कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोला तानेर वडाध्यक्ष

काठमाडौँ — सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ मा कांग्रेस र माओवादी केन्द्रबीच चर्को प्रतिस्पर्धा थियो । ०७४ मा थोरै मतले निर्वाचित छविलाल न्यौपाने यसपटक पनि कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार थिए । माओवादी केन्द्रबाट बलिया मानिएका उम्मेदवार पुरुषोत्तम सापकोटा प्रतिस्पर्धामा थिए । दुवैको मत गन्दा बराबरी अर्थात् ४ सय ९५ भएपछि दुवै दलका प्रतिनिधि र उम्मेदवार चकित परे । दलीय सहमतिमा गरेको गोला प्रथाबाट निवर्तमान वडाध्यक्ष न्यौपाने विजयी भए ।

गोला तानेर वडाध्यक्ष

दुवै प्रत्याशीको मत समान आएपछि रोल्पा नगरपालिका–२ मा पनि वडाध्यक्ष गोला प्रथा गरी चुनिएको छ । माओवादी केन्द्रका प्रकाश डाँगी र कांग्रेसका देउचन्द थापा अध्यक्षको प्रतिस्पर्धामा थिए । दुवैले समान ५४३ मत प्राप्त गरेपछि गोला प्रथा गर्दा डाँगी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङको चामे गाउँपालिका–५ मा कैले गुरुङ पनि गोला तानेर पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा खासै चासो नराख्ने भए पनि कैलेलाई गत स्थानीय निर्वाचनमा एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । २४ मत खस्दा कैलेले १६ मत ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेसका ङिमा धोर्जे लामाले ८ मत पाएका थिए । ङिमा त्यसपछि विदेश गए । कैलेले भने वडा चलाइरहे । एमालेले यसपल्ट पनि उनलाई नै टिकट दियो । कैले र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०–३० मत ल्याए । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार दुवैको सहमतिमा गोला प्रथा गर्दा कैले पुनः वडाध्यक्षमा चुनिएका हुन् । ‘यसो सोच्दा म भाग्यमानी नै रहेछु कि झैं लाग्यो,’ उनले भने, ‘सत्ता गठबन्धन छ । एक मतले भए पनि हार्छु कि झैं पनि लागेको थियो तर भाग्यले जिताइदियो ।’

यो वडा बजार क्षेत्रमै पर्छ । गत वर्ष जेठ ३१ को राति ठूलो बाढी आयो । बाढीले चामे बजारलाई तहसनहस बनायो । उनी गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेसँगै मिलेर पीडितको सेवामा लागे । घाइतेको उद्धार र उपचारदेखि घरबास गुमाएकालाई अस्थायी बासस्थानको जोहो गर्नमा खटिए । ‘नागरिककै काम गर्न हामी जनप्रतिनिधि भएर आएका हौं,’ उनले भने, ‘धेरै राम्रो काम गर्न नसकिएला तर नराम्रो काम गर्ने छैन ।’ उक्त वडामै खुला सदस्यमा एमालेकी समिरा गुरुङ र कांग्रेसका सेराव विष्टको पक्षमा पनि बराबर २८–२८ मत खसेको थियो । दुवैको सहमतिमा गोला तान्दा समिरा विजयी भएकी छन् । उनी २०७४ को निर्वाचनमा पनि सदस्य निर्वाचित भएकी थिइन् ।

१ मत अन्तरले विजयी

काभ्रेको खानीखोला–१ मा वडाध्यक्षमा माओवादी केन्द्रका सन्तमान थिङ १ मतको अन्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी आशाराम थिङले ५ सय ४७ मत ल्याएका थिए । अन्तिम २ मत गन्न बाँकी हुँदा आशाराम १ मतले अगाडि थिए । पछिल्ला दुवै मत सन्तमानलाई आएपछि उनको जित निश्चित भएको थियो ।

