उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–१२ को मतदान विवादसम्बन्धी मुद्दा लम्बिने भएको छ । प्रदेश एककी सांसद सुनिता चौधरीसहितका स्थानीयले पुन: मतदान गरिपाउँ भनी दायर गरेको रिटमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको हो ।
त्रियुगा नगरपालिका १२ का १० स्थानीयले दायर रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाको इजलासले अन्तरिम आदेश दिने–नदिने विषयमा छलफलमा झिकाउने आदेश गरेको हो । जेठ ६ गते दायर रिटमा आफनो मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित भएकाले पुन: मतदान गराईपाउँ भनी माग गरिएको छ ।
उच्च अदालतबाट अन्तरिम आदेश नभएकाले त्रियुगा नगरपालिका १२ को मतदान विवाद अब अझ लम्बिने भएको छ । निर्वाचन आयोगले निणर्य गर्न नसक्दा १० दिनदेखि मतगणना हुन सकेको छैन ।
प्रकाशित : जेष्ठ ९, २०७९ १५:३४