कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै नगरपालिकाका जनप्रतिनिधिको शपथ ग्रहण नै अलग-अलग स्थानमा

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा शपथ ग्रहणको दिनदेखि स्थानीय तहमा दलहरूबीच विवाद सुरु भएको छ । काभ्रेको बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण अलग-अलग स्थानमा गरिएको छ ।

एउटै नगरपालिकाका जनप्रतिनिधिको शपथ ग्रहण नै अलग-अलग स्थानमा

गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बनेपा पार्टी भेन्यूमा र एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले नगरपालिका हलमा आयोजित समारोहमा शपथ लिएका हुन् । नगरपालिका हलमा आयोजित कार्यक्रममा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि सहभागी थिए ।

नगरपालिकाको ‘ठूलो दल’ एमालेसँग सल्लाह नगरिकन कार्यक्रम गरिएकाले आफूहरूले पहिलो कार्यक्रम बहिस्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले बताइन् । ‘हामी बनेपाको ठूलो दल हो । हामीसँग सल्लाह नगरिकन एक्कासी कार्यक्रमको खबर आएपछि सहभागी नभएका हौं,’ उनले भनिन्, ‘निर्वाचित भएपछि संविधानतः प्रमुखबाट शपथ लिने कुरा हो; पछि त्यो हामीले लियौं । एकलौटी गर्न खोजेकाले पहिलो कार्यक्रम बहिस्कार गरेका हौं, अन्यथा होइन ।’ १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाध्यक्षसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

नगर प्रमुख शान्तिरत्न शाक्यले अघिल्लो कार्यक्रममा सहभागी नभएकाहरूका लागि दोस्रो कार्यक्रम गरिएको बताए । ‘छुटेका साथीहरूलाई भनेर अर्को कार्यक्रम गरेका हौं, शपथ ग्रहण त गराउनुपर्‍यो नि !’ शाक्यले भने । दोस्रो पटक आयोजित कार्यक्रमममा दलका नगरस्तरीय नेता, निवर्तमान पदाधिकारीहरूसमेत सहभागी थिए । प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले पहिला ‘सानो समस्या’ आए पनि पछि समाधान भएको बताए ।

सो क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वसञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकूलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनुपर्ने अडानमा थिए । नगरपालिकाले संविधान सभा सदस्य रहेका पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेको थियो । कार्यक्रममा संस्थापक नगरप्रमुख सुरेन्द्रबहादुर बादे श्रेष्ठ, निवर्तमान नगर प्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठ, निर्वाचन अधिकृत शारदा भण्डारीलगायत सहभागी थिए ।

प्रकाशित : जेष्ठ ८, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?