बैतडीको डिलासैनी गाउँपालिकामा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्रका जोशी विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीको डिलासैनी गाउँपालिकामा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्रका जोशी विजयी

तृप्ति शाही

बैतडी — बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तासाझेदार दलबाट गठबन्धनका उम्मेदवार बनेका माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत प्राप्त गरे । 

डिलासैनीमा एमाले तेस्रो स्थानमा आएको छ । जोशी एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर पुतली चिन्हमा चुनाव लडेका थिए । यस्तै उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाएकी छिन् ।

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामीले जित हासिल गरेका छन् । वडा नम्बर २ मा एमालेका उम्मेदवार नवराज घरडी निर्वाचित भए । यस्तै वडा नम्बर ३ एमालेका रघुवीर बोहराले जिते भने वडा नम्बर ४ मा स्वतन्त्रबाट हरिश पन्त निर्वाचित भए । वडा नम्बर ५ को अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् । वडा नम्बर ६ मा नेपाली कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भए भने वडा नम्बर ७ मा स्वतन्त्रबाट प्रकाश भट्ट निर्वाचित भए ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्

कडा कि नरम शक्ति ?

कडा शक्तिले भत्काउँछ, थिच्छ–मिच्छ–हेप्छ र कमजोर–सानो राष्ट्रलाई निचोरेरै छोड्छ । नरम शक्तिले बनाउँछ, सपार्छ, मनै पग्लाइदिन्छ भन्दै आजको कूटनीतिमा नरम शक्ति व्यापक रूपमा प्रयोग हुन थालेको छ ।
महेन्द्र पी‍. लामा

अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै देशले एटम बम चलाएर आफ्नो प्रभुत्व कायम राख्यो । अर्कातिर, धेरै राष्ट्रले आआफ्ना खानपान, संगीत, साहित्य, टेक्नोलजी आदि चलाएर अन्य राष्ट्रसितको सम्बन्धमा न्यानोपन एवं सग्लो उपलब्धि हासिल गरे ।

अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिको अहम् भूमिका हुन्छ नै । यद्यपि, कूटनीतिभित्र के हुँदो रहेछ, यसलाई के कुराले डोर्‍याउँदो रहेछ र यसबाट केकति फलिफाप हुँदो रहेछ भन्ने विषयमा ठेलीका ठेली पुस्तकहरू मात्रै नलेखिएर, विभिन्न राष्ट्रमा विदेश मन्त्रालयहरू मूल खाँबो नै भएर बसेका छन् । अर्कातिर, विदेशसितको सम्बन्धलाई अझै केलाउन र छर्लंग बुझाउन विभिन्न थ्यौरी अघि ल्याइएका छन् । धेरै विचारविमर्श भइसक्यो रियालिस्ट, लिबरल, मार्क्सिर्स्ट, कन्स्ट्रक्टिभिस्ट आदि थ्यौरीहरूमाथि, तर कुनै पनि थ्यौरीले अन्तर्राष्ट्रिय सम्बन्धलाई अझैसम्म पनि ठीक प्रकारले, पूर्ण रूपले र पुग्ने गरी बुझाउनै सकेन । जस्तै : भारत–नेपाल सम्बन्धलाई कुनै एउटा थ्यौरीले बुझाउनै सक्तैन । रियालिस्ट थ्यौरीको मूलमन्त्र अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोग हुन्छ किनकि विश्व नै अस्थिरता र उतार–चढावको भुंग्रोमा रहिरहन्छ । यो थ्यौरी सुरु नै नभई टुंगिन्छ, भारत–नेपाल सम्बन्धमा । यसरी नै लिबरल थ्यौरीले सबै सम्बन्ध बजार व्यवस्थाले नै तोक्छ र दिशा निर्देश गर्छ भन्छ । यस्तो थ्यौरी भारत–नेपाल सम्बन्धमा टिक्नै सक्तैन किनकि बजारदेखि पर संस्कृति, प्राकृतिक, संसाधन, खुला सिमाना, इतिहास आदिले जहिल्यै महत्त्वपूर्ण भूमिका निभाएकै हुन्छन् । अर्को थ्यौरी मार्क्सवादी विचारधारा लछ्रप्पै पढाइन्छ अन्तर्राष्ट्रिय सम्बन्धमा । यस अन्तर्गत श्रेणीगत संघर्ष र सम्बन्धित वर्गले अघि ल्याएको नयाँ सोच यति शक्तिशाली हुन्छ कि त्यहाँ अन्तमा गएर राज्य नै विलीन हुन जान्छ र सम्बन्धको रूपरेखा र ढाँचामै व्यापक हेरफेर आउँछ । राज्यहरू नै प्रथम पंक्तिमा हावी रहेको नेपाल–भारत सम्बन्धमा मार्क्सवादी थ्यौरीले कसैलाई आकर्षण नै गर्दैन । फेरि अर्कातिर, कन्स्ट्रक्टिभिस्ट थ्यौरीका प्रवर्तकहरू भन्छन्— चिनारी (आइडेन्टिटी) र चाहना (इन्ट्रेस्ट) ले नै दुई देशको सम्बन्धलाई तय गर्छन् । यो केही हदसम्म साँचो कुरो हो । तर यी दुई कुराबाहेक, भारत–नेपाल सम्बन्धमा अन्य धेरै तत्त्व पनि छन्, जसले प्रत्यक्ष रूपमा सम्बन्ध सपार्न र बिगार्नमा भूमिका खेल्छन् ।

