हेटौंडाको मेयरमा नेकपा एसकी लामा र उपमेयरमा कांग्रेसका बानियाको जित सुनिश्चित
मकवानपुर — वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाले महिला मेयर पाउने निश्चित भएको छ । हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामाको जित सुनिश्चित भएको छ ।
उनी २१ हजार ८सय २ मतसहित अग्रस्थानमा रहेकी छिन् । उनलाई पछ्याएका एमालेका अनन्तप्रसाद पौडेलको १९ हजार ७ सय १ मत रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडामा अब वडा नम्बर ४ को करिब ४ सय मत गन्न बाँकी रहेको छ । जुन लामा र पौडेलबीचको मतान्तरभन्दा निकै कम हो । अहिले दुई उम्मेदवारबीच २ हजार १ सय १ मतको अन्तर रहेको छ । पौडेलले लामालाई गणनास्थलमै खादा ओढाएर बधाईसमेत दिइसकेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाको जित सुनिश्चित भएको छ । उनले अहिलेसम्म २६ हजार ४ सय ४६ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी सुमित्रा काफ्लेले १९ हजार १ सय २ मत मात्र ल्याएकी छिन् । हेटौंडामा एकीकृत समाजवादीले मेयरमा र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएको हो ।
प्रकाशित : जेष्ठ ६, २०७९ १९:४६