व्यासको रिस्तीमा मतदान सकियो, ९९५ मत खस्यो
तनहुँ — तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा बुधबार पुन: मतदान सकिएको छ । रिस्ती गाविस भवन फेदी (क) र (ख) मा भएको मतदान केन्द्रमा ९९५ मत खसेको मतदान अधिकृत नारायणप्रसाद ढकालले जानकारी गराएका छन् ।
रिस्तीको (क) र (ख) मतदान केन्द्रमा १ हजार ५७६ मतदाता छन् । गत वैशाख ३० गते भएको निर्वाचनका दुवै केन्द्रमा ९२२ मत खसेको थियो ।
स्थानीय निर्वाचनअन्तर्गत वैशाख ३० गते आयोजित मतदान कार्य निर्वाचन आयोगले रद्द गरी पुन: मतदान गरिएको हो । उक्त दिन दिउँसो व्यासका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो ।
प्रकाशित : जेष्ठ ४, २०७९ १८:२५प्रतिक्रिया