एकअर्काको सम्बन्धलाई कुन दृष्टिले हेर्दा ठीकसँगले, गहिरै प्रकारले बुझिन्छ भन्नेमा यी थ्यौरीहरूले सग्लै योगदान दिए । कसैले यी सबै थ्यौरीलाई एउटा गाग्रीमा हाली, एकअर्कासँग घोलेर अन्तर्राष्ट्रिय सम्बन्ध बुझाउने पनि प्रयास गर्दै छन् । अर्कातिर, सम्बन्धलाई बुझ्नुभन्दा पनि सम्बन्धलाई के कुराले सुदृढ र सुनियोजित बनाउँछ वा यसलाई कुन तत्त्वले बिगार्छ र भत्काउँछ भन्ने साधनहरूको खोजमाथि पनि धेरै विचारविमर्श हुँदै आएको छ । यही साधन खोज्ने प्रक्रियामा पनि पश्चिमी राष्ट्रहरूबाट आएका उपर्युक्त थ्यौरी र सम्बन्ध सपार्ने साधनहरू हाम्रो दक्षिण एसियामा लागू हुन गाह्रै पर्छ भन्ने कुरो पनि नकारिहाल्न सकिँदैन । किनकि पश्चिमी राष्ट्रहरूमा यहाँको जस्तो स्थिति छँदै छैन भने पनि हुन्छ । दुई राष्ट्रबीचको सिमानाको चरित्र र रूपरंग नै अलग्गै छ । कुन प्रकारको सिमाना छैन यहाँ ! खुलादेखि प्वाल परेकोसम्म, काँडेतार र पर्खालदेखि प्राकृतिक प्रतीकले छुट्याएकोसम्म, हाटबजार र समुदायले अलग देखाएको अनि अन्यअन्य । सिमाना छुट्याउने लामो धर्को एकापट्टि र अर्कापट्टि सिमाना क्षेत्र जहाँ वल्लो र पल्लोपट्टि एउटै संस्कृति, भाषा, वेशभूषा भएका समुदायहरू । भारतको नागाल्यान्डका नागाहरू अनि सीमारेखा काटेपछि दुरुस्तै बर्माका नागाहरू । यिनीहरूलाई सीमारेखाले दुइटा भिन्नै नागरिकता–राष्ट्रियता प्रदान गरेको भए पनि सामुदायिक भिन्नता भने किञ्चित् छैन । तसर्थ यहाँ राष्ट्रिय सुरक्षाका लागि कोरिएको सीमारेखा (बोर्डर लाइन) भन्दा पनि समुदायले डोर्‍याएको सीमा क्षेत्र (बोर्डर ल्यान्ड) प्रमुख भएर जान्छ । यस्तो स्थितिमा केवल सीमारेखा हेरेर सुरक्षा दललाई माथि विदेशनीतिमा चलाउँदा तनाव र अस्थिरता देखा पनि पर्छ । अर्कातिर, बोर्डर ल्यान्डका दृष्टिमा भने त्यहाँ एउटै नदीको पानी चलाइन्छ, व्यापार–वाणिज्य हुन्छ, प्राकृतिक प्रकोप आइलाग्छ, पर्यटन र तीर्थयात्रा व्याप्त हुन्छ । आतंकवाद र हातहतियारको आदान–प्रदान पनि हुन्छ ।

