हुम्लाको चंखेली गाउँपालिकामा पुनः मतदान हुने- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाको चंखेली गाउँपालिकामा पुनः मतदान हुने

छपाल लामा

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका २ को महादेव माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुनः मतदान कार्य हुने  भएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान कार्य पुनः गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले उक्त मतदान केन्द्रको मतदान कार्य पुनः हुने बताएका छन् । निर्वाचन कहिले गर्ने भन्ने निर्णय सम्बन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र मतपत्र पठाउने छ ।

यसका लागि आयोगबाट पत्रसमेत प्राप्त भएको उनले बताएका छन् । गठबन्धन दलहरूका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोविन्द शाही, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग मतदान कार्य पुनः सञ्चालन गर्न माग गरेका थिए ।

स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको भन्दै पुनः मतदान गर्न गठबन्धन दलले माग गरेका थिए । गठबन्धन दलको मागमाथि छलफल गर्दा आयोग पुनः मतदान कार्य गराउने निष्कर्षमा पुगेको बताइएको छ ।

मतदान केन्द्रमा ९ सय ३ मतदाता रहेकोमा ३ सय ९० मत मात्र खसेको थियो । स्वतन्त्र उम्मेदवारको मात्र मत खसाल्न दिएको दाबी गठबन्धन दलहरुले गर्दै आएका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्

खार्पुनाथ गाउँपालिकामा मत गणनास्थल बाहिर झडप हुँदा ३ जना घाइते, एकको अवस्था गम्भीर

छपाल लामा

हुम्ला — जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका-५ सागर शाहीले गठबन्धनका कार्यकर्ताद्वारा नेकपा एमाले कार्यकर्तामाथि आक्रमण गर्दा तीनजना घाइतेको भएको बताए । उनले मतगणनस्थल बाहिर बसिरहेका बेला फलामको छडले टाउकोमा हानेको बताए ।

छडको प्रहारबाट घाइते हुनेमा सोही वडा निवासी छत्तबहादुर शाही, मन्दिर सिंह ऐडी र नविन ऐडी छन् । घाइते तीनै जनालाई हेलिकोप्टरबाट गाउँपालिका केन्द्र याङ्चुबजारबाट ल्याई जिल्ला अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । घाइते शाही भने बेहोस अवस्थामा छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

अस्पतालका चिकित्सक रोशन खनालले घाइतेमध्ये शाहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको बताए । शाहीलाई हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लग्ने तयारी भइरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×