ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई विजयी

डम्बरसिं राई

खोटाङ — ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन् । उनले गठबन्धनलाई पराजित गर्दै जित हात पारेका हुन् ।

राईले दुई हजार ६ सय ६ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादीका श्रीबहादुर राईले दुई हजार चार सय ८० मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका राजेश राजभण्डारीले जितेका छन् । उनले तीन हजार एक सय ४६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पुष्पकला भुजेलले दुई हजार पाँच सय ९५ मत ल्याएका छन् । भुजेल अघिल्ले स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी थिइन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

विश्वलाई बुद्ध ज्ञान

न्हुंछेनारायण श्रेष्ठ

बुद्धले दिएको उपदेश, दृष्टिकोण र दर्शन नै बुद्घ शिक्षा हो, जुन भोगाइमा आधारित छ । नेपालमा बौद्ध संस्कृतिको लिखित इतिहास करिब २५०० वर्षभन्दा पुरानो भएको लुम्बिनी, निग्लिहवा तथा गोटिहवामा अवस्थित प्रस्तर खम्बाका अभिलेखले पुष्टि गर्छन् ।

ती अभिलेखका आधारमा नेपालभूमि तीन बुद्ध क्रकुच्छन्द, कनकमुनि र शाक्यमुनिको जन्मस्थल भएको प्रमाणित हुन्छ । नेपालमण्डल अर्थात् काठमाडौं उपत्यका श्रीस्वयम्भू ज्योति रूप प्रज्वलित तीर्थस्थल र बौद्ध कला, सभ्यता तथा संस्कृतिको उद्भव स्थलका रूपमा प्रसिद्ध छ । विभिन्न समयमा सप्त तथा गतहरू विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, काश्यप र शाक्यमुनि तथा अनेक बोधिसत्त्व (मञ्जुश्री), सिद्धाचार्य, योगीहरूले भ्रमण गरेको देखिनुले शाक्यमुनि बुद्धभन्दा पनि अगाडिदेखि नै यो क्षेत्रमा बुद्धधर्म र बौद्ध सभ्यताको सुरुआत भएको देखिन्छ ।

बुद्ध धर्म र बौद्ध संस्कृतिको रूपमा बौद्ध रीतिथिति, संस्कार, चाडपर्व, जात्रा, व्रत र परम्परा छन् । त्यस्तै बौद्ध कला–संस्कृतिको रूपमा मूर्तिकला, धातुकला, काष्ठकला, चित्रकला, विहार, मन्दिर, गुम्बा, छोर्तेन, स्तूप, ठूला–साना चैत्य र चीबाःहरू छन् । बुद्धका उपदेश आर्य अष्टांगिक मार्गमध्ये सम्यक् वाक, सम्यक् कर्मान्त, सम्यक् आजीविकाशील शिक्षाभित्र आउँछन् । सम्यक् स्मृति र सम्यक् समाधि समाधि शिक्षाभित्र पर्छन् भने सम्यक् दृष्टि, सम्यक् संकल्प र सम्यक् व्यायाम प्रज्ञा शिक्षामा आउँछन् । शील–समाधि–प्रज्ञालाई त्रि–शिक्षा पनि भनिन्छ । गृहस्थ उपासक–उपासिकाहरूले पालन गर्नुपर्ने शील पाँचवटा छन्, जसलाई पञ्चशील भनिन्छ— प्राणीहत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र लागूपदार्थ सेवन नगर्नु । त्यस्तै अष्टशीलमा अरू तीन शील जोडिन्छन्— मध्याह्नपछि नखाने, चन्दन–अत्तर मालाजस्ता शृंगारहरू नगर्ने र उच्चविलासी आसनमा नसुत्ने । प्रव्रजित भिक्षु–भिक्षुणीहरूले थप दुई शील पालना गर्नुपर्ने हुन्छ, अश्लील नाचगानबाट टाढा रहने र सुन, चाँदी, बहुमूल्य वस्तु नराख्ने । सधैं यसो गर्न नसक्नेहरूले पोषण, उपोषध या न्यून व्रत बस्ने बेला शील पालन गर्छन् ।

बुद्घका वाणी, उपदेशहरू विश्वमा शान्ति, अमनचयन तथा भ्रातृत्व स्थापना गर्नसमेत फलदायी हुन सक्छन् । समाजको हरेक तह र तप्का बुद्घको उपदेश अनुसार अघि बढ्न सकेमा मुलुकले काँचुली फेर्न सक्छ । तर, बुद्घसँग सम्बन्धित ज्ञान, कला र संस्कृतिको प्रचारप्रसार अपेक्षाअनुरूप नहुनु भने दुःखद हो । हाम्रो देशको पाठ्यक्रममा समेत बुद्घका विषयलाई पर्याप्त स्थान दिइएको पाइँदैन, जसका कारण बुद्घ र बुद्घ धर्मको प्रभावबारे जनमानसले सहजै बुझ्न सकिरहेका छैनन् ।

