बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित 

वसन्तप्रताप सिंह

बझाङ — बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चेतराज बजाल र उपमेयरमा नेकपा (माओवादी केन्द्र)का रतनबहादुर सिंह निर्वाचित भएका छन्।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित बजालले ४ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाएका थिए । मेयरमा विजयी उम्मेदवारले प्रतिस्पर्धीलाई १ हजार ७ सय ४१ को मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो नगरपालिकामा ७४ मतान्तरले एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै, उपमेयर पदमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का सिंहले ४ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार जमुना चन्दले ३ हजार ३ सय ९१ मत पाइन् । जयपृथ्वी नगरपालिकाका ११ वडामध्ये तीन वडामा एमालेका अध्यक्ष निर्वाचित भएका छन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले दुई-दुई वडाका अध्यक्ष जितेका छन् । यो नगरपालिकाका २ वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

बझाङको तलकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

वसन्तप्रताप सिंह

काठमाडौँ — बझाङको तलकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । साथै ७ मध्ये ६ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एउटा वडामा मात्रै कांग्रेस उम्मेदवारले जितेका छन्।

गाउँपालिका अध्यक्षमा एमालेका कलकबहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अध्यक्ष रोकायाले २ हजार ७ सय ५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायणकुमार धामीले २ हजार २ सय २९ मत ल्याए । अध्यक्षका अर्का प्रत्यासी राप्रपाका ललितप्रसाद जोशीले ३५ मत मात्र पाए ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६ सय २१ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी जयकुमारी ऐडीले २ हजार ३ सय ९२ मत प्राप्त गरेकी छिन् । उपाध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् । वडा नम्बर १ मा एमालेका रामचन्द्र रावल, २ र ३ मा एमालेकै जनक बोहरा, रुपेश रोकाया विजयी भएका छन् भने ४ मा कांग्रेसका गोरखबहादुर जेठाराले जितेका छन् । यस्तै वडा नम्बर ५ मा दिपेन्द्र मल्ल, ६ मा बिर्जन जेठारा र ७ मा लक्ष्मण बिष्टले जित हात पारेका छन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×