अछामको तुर्माखाँदमा एमाले विजयी

मेनुका ढुंगाना

अछाम — अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार एमालेका डम्बर बीसी ३ हजार ५ सय २३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४ सय ९३ मत ल्याए । जुन बीसीभन्दा ३० मत मात्र कम हो । माओवादी केन्द्रका मनबहादुर बयकले ३०९१ मत ल्याए । उपाध्यक्षमा पनि एमालेले जितेको छ । एमालेकी विमला शाहीले ३ हजार ५ सय १ मत ल्याएर विजयी भइन् । प्रतिस्पर्धी कांग्रेसकी अनुजा सिंजापती विष्टले ३ हजार ४ सय ५२ मत ल्याइन् । माओवादी केन्द्रकी पवित्रा उपाध्यायले ३ हजार १ सय ५५ मत ल्याइन् ।

गाउँपालिकाका बहुमत वडामा भने कांग्रेस विजयी भएको छ । आठ वडा रहेको तुर्माखाँदमा रहफ, भुलू, नाडा, रानीवन र तोसीमा कांग्रेसले जित्यो । एमाले भैरवस्थान र धमालीमा विजयी बन्दा माओवादी केन्द्रले भने वडा नम्बर ४ मा मात्र जित्न सक्यो । तुर्माखाँदमा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

अछामको चौरपाटीमा कांग्रेसका साउद विजयी

मेनुका ढुंगाना

अछाम — चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् । उनी २०७४ को निर्वाचनमा १ मतले पराजित भएका थिए । यसपटक भने उनले १ हजार ४८६ मतान्तरले जितेका छ्न्। उनले ३ हजार ९८२ मत  प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत पाए ।

निवर्तमान अध्यक्ष समाजवादीका हर्क साउदले एक हजार ४७४ पाए । उनी ०७४ सालको निर्वाचनमा १ मतले विजयी भएका थिए।

अहिलेका निर्वाचित अध्यक्ष भीम साउदले एक मतले हारेका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसकी सरदेवी खड्का विजयी भइन् । खड्काले ३ हजार ७३४ मत पाइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिता खड्काले २ हजार ४९१ प्राप्त गरिन् ।

७ वडा रहेको चौरपाटीमा ४ वडामा कांग्रेस र २ वडामा नेकपा एमालेले जितेका छन्।

वडा नं १ मा कांग्रेसका बिरबहादुर थापा, वडा नं २ मा काग्रेसका रणबहादुर साउद, वडा नं ३ मा एमालेका बिरेन्द्रबहादुर साउद, वडा नं ४ मा कांग्रेसका लालबहादुर धामी, वडा नं ५ मा कांग्रेसका हिमकर्ण खड्का, वडा नं ६ मा एमालेका डबलबहादुर खड्का र वडा नं ७ मा एमालेका ललित बोगटीले जितेका छन्।

प्रकाशित : जेष्ठ २, २०७९ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×