घोराही उपमहानगरपालिकामा मतगणना सुरु
दाङ — घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । १९ वडामध्ये वडा नं. १४ र १९ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।
कडा सुरक्षा र तारजालीभित्र रहेर मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई तारबाहिर राखिएको छ । घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा भइरहेको मतगणनास्थल बाहिर पनि कडा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरीले मतगणना स्थल वरिपरि मानिसको आवतजावत बन्द गरेका छन् ।
घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेकोमा ७६ हजार ५ सय २१ अर्थात ६७ दशमलव ७६ प्रतिशत मत खसेको छ । घोराहीमा काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । मेयरमा गठबन्धनबाट माओवादीका हेमराज शर्मा पोख्रेल तथा एमालेबाट नरुलाल चौधरी उम्मेदवार छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका भूपबहादुर डाँगी र एमालेबाट हुमाकुमारी डिसी उम्मेदवार छन् ।