कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनः मतदान गर्नुपर्ने माग राख्दै मेलम्ची र पाँचपोखरीमा मतगणना ठप्प

अनिश तिवारी

सिन्धुपाल्चोक — नेकपा माओवादी केन्द्रलगायत दलका कार्यकर्ताले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे र पाँचपोखरी थाङपाल गाउँपालिका ७, भोटेनाम्लाङमा पुनः मतदान गर्नुपर्ने माग राखेर विरोध गरेपछि मतगणना अझै सुरु हुन सकेको छैन । शनिबार बिहानैदेखि ठप्प मतगणना सुरु गर्नका लागि धेरै पटक सर्वदलीय छलफल गरिए पनि सहमति नजुट्दा अहिलेसम्म मत गणना सुरु हुन नसकेको हो ।

पुनः मतदान गर्नुपर्ने माग राख्दै मेलम्ची र पाँचपोखरीमा मतगणना ठप्प

‘स्थानीय र दलका कार्यकर्ताले पुनः मतदान गर्नुपर्ने माग राख्दै मतगणना रोकेका छन् । मेलम्ची नगरमा अहिले पनि छलफल भइरहेको छ,’ रिजालले भने ।

शुक्रबार पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले, राप्रपजस्ता मुख्य दलले कसैलाई छिर्न नदिई बुथ कब्जा गर्दै मतदान गरेकाले विश्वसनीय नभएको भन्दै स्थानीय र कार्यकर्ता आक्रोशित भएका थिए । त्यही आरोपप्रत्यारोप झडपमा बदलिँदा अहिले एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपको स्थिति बनेको छ ।

चर्को झडपको अवस्था रोक्न सुरक्षाकर्मीले चारैतिर गस्ती बढाएको जिल्ला प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ‘दुवै क्षेत्रमा विशेष सुरक्षाकर्मी खटिएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा झडपको अवस्था बनेपछि प्रहरी पुगिसकेको छ । अन्य दलीय छलफल अघि बढाउने प्रयास थालिएको छ,’ डीएसपी बस्नेतले भने ।

त्यस्तै मेलम्ची नगरको गोल्माथान स्वास्थ्य चौकीमा शुक्रबारदेखि सुरु भएको मतदानबारे विवाद अझै नरोकिँदा मतगणना सुरु हुन सकेको छैन । कांग्रेसका उम्मेदवारले एकलौटी मतदान गर्न लगाएको आरोपमा एमाले र अन्य दलका कार्यकर्ताले यहाँ पुन मतदान गर्नुपर्ने माग राखेका छन् । एमाले र कांग्रेसका कार्यकर्ताबीच धकेलाधकेलबाट सुरु भएको विवाद झडपमा परिणत हुँदा कांग्रेसका एक कार्यकर्ता घाइतेसमेत भएका थिए ।

कांग्रेसका उम्मेदवारले भने एमालेका एक कार्यकर्ताले फर्जी मत हालेको र सामाजिक सञ्जालमा बुथ कब्जा भएको हल्ला फिँजाएपछि विवाद सुरु भएको आरोप लगाएका छन् । नेपाली सेनाले बन्दुक तेर्स्याएपछि स्थानीय मतदाता आक्रोशित बनेका छन् । मतदान सकिएपछि पनि एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी मतदानस्थल छाडेर हिँडेपछि अन्य दलको हस्ताक्षरपछि मतपेटिका सुरक्षित राखिएको थियो । दुवै क्षेत्रमा केही दलका स्थानीय कार्यकर्ता र मतदाताले पुनः मतदान गर्नुपर्ने माग राखेपछि विवाद अझै सुल्झिन सकेको छैन ।

प्रकाशित : वैशाख ३१, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?