कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालेनको उम्मेदवारीले ल्याएको तरंग

बालेनको लोकप्रियता कुनै व्यक्ति विशेषप्रतिको आकर्षण मात्र नभई पुरानो ढाँचाको राजनीतिप्रतिको वितृष्णा भएको विश्लेषकहरूको भनाइ 
घनश्याम खड्का

काठमाडौँ — अघिल्लो स्थानीय निर्वाचनमा एउटा नाम निकै चर्चामा थियो, रञ्जु दर्शना । विवेकशील साझाबाट काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएकी रञ्जु महानगरको मात्रै नभएर सिंगो देशभर नै चर्चाको पात्र थिइन् । 

बालेनको उम्मेदवारीले ल्याएको तरंग

‘युवाहरू राजनीतिमा आउनुपर्छ’ भनेर धेरैले सह्राए पनि २१ वर्षीया रञ्जु भने २३ हजार ४ सय २९ मतसहित तेस्रो स्थानमा पुगिन् ।

अहिले रञ्जुकै जस्तो उभार हिपहप गायक बालेन साहले ल्याएका छन् । उनका पक्षमा ‘भोट फर बालेन’ भन्दै युवाहरूको ठूलो जमात सडकमै उत्रेको छ, सामाजिक सञ्जाल त उनले कब्जै गरेजस्तो देखिन्छ । हिपहप पारखीमाझ चिनिएका बालेन उम्मेदवारी दिएयता भने दिनहुँजसो चर्चाको शिखर चढ्दै छन् । ‘भोट फर बालेन साह’ ट्वीटरमा ट्रेन्डिङमा छ । उनको यही बढ्दो लोकप्रियता देखेर होला, काठमाडौंका पुराना मेयर केशव स्थापितले बालेनलाई परिचय लुकाउने ‘दर्तावाला ठग’ भनी अराजनीतिक टिप्पणीसमेत गरे । अघिल्लो पटक रञ्जुको र यसपटक बालेनको यो लोकप्रियता कुनै व्यक्ति विषेशप्रतिको आकर्षण नभई पुरानो ढाँचाको राजनीतिप्रतिको वितृष्णा भएको विश्लेषण जनाकारहरूको छ ।

‘देश, समाज, जनता सबैबाट परिवर्तनको खोजी भइरहेको छ, त्यसैको प्रस्फुटन बेला बेलामा चुनावबाट हुन गर्छ,’ युवा राजनीतिक विश्लेषक भाष्कर गौतम भन्छन्, ‘काठमाडौंमा उहिले रञ्जु दर्शना र अहिले बालेन साह अनि पोखरामा अटेरी युवाका नेता गनेश पौडेलको रातारात लोकप्रियता बढ्नु भनेको सिंगो देशले दिएको एउटा सन्देश हो । जसको अर्थ अब जसरी पार्टीहरु चलिहरेका छन्, त्यसरी नै उनीहरु लामो समय जान सक्दैनन् ।’

तीन/चार दशकदेखि पट्यारलाग्दो अनुहार र पुस्ताले कब्जा गरिरहेको नेपालको राजनीतिमा युवाहरू ओझेलमा छन् । शेरबहादुर देउवा २०५२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा अमेरिकामा विल क्लिन्टन राष्ट्रपति थिए भने भारतमा आई.के गुजरालको सरकार थियो । क्लिन्टनपछि बुस, ओबामा र ट्रम्प हुँदै अमेरिकामा अहिले बाइडेनको शासन चलिरहेको छ । भारतले गुजरालपछि अटल बिहारी बाजपेयी र मनमोहन सिंहको स्थिर शासनकाल भोगेर सन् २०१४ देखि मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि बढाइरहेको छ । तर, नेपालमा भने पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा आगामी चुनावपछि पनि पुनः प्रधानमन्त्री पद ओगट्ने ध्याउन्नका साथ सत्ता गठबन्धनको किला ठोकिरहेका छन् ।

उता ठूलो आश भरोसाका साथ हेरिएकी अघिल्लो पटककी मेयर प्रत्यासी रञ्जु दर्शना राजनीतिक वृत्तमा गुमनाम छिन् भने वैकल्पिक राजनीतिको सपना बोकेको उनको दल विवेकशील छिन्नभिन्न अवस्थामा आइपुगेको छ ।

निर्वाचनले सिंगो देश तरंगित भइरहेका बेला धेरैले रञ्जुलाई फेरि पनि चुनाव लड्न सुझाएका थिए । चुनावकै माहोलमा विवाह गरी भर्खरै घरजम सुरु गरेकी रञ्जुले यसपाला राजनीतिमा पाइलो हालिनन् । चुनाव हारेपछि मतदाताबीच समुदायमा घुलमिल हुने र जनप्रतिनिधिको कामलाई पहरेदारी गर्ने मामिलामा आफू चुकेकाले पछि हटेको भन्दै उनले आफ्ना शुभेच्छुकलाई सामाजिक सञ्जालमा बरु प्रस्टीकरण दिएकी छन् ।

‘म आफैंले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा र घरघर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेकी छु,’ उनले लेखेकी छन् ।

