदवारको लज्जास्पद हार भएकाले कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री पदमबाट मतगणना जारी रहँदाकै बेला राजीनामा दिएका थिए । उनले पाटीभित्रबाट अन्तरघात गरी कांग्रेस उम्मेदवारलाई हराउने काम भएको टिप्पणी गरे । गठबन्धन दल सबै पालिकामा जितमा ढुक्क थिए । गठबन्धन नराम्रोसँग एमालेसित पराजित भएको छ ।

एमाले स्थानीय तह चुनावको मिति घोषणाको वर्ष दिनअघि नै आक्रामक ढंगले संगठन निर्मान, पाटी प्रवेश र एमालेप्रति आकर्षित गरेको थियो । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी एक वर्ष देखि नै गाउँमा घरदैलो गरेका थिए । केन्द्रीय सदस्यद्वय चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, नेता रामजी घिमिरेलगायतका जिल्ला स्तरीय नेताहरुलाई लिएर रायमाझी गाउँ डुलेका थिए ।

यसरी स्थानीय तह जित्नुमा एमालेको बलियो संगठन, सरकारमा हुँदा एमालेले गरेका राम्रा कामको प्रचार, टोल वस्तीमा पुगेर जनताका गुनासा सुन्दै संगठन निर्माण, ६० प्रतिशत जति माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेकाले स्थानीय तह धेरै जित्न सफल भएको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए ।

जिल्लाका ६१ वडामध्ये ३० वडाध्यक्ष एमालेका, कांग्रेसका २४, माओवादीका ४ र राष्ट्रिय जनमोर्चाका ३ वडाध्यक्ष निर्वाचित भएका छन् । कार्यपालिका गठनमा बहुमत चाहिन्छ । गठबन्धनको सन्धिखर्क र पाणिनि गाउँपालिकामा मात्रै बहुमत छ ।

२०७४ को चुनावमा वडामा एक्लै लड्दा कांग्रेसले २६ वडाध्यक्ष जितेको थियो । गठबन्धन हुँदा २४ मा झर्‍यो । त्यतिबेला एमालेले २५ वडाध्यक्ष जितेको थियो, अहिले ३० पुर्‍याएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?