कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतद्वारा राजीनामा

अर्जुन शाह

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले राजीनामा दिएका छन् । शुक्रबार मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको, त्यहीकारण आफूलाई सुरक्षाको जोखिम रहेको भन्दै उनले राजीनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भए/नभएको जिल्लामा जानकारी छैन । आफु असुरक्षित हुनुका साथै हुलहुज्जत हुनसक्ने भन्दै उनले राजिनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए । 

बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतद्वारा राजीनामा

पालिकाका विभिन्न केन्द्रमा स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेको भन्दै शुक्रवार कांग्रेस कार्यकर्ताले निर्वाचन अधिकृत सापकोटालाई नियन्त्रणमा राखेका थिए । मतदान कै दिनदेखि आफु असुरक्षित रहेको भन्दै शनिबार दिउँसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा उनलाई एमाले कार्यकर्ताले बार्जुगाढबाट नियन्त्रणमा लिएर पालिकास्थित निर्वाचन कार्यालयमा फर्काएर मतपेटिका बुझ्न लगाएका छन् । यतिबेला उनको थप सुरक्षा ब्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदान केन्द्रमा शुक्रबार मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथकब्जा, उम्मेदवार मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेकोलगायतका घटना भएका थिए ।

उपसचिव सापकोटा मतदानकै दिनदेखि दोहोरो दवावमा रहेको बुझिएको छ । शनिबार दिउँसोसम्म दश वटा वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका निर्वाचन कार्यालयले बुझ्न मानेको थिएन । एमालेले मत पेटिका बुझेर मतगणना गर्न भनिरहेको छ भने कांग्रेसले केही मतदान केन्द्रमा एकलौटी भएको आरोप लगाउँदै पुनः मतदानको माग गरिरहेको छ । खास गरी बुढीगंगाका २,३,५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।

जिल्ला निर्वाचन ब्यवस्थापन समितिले सर्वदलीय बैठक बसिरहेको भएपनि सहमति हुन सकिरहेको छैन । बुढीगंगाका अधिकांश मतदानकेन्द्रहरु शुक्रबार तनावग्रस्त भएका थिए ।

त्यसक्रममा एमाले र कांग्रेसको आआफ्नो वर्चस्व रहेको केन्द्रमा एकलौटी मतदान गरेका स्थानीयको भनाई छ । बुढीगंगाका ६ वटा मतदानकेन्द्रमा वडाध्यक्षका उम्मेदवारहरु मतदान केन्द्रबाटै लखेटिएका मतदान गर्न नपाएका सर्वसाधारणले बताएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?