कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतपरिणाम गलत सुनाएपछि रौतहटको गुजरामा मतगणना रोकियो

शिव पुरी

रौतहट — मतपरिणाम नै गलत सुनाएपछि रौतहटको गुजरा नगरपालिकाको मतगणना शनिबार दिउँसोबाट रोकिएको छ । अन्तिम चरणमा पुगेको मतगणना निर्वाचन अधिकृतको लापरबाहीले रोकिएको हो ।

मतपरिणाम गलत सुनाएपछि रौतहटको गुजरामा मतगणना रोकियो

अहिले मतगणनास्थलबाहिर उम्मेदवार रसमर्थक नाराबाजीसहित धर्नामा बसेका छन् । उनीहरुले सुरुदेखि मत गन्नु पर्ने माग अघि सारेका छन् ।

मतगणनामा खटिएका इलाका प्रशासन गरुडाका कर्मचारी उपेन्द्र साहले जसपाका नगरप्रमुखका उम्मेदबार शन्तलाल चौधरीको छाता छाप र वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार शेख जमालुद्धीनले पाएको मत परिणाम गलत सुनाएपछि विवाद बढेको हो । मतगणनामा बसेका दलका प्रतिनिधिले राखेको तथ्यांक र सार्वजनिक गरिएको मत फरक भएपछि विवाद उत्पन्न भएको हो ।

निर्वाचन अधिकृत बद्रीनारायण शर्माले आफू खाना खान गएको बेला कर्मचारीले मतपरिणाम सुनाएको र त्यसमा त्रुटि भएको बताए । ‘हामीले मत गन्दाको अंक र सुनाइएको अंकमा कसरी फरक पर्न गयो भन्ने हेर्दैछौं,’ उनले भने,‘खाना खान गाएको बेला यता गडबड भएछ ।’

निर्वाचन अधिकृतले मतपरिणाम हेरेर मात्र सार्वजनिक गर्न निर्देशन दिनु पर्छ । कर्मचारीलाई मतपरिणाम जाँचेर निर्वाचन अधिकृतले हस्ताक्षर गरेपछि मात्र सुनाउनुपर्छ । निर्वाचन अधिकृतको लापरबाही देखिएको एमालेका नगरप्रमुखका उम्मेदवार शेख एकरामुलले बताए ।

‘हामीलाई अब शंका लाग्न थाल्यो,उनले भने,‘अंक बढाउने र घटाउने काम कर्मचारीबाट हुन थाल्यो । अघिका गणना भएको मत निष्पक्ष भन्नेमा शंका छ । अब निष्पक्ष मतगणना हुन्छ भनेर कसरी विश्वास गर्ने ।’ अहिले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीले सुरुदेखि मत गन्नु पर्ने माग अघि सारेर आन्दोलन थालेका छन् । उनीहरूले निर्वाचन अधिकृत शर्मालाई हटाउन माग गरेका छन् । ५ र ६ नम्बर वडाको मत अझै गन्न बाँकी छ ।

जिल्ला प्रशासन कार्यालय गौरका नायब सुब्बा अधिकृत रामनरेश साहले कर्मचारीबाट तथ्यांक राख्ने क्रममा त्रुटि भएको स्विकारे । ‘मतपरिणाम सार्वजनिक गर्नु अगावै क्रस चेक गरेर मात्रै सुनाउनुपर्थ्यो,’ उनले भने, ‘कर्मचारी साथीहरू जे मन लाग्यो त्यही गरेर विवादमा पर्न थाले ।’ मतगणनामा त्रुटि हुन थालेको र पटक–पटक मतपरिणामको अंक फरक पार्न थालेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले साहलाई निगरानीका लागि पठाएका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?