कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको रम्भामा अझै सुरु भएन मतगणना

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिकामा वैशाख ३१ गते अपराह्नदेखि स्थगित मतगणना शुक्रबार मध्याह्नसम्म सुरु हुन सकेको छैन । बिहान ७ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि अझै सुरु भएको छैन ।

पाल्पाको रम्भामा अझै सुरु भएन मतगणना

सर्वदलीय बैठक बसेर गणना भएको रम्भा-५, ताँहुको मतपत्र, सीसीटीभी फुटेज, मतपत्रका अर्धकट्टी छानबिनलगायत काममा भएको ढिलाइले गर्दा मतगणनाकार्य अझै सुरु हुन नसकेको हो ।

रम्भामा खटिएका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बिहीबार बेलुकीदेखि नै मोबाइल फोन उठाएका छैनन् । राजनीतिक दलहरूले दिएको जानकारीअनुसार छानबिनको क्रम अझै जारी छ । ‘अनुसन्धानको काम भइरहेकाले मतगणना अझै सुरु हुन सकेको छैन,’ एमालेका रम्भा गाउँपालिका सचिव विजय रानाभाटले भने, ‘पहिला छानबिनको काम सकिएपछि बल्ल निर्णय हुन्छ ।’

निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर मतगणना सुरु गर्न निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । कांग्रेसका जिल्ला सहसचिव तथा रम्भा गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार विष्णुकुमार थापाले गहिरोगरी अनुसन्धान गरेर खसेको मत १ हजार ९ सय २२ को हिसाब किताब मिले मात्र मतगणना अघि बढ्ने बताए ।

उनले सबै प्रक्रिया रुजु गरेर मात्र मतगणना अघि बढाउने भन्ने सहमति भभ्एको बताए । मतगणना गर्दा ७४ मत बढी देखिएपछि स्थगित भएको हो ।

सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका साथै मंगोल अर्गनाइजेसन नेपालले संयुक्त विज्ञप्ति जारी गरी रम्भा-५, ताँहुको सार्वजनिक नतिजाप्रति असहमति जनाएका थिए । एमालेले भने मतगणना सुचारु गर्न माग गरेको थियो । उनीहरुले हिसाबकिताब सही नदेखिएको भनी पुनः मतदानको माग गरेका छन् ।

मतगणनास्थलनजिक गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि निष्कर्ष भने निस्किएको थिएन । आयोगले नै सुरक्षा व्यवस्था मजबुत बनाएर भए पनि मतगणना गर्न जेठ ४ गते नै निर्देशन दिएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?