जो प्रधानपञ्चदेखि मेयरसम्म बने

आश गुरुङ

लमजुङ — पहिलो पटक जनप्रतिनिधि हुँदा बेंसीसहरका गुमानसिंह अर्याल ३० वर्षका थिए । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेका उनी २०४३ सालमा बेंसीसहर गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यतिबेलाका चर्चित व्यक्तित्वहरू रणबहादुर अधिकारी, गणेशबहादुर रावल, बमबहादुर अर्याल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायत ७ उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च बनेका थिए । उनीसँगै जिल्लाभर ४ जना जनपक्षीय उम्मेदवारले चुनाव जितेका थिए । 

जो प्रधानपञ्चदेखि मेयरसम्म बने

०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनायो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनाव लडेका बालकृष्ण बराल पराजित भए । भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए । ०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई फेरि बेंसीसहर गाविसको अध्यक्षमा उठायो । मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । कांग्रेस उम्मेदवार बेंसीसहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल गाविस अध्यक्षमा निर्वाचित भए । थापाले पनि जिते ।

०७४ को निर्वाचनमा पनि अर्याल कांग्रेसका भेषबहादुर पौडेललाई हराउँदै नगर प्रमुख बने । त्यतिबेला एमाले–माओवादी केन्द्र चुनावी एकताबाट बेंसीसहर नगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि एमालेका उम्मेदवार अर्याल गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराए । कानुन व्यवसायमा ०३७ सालदेखि लागेका अर्याल वरिष्ठ अधिवक्ता हुन् । बार इकाईमा उनी अध्यक्ष पनि भए । एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहेका अर्यालले जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्ष र पटकपटक कमिटीमा बसेर काम गरेका छन् ।

०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् । झन्डै ४ दशक जनप्रतिनिधि भएर काम गरेका ६५ वर्षीय अर्यालले नगरपालिकालाई समानुपातिक ढंगले विकसित बनाउने बताए । ‘म अख्तियारको दुरुपयोग गर्दिनँ र गर्न पनि दिन्नँ । आर्थिक अपचलन पनि गर्दिनँ र गर्न पनि दिन्नँ । सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढ्छु,’ उनले भने । उनले जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको दाबी गरे ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?