चौरीदेउराली–१ मा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार १ मतको अन्तरले विजयी भए । सुशील लामाले ४ सय २ मत प्राप्त गर्दा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत ल्याए । सिन्धुपाल्चोकमा कांग्रेस, एमाले र माओवादीले विभिन्न वडामा धमाधम जित हात पारिरहेका थिए । कमजोर देखिएको एकीकृत समाजवादीका उम्मेदवारले खाता खोल्न सकेको थिएन । तर, साँगाचोकगढी–१ मा एकीकृत समाजवादीका युवलाल श्रेष्ठले तीन मत अन्तरमा एमालेका उम्मेदवारलाई हराए । उनले ६ सय ६८ मत ल्याउँदा एमालेका सानुकान्छा श्रेष्ठले ६६२ मत पाए ।

विजय जुलुसपछि पुनः गणना

दुई मत अन्तरले विजयी भइसकेका तेमाल गाउँपालिका–१ का वडाध्यक्ष कालदास लामालाई धेरैले बधाई दिए । ३० वर्षपछि कम्युनिस्टको गढ तोडिएको भन्दै सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो नै लाग्यो । विजय जुलुस पनि भयो तर पुनः मतगणना गर्नुपर्ने एमालेले अडान लियो । कांग्रेसका मतगणना प्रतिनिधिले पनि विरोधका बीच समर्थन जनाए । सुरुमा कालदासले ५ सय ३१ र एमालेका इन्द्रबहादुर अधिकारीले ५ सय २९ भोट ल्याएका थिए । पुनः मतगणना हुँदा अधिकारीले ५ सय ३१ र कालदासले ५ सय ३० मत ल्याएपछि अधिकारीलाई विजयी घोषणा गरिएको छ ।

कांग्रेस र माओवादीका बागी विजयी

काभ्रेको नमोबुद्ध–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमबहादुर तामाङ विजयी भएका छन् । कांग्रेसका वडा सभापति लामा पार्टीले टिकट नदिएपछि बागी उठेका थिए । एमालेका निरोज पाण्डेलाई १ सय ९ मतले पछि पार्दै तामाङ विजयी भएका हुन् । लामाले ५ सय ५६ मत ल्याएर जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार पूर्वनगर उपसभापति गणवज्र लामाले २ सय ८ मत मात्रै पााए । वडा सदस्यमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हुम्लाको चंखेली–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रबाट असन्तुष्ट भएर बागी उठेका हर्कधन तामाङ ९५ मत ल्याएर विजयी भएका हुन् । माओवादीका आधिकारिक उम्मेदवार प्रेमबहादुर तामाङले ४० मत मात्रै पाए । हर्कधनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अर्का बागी उम्मेदवार दानबहादुर तामाङले ४९ मत पाए ।

त्यसैगरी, पाँचथरको फिदिम–१ को वडाध्यक्षमा २०५४ र २०७४ सालमा बाबुसँग पराजित एमालेका गजाधर भट्टराईले यसपटक छोरालाई हराएका छन् । यसअघि हर्कबहादुर मोक्तानसँग पराजित भएका उनले यसपटक हर्कबहादुरका छोरा सन्तोषलाई पराजित गरेका हुन् । गजाधरले कांग्रेसका सन्तोषलाई २ सय ४८ मतान्तरले हराएका हुन् । भट्टराईले १ हजार ७१ मत पाउँदा मोक्तानलाई ७ सय २३ मत प्राप्त भएको थियो । वडाध्यक्ष मोक्तानको निधन भएपछि २०७६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा कांग्रेसका सुवराज थापालाई हराउँदै भट्टराई वडाध्यक्ष बनेका थिए । उनले एमालेबाट वडाध्यक्ष पदका लागि चौथो पटक टिकट पाएका हुन् । भट्टराईले प्रतिस्पर्धी दलका भावनालाई समेट्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

-अनिश तिवारी (सिन्धुपाल्चोक), काशीराम डाँगी (रोल्पा), आश गुरुङ (लमजुङ), नगेन्द्र अधिकारी (काभ्रे), छपाल लामा (हुम्ला) र लक्ष्मी गौतम (पाँचथर)

प्रकाशित : जेष्ठ ३, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?