एउटै चुनावको अन्तरालमा रञ्जुको पुस्ता थाकेजस्तो देखिनु भनेको वैकल्पिक राजनीतिलाई समाजले ज्यादा साथ नदिएको ठान्छन् अर्का युवा राजनीतिक विश्लेषक शंकर तिवारी । ‘रञ्जुले चुनाव लड्दा देशमा पहिलो गणतान्त्रिक निर्वाचन हुँदै थियो र सामाजिक सुधारबाट राजनीतिक आकार लिँदै गरेको विवेकशील साझालाई सामाजले एक ढंगले शंकाको सुविधा दिएको थियो,’ उनी भन्छन्, ‘यस्तोमा रञ्जु दर्शनाको वाक्कला र युवा छविले धेरैलाई प्रभावित बनायो । यही बेला दिल्लीमा केजरीवालको उदय भएकाले पनि काठमाडौं थप तरंगित थियो ।’

परिवर्तन खोजिरहेको राजनीतिमा युवाहरु सशक्त ढंगले अघि बढिरहन सकेनन् । विवेकशील र साझाको पार्टी एकीकरणपछि देखिएको असहमतिले यसमा थप निराशा थप गर्‍यो जसले गर्दा रञ्जुहरुमा कम्तीमा तत्कालका लागि फेरि अगाडि आउने उत्साह भएन ।

तर, यति हुँदाहुँदै पनि समाजले राजनीतिमा परिवर्तन खोज्न भने छाडेको छैन, बालेनलगायत धेरै युवाहरुले लहर नै आएजस्तो गरी दिएको स्वतन्त्र उम्मेदवारी र उनीहरुको लोकप्रियता यसैको परिणाम हो भन्छन् तिवारी ।

‘काठमाडौंमा साउथ इन्डियन सिनेमा धेरै हेरिन्छ जसमा तिलस्मी शैलीमा नायक आउँछ र सबै बेथिति डाङडुङ पारेर ठीक पारिदिन्छ,’ उनी भन्छन्, ‘समाजले पनि यस्तै नायक रूपी अवतार खोजिरहेको छ जसले निराशाहरु सफाचट पारिदेओस्, रञ्जु र वालेनले पाएको चर्चा यही खोजीको संकेत हो ।’

महानगरका मतदाताहरु अन्यत्रभन्दा बढी सचेत हुने र उनीहरुमा मूलधारको राजनीतिक असफलताको उकुसमुकुस बढी देखिने हुनाले पनि काठमाडौं सधैं नयाँ अनुहारको खोजीमा भएको उनी ठान्छन् ।

‘हजारौं युवाले राजनीतिमा नयाँ युवालाई नायक मान्नुको अर्थ हो, पुरानो नेतृत्वमा अब आकर्षण छैन, यसलाई दलहरुले गम्भीरताका साथ लिनुपर्छ,’ विश्लेषक गौतम भन्छन्, ‘अहिलेको अवस्थामा दलहरूभित्र शक्तिको प्रयोग र अर्थराजनीति जस्तो छ, त्यसको फाइदा केवल शीर्ष नेतालाई मात्रै भएकाले युवाहरू निराश छन् ।’

हिजो पार्टीको आलोचना गर्दा दरबारलाई फाइदा पुग्छ भनेर कतिपय कुरामा नागरिक तहबाट नेताका गल्तीलाई ज्यादा उजिल्याइन्नथ्यो भन्छन् उनी । ‘तर अब गणतन्त्र आएपछि सुधारको मूल अपेक्षामा दलहरु छन् त्यसैले उनीहरुमाथि ज्यादा आक्रोश पनि छ,’ उनी भन्छन्, ‘त्यो आक्रोश नयाँ मानिसको समर्थनका रूपमा प्रकट हुन्छ तर विडम्बना के भने, जतिसुकै सक्षम भए पनि एउटा व्यक्तिले पूरै संरचनालाई बदल्न सक्दैन ।’

स्ट्रक्चरल इन्जिनियरका रूपमा पेसागत हिसाबले पनि ख्याति र अनुभव कमाएका बालेनको चुनाव चिह्न लौरो छ, जसलाई लिएर उनले चुनावी नारा बनाएका छन्, ‘बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ युवा अपेक्षाअनुसार उनले चुनाव जितेर मेयर भइहाले भने पनि बालेनका सामु चुनौतीका चाङ छन् । किनभने, महानगरका ३२ वडामा दलहरुकै प्रतिनिधि चुनिनेछन् जसले स्वतन्त्र उम्मेदवारका रूपमा जितेर आएको व्यक्तिलाई सोचेअनुसार काम गर्न निकै गाह्रो छ । त्यसैले एउटा स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न निकै नै चुनौती हुने विश्लेषण छ तिवारीको पनि ।

‘दलको समर्थनमा त्यतिका बहुमत लिएर जितेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत अप्ठेरो संयन्त्रका कारण आफू चाहेजति काम गर्न असफल भएको खुलासा पुस्तकै लेखेर गरेका छन्,’ उनी भन्छन्, ‘दलहरुको ओलीगार्की (सानो समूहको सधैं हालिमुहाली हुने कुलीनतन्त्र) ले काम गर्न निकै गाह्रो पार्छ ।’

प्रकाशित : वैशाख २७, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?