विश्वमा अनेकन् परिवर्तन भइरहेका छन्, जसले विविध समस्या पनि बढ्दै गइरहेको छ । द्वन्द्व, भोकमरी तथा युद्घ मानव मृत्युको कारण बनिरहेको छ, यसले जनजीवन पनि तहसनहस तथा अस्तव्यस्त बनाइरहेको छ । बुद्घको पञ्चशीलको पालना मात्रै गर्ने हो भने यी समस्याको केही हदसम्म न्यूनीकरण हुने थियो ।

विडम्बना, शस्त्रास्त्रको अनावश्यक होडबाजी चलिरहेको छ । बम–बारुदको वर्षा भइरहेको छ । विश्वमा देखा परेका समस्या बुद्घको शिक्षाबाट समाधान गर्न सकिन्छ । हरेक समस्याको कारण मनको अस्थिरता हो । र, यसको समाधान लोभ, तृष्णा र मोहमाथिको विजय हो । चार आर्य सत्यको ज्ञान अनि मध्यम मार्ग नै यो जगत्को सुख मार्ग हो । बुद्धले झैं चित्त (मन) को समाधान गर्न सक्नु नै सुख मार्गको दिशा हो । बुद्ध

शिक्षा भनेकै कुशल कर्म गर्नु, अकुशल कर्मबाट टाढा रहनु र मनलाई शुद्ध पार्नु हो भनी आर्य गुण काण्डव्यूडमा उल्लेख छ । समाजमा व्याप्त अन्याय, असमानता र अत्याचारबाट मुक्ति पाउनसमेत बुद्घ शिक्षाको आवश्यकता पर्छ ।

बौद्ध शिक्षा यस्तो मार्ग हो, जसले यो जगत्मा समानता, कुशल नेतृत्व, प्रेम, आदर र सद्भाव भरिदिई दुःख र तृष्णाबाट मुक्त गर्छ । सक्षम र योग्य मानिसको विकास गर्न पनि सहयोग गर्छ । र, असल नेतृत्व नै यो जगत् विकासको संकेत हो । समग्रमा बुद्ध शिक्षाले असल नेतृत्वको उत्पादन गर्न मद्दत पुर्‍याउँछ ।

त्रिपिटकमा बुद्घले विभिन्न समय र स्थानमा दिएका उपदेश, शिक्षा र नियमहरू संगृहीत छन् जो सुत्त, विनय र अभिधम्ममा विभाजित छन् । सुत्त पिटकमा उपासक र उपासिकाहरूको जीवनसँग सम्बन्धित जीवनोपयागी, अधिकार, नैतिक र लाभकारी उपदेश छन् । विनय पिटकमा भिक्षु र भिक्षुणीहरूको एकअर्काको व्यवहारमा गर्न हुने–नहुनेबारे नियम छन् । अभिधम्म पिटकमा हेतु प्रत्यक्ष र कार्यकरण छुट्याएर जान्न र सिक्न सकिने विषयको संग्रह छ । बुद्घले बताउनुभएका चार आर्य सत्य हुन्— दुःख, दुःख समुदय, दुःखनिरोध र दुःखनिरोध गामिनी प्रतिपदा । आर्यअष्टांगिक मार्ग बुद्घको मध्यम मार्ग हो, जसमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाचा, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि छन् ।

पञ्चशील भनेको शरीर, मन र बोलीवचनबाट अरूको अहित नगर्नु हो । पञ्च स्कन्ध भनेको दुःख स्कन्ध हो, जसलाई जान्नु र बुझ्नु आवश्यक छ । यसमा रूप, वेदना, संज्ञा, संस्कार विज्ञान गरी पाँच स्कन्ध छन् । रूप र नामको (मन) योग नै पञ्च स्कन्ध हो । मानव कल्याण, सुख र शान्तिका लागि बनाइएको अनित्य, दुःख र अनात्म समेटिएको मूलदर्शन नै त्रिलक्षण हो । अनित्यले नाशवान्लाई जनाउँछ । दुःखको वास्तविक बोध गराउने बिछोड र पीडाले हो जुन पञ्च स्कन्धमा हुन्छ । अनात्मलाई हरेक चीज बिलाएर जाने अर्थमा बुझिन्छ । नेपाली समुदायहरूलाई बुद्ध शिक्षाको अभ्यास, बुद्ध दर्शनको आवश्यकता छ ।

श्रेष्ठ लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×