अझै परतिर नियालेर हेर्दा, कहीँकहीँ त सीमारेखा पनि एउट खाँबोले निश्चय गरेको हुन्छ । भारतको दार्जिलिङ जिल्ला र नेपालको इलाम सबैलाई एउटा सिंगो–ठिंग उभिएको खाँबोले छुट्याउँछ । अर्थात्, खुट्टाको औंलो एउटा राष्ट्रमा र पैताला अर्को राष्ट्रमा । मेघालयका शिलाङ र चेरापुन्जीदेखि अलिक तलतिर दाउकी सीमा क्षेत्रमा बंगलादेशसँगको सीमारेखा त चनावाला, झालमुरी र पानीपुरीवालाले पो इंगित गर्छन् ! बेच्नेहरूको अघि उभिए भारत अनि पछि उभिए बंगलादेश । बंगलादेशीहरू शिलाङमा नानीहरूलाई शिक्षा दिन ल्याउँछन्, भारतबाट खोला–पहाडका ढुंगाहरू ताँतका ताँत ट्रकमा पठाइन्छन् । यही मार्ग भएर बंगलादेशमा अध्ययनरत नेपाली र भोटाङे विद्यार्थीहरू ढाका र चटगाउँ पुग्ने गर्छन् । उता पन्जाब, काश्मीर, जम्मु, गुजरातमाÙ पाकिस्तानसँगको पर्खालमाथि पनि काँडेतार बिछ्याइएको सिमानामा भने दुई राष्ट्रका सीमा सुरक्षाका सैनिकहरू आँखाका नानीहरू कहिल्यै नथाक्ने गरी एकअर्कालाई बन्दुक ताकी उभिएका, लुकेका, हेरिरहेका हुन्छन् । यस्तो स्थितिमा अमेरिका वा इंग्ल्यान्डबाट निस्किएका अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिका तरिकाहरू काम लाग्न निकै गाह्रै पर्ने हुन्छ ।

कूटनीतिमा पारम्परिक ढंगका सामग्री र साधनहरू चलाउनु कति प्रभावशाली हुन्छ भन्ने विषयवस्तुमाथि धेरै बहस भइसकेको छ । हिजोसम्म राष्ट्रिय शक्ति (नेसनल पावर) नै कूटनीतिको सर्वमान्य आधार हो र यसबाट उब्जेका धाराहरूलाई नै कूटनीतिको साधन बनाइनुपर्छ भन्ने सोच व्याप्त थियो । र नै मिलिटरी शक्तिको मनग्गे दुरुपयोग गरिन्थ्यो । आर्थिक अवस्था बलियो हुनेले अर्को राष्ट्रलाई अनुदान

दिएर, व्यापार–पुँजी निवेशले थिचेर अड्डा जमाउने प्रयास पनि गरिँदै आएकै छ । अमेरिका, चीन, जर्मनी आदिले यस्तै सोच विश्वका कुनाकुनामा अघि बढाए । दक्षिण एसियामा सबैभन्दा ठूलो राष्ट्र भारतसमेत यही सोचको सिकार भएको आशंका पनि छिमेकी राष्ट्रहरूले नगरेका होइनन् । अर्कातिर, कूटनीतिमा कडा शक्तिभन्दा नरम शक्ति अझै प्रभावशाली हुन्छ भन्ने चर्चा–परिचर्चा पनि निकै व्यापक रूपमा फैलिँदै आएको छ । कडा शक्ति (हार्ड पावर) ले भत्काउँछ, थिच्छ–मिच्छ–हेप्छ र कमजोर–सानो राष्ट्रलाई निचोरेरै छोड्छ । नरम शक्ति (सफ्ट पावर) ले बनाउँछ, सपार्छ, मनै पग्लाइदिन्छ, मुस्कान–न्यानोपन ल्याउँछ भन्दै आजको कूटनीतिमा नरम शक्ति व्यापक रूपमा प्रयोग हुन थालेको छ ।

