कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ नेपाली कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् । 

रामेछापको मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गरी नगर प्रमुख पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका कार्कीले ९ हजार १ सय २२ मत पाएका थिए । कार्की यस अघिल्लो निर्वाचनमा पनि मन्थली नगरपालिकामा एमालेकै उम्मेदवारसँग पराजित भएका थिए । नगर प्रमुख पदमा निर्वाचित श्रेष्ठ एमालेका प्रदेश समिति सदस्य हुन् । विद्यार्थी संगठनदेखि राजनीतिमा सक्रिय श्रेष्ठले राजनीतिसँगै सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।

उपप्रमुखमा एमालेकै ईश्वरी बस्नेत निर्वाचित भएकी छन् । बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गरेकी थिइन् । बस्नेत शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् । पराजित भएकी श्रेष्ठ भने यसअघि मन्थली नगरपालिकाको कार्यपालिका सदस्य थिइन् ।

जिल्ला सदरमुकाम रहेको मन्थलीमा एमालेले प्रमुख उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले १ वडामा विजय हासिल गरेका छन् । मन्थली नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?