सन् १९९० मा, सबैले मानेका अमेरिकी विद्वान् जोसेफ नाईको ‘बाउन्ड टु लिड : द चेन्जिङ नेचर अफ अमेरिकन पावर’ शीर्षक पुस्तक प्रकाशित भएपछि नरम शक्तिबारे अझै गहिरो चर्चा सुरु भयो । नाईले के भने, किन भने र कसरी भने भन्नेबारे पनि व्यापक परिचर्चा–समालोचना भएकै हो । नाई भन्छन्— ‘कसैमाथि बल प्रयोग नगरी र पैसा नदिईकन उसलाई आफूले चाहेको फल दिन सक्ने बनाउनु वा प्रभाव पार्नु नै’ नरम शक्तिको मर्म हो । अर्थात्, कुनै राष्ट्रले अर्को राष्ट्रलाई आफ्नो चाहनाको दिशातर्फ जाने बनाउनु नै नरम शक्तिको आत्मा हो । नरम शक्तिले आकर्षण गर्छ, सँगै अगाडि बढौं र एउटा सग्लो कुरो हासिल गरौं भन्छ । उदाहरणहरू धेरै छन् । सन् १९४५ मा दोस्रो महायुद्धको अन्ततिर जापानका हिरोसिमा र नागासाकीमा अमेरिकाले एटम बम प्रहार गरी मानवसंहार गरेपछि, विश्वसभ्यताको मुटुमै भाला हानेपछि जापानी विस्तारवादी र साम्राज्यवादी विचार स्वाहा भयो । त्यसले जापानका अगुवा हिरोहितोको मन नै छियाछिया पारिदियो । तत्पश्चात् जापानले शान्ति संविधान बनाएर, केवल शान्तिप्रिय ढंगमै राष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्ने भयो । कसैलाई भाषा–साहित्य–संस्कृतिÙ अरुलाई राष्ट्र निर्माण हेतु आर्थिक सहायता र अझै अन्यलाई टेक्नोलजी चलाउँदै मारुती, केनन, मित्सुबिसी, हिताची आदि दिएपछि, हातहतियार नै नभएको जापान फेरि विश्व नै अँगालेर जित्ने स्थितिमा पुग्यो । यसरी जापानले आफ्ना दुस्मनहरू अमेरिका, चीन र कोरियासमेतको मन जित्यो । अनि फेरि नरम शक्ति प्रयोगको सग्लो उदाहरण भयो । जापानले यसरी भू–राजनीतिदेखि भू–अर्थनीति हुँदै अन्तर्राष्ट्रिय सम्बन्धमा तेस्रो आयाम भू–सभ्यता र भू–संस्कृति जोड्न पुग्यो ।

भारतले नरम शक्तिको प्रयोग पारम्परिक ढंगमै गर्दै आएको छ । हातहतियार नै नभएको भारतले नरम शक्तिमार्फत नै तिब्बतमा बौद्ध धर्म पुर्‍यायो, सम्पूर्ण दक्षिण–पूर्वी क्षेत्रमा महाभारत र रामायण अघि बढायो, विश्वलाई नै अहिंसाको गाथा गाउन सिकाए महात्मा गान्धीले, हिजोअस्ति मात्रै संयुक्त राष्ट्र संघसम्मले योगलाई विश्व स्वास्थ्य र एकताको प्रतीक मान्दै मान्यतासमेत दियो । नरम शक्तिमा संस्कृत भाषादेखि लिएर बौद्धिक र ज्ञानको झोलालाई सबैले बोकेर हिँड्ने भए । शरणार्थीहरूको हेरचाहदेखि छिमेकी राष्ट्रहरूको बुनियादी विकासमा नरम शक्ति देखाउने भारतलाई आज एटम बम र इन्डो–प्यासिफिक रणनीतिसँग अघि बढ्नुपर्ने बाध्यता नै भए पनि नरम शक्ति नै अझै प्रभावशाली हतियार बनाउने कुरामा व्यापक परिचर्चा हुँदै छ ।

संगीत–साहित्य–खेलकुद नरम शक्तिका अभिन्न अंग हुन् । रवीन्द्रनाथ ठाकुरले भारतको राष्ट्रिय गीत ‘जनगणमन’ र बंगलादेशको राष्ट्रिय धुन ‘आमार शोनार बांग्ला’ प्रदान गरेर संगीतलाई गैरसरकारी ढंगमा नरम शक्तिका रूपमा प्रदर्शन गरे । देवकोटाको ‘मुनामदन’, गोर्कीको ‘आमा’ ले एकापट्टि र ब्राजिलका पेले, भारतका ध्यानचन्द, अमेरिकाका मुहम्मद अली (क्यासियस क्ले) र अर्जेन्टिनाका म्याराडोनाले अर्कापट्टि सरकारको कूटनीतिले गर्नै नसक्ने काम गरेर देखाइदिए, विश्वलाई नै जोडेर । यो पनि नरम शक्ति नै हो । चिनियाँ खानामा बेइजिङको महमा डुबाएको हाँसको मासु, जापानको सुशी, भारतको तन्दुरी, पाकिस्तानका कबाब र नमक मन्डी, नेपालका टिम्बुरको चटनी र गुन्द्रुकको झोल, भियतनामको फ, अमेरिकाको ह्याम बर्गर, इटालीको पिज्जा, बहुराष्ट्रिय कम्पनीको कोकाकोला सबै सरकार नै नपुगी विश्वभर पुगे । यी नरम शक्तिहरूले एटम बम, मिसाइल र आतंकवादभन्दा माथि उठेर होहल्ला नगरीकनै विश्वका कुनाकुनाका बासिन्दाहरूको मनै जिते । नेपालले सगरमाथालाई आकर्षक प्राकृतिक प्रतीक बनाएरÙ चीनले कैलाश–मानसरोवर, दार्जिलिङले चिया र सिन्कोना खेती, सिक्किमले कञ्चनजंघा, जापानले फुजी र तातोपानी स्नान, फ्रान्सले लुड, रोमले भ्याटिकन र ब्राजिलले सुगर लोफमार्फत विश्वका राष्ट्रहरूलाई पर्यटन र तीर्थयात्रा अन्तर्गत जोडे । विश्वमा कार्यरत नेपाली, भारतीय, चिनियाँ, फिलिपिनो, थाई एवं ल्याटिन अमेरिकीहरू पनि नरम शक्तिकै स्तम्भ हुन् । नेपालको घरेलु आयको ३० प्रतिशत विदेशमा नेपालीहरूले कमाएर पठाएको विदेशी मुद्राले नै ओगट्छ । भारतले त विदेशमा काम गरिरहेका भारतीयहरूबाट, विश्वमै सबैभन्दा ज्यादा, ७० अर्ब डलरभन्दा बढी विदेशी मुद्रा प्राप्त गर्ने गर्छ । विदेशमा रहेका सबै भारतीय र नेपालीलाई नरम शक्तिको प्रभावशाली डायस्पोरा एवं एजेन्ट मान्न सकिन्छ ।

एके ४७, आतंकवाद, ड्रग्स र सामरिक हमला एकापट्टि र नरम शक्तिका प्रतीकहरू अर्कापट्टिÙ आउँदा पाँच दशकमा यी दुईबीच घमासान लुछाचुँडी हुने नै भयो । किनकि कडा शक्तिले अशान्ति, अस्थिरता निम्त्याउँछ र मानव संहारको दुन्दुभि बजाउँछÙ नरम शक्तिले विश्वशान्ति, विकास–निर्माण, स्थिरता र समावेशीकरणको आगो बाल्छ । आमिर खानका ‘थ्री इडियट’ र ‘दंगल’ ले चीन नै पिटेर भारत–चीन सम्बन्धमा न्यानोपन ल्याउँछन्Ù दक्षिण कोरियाका किम्ची, के पप र टेली सिरियलले भारत–नेपाल–भोटाङ–बर्मा लगायत पूरा एसिया नै निल्छन्Ù भारतका २.३ करोड र चीनका १२ करोड पर्यटकले विश्वलाई अँगाल्छन् भने, कडा शक्तिमै अघि बढ्छु भन्ने राष्ट्र र नेतालाई ठूलै चुनौती हुन जान्छ । राष्ट्र र नेता एउटा मार्गमा अनि नागरिकहरूचाहिँ सुमार्गमा, भीषण स्थिति आउने नै छ । तब थाहा हुन्छ चीनले ‘रुवान सिली’ (नरम शक्ति) को प्रयोग गर्दै छ कि त्यो केवल ‘इवाई चुगनचुन’ (बाह्य देखाउने गतिविधि) हो । जे होस्, नरम शक्तिले जरा फेरि गाड्दै छ, कडा शक्तिको छत्तीपत्ती खोल्दै छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×