कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता धम्क्यायो भनेर मेरो भनाइलाई गलत अर्थ लगाइयो : दाहाल

'यो गठबन्धनको विरुद्धमा राजावादी, गणतन्त्र विरोधीहरुको अर्को गठबन्धन जो आएको छ त्यसलाई परास्त गर्न आवश्यक छ’ 
दीपक परियार

पोखरा — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा सत्ता गठबन्धनले नजिते राजनीतिक दुर्घटनाको खतरा छ भन्ने आफ्नो भनाइलाई गलत अर्थ लगाइएको बताएका छन् ।

जनता धम्क्यायो भनेर मेरो भनाइलाई गलत अर्थ लगाइयो : दाहाल

आइतबार पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उनले गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताए ।

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानको विरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्ने सन्दर्भमा जन्मेको हो गठबन्धन । यो गठबन्धनको विरुद्धमा राजावादी, गणतन्त्र विरोधीहरुको अर्को गठबन्धन जो आएको छ त्यसलाई परास्त गर्न आवश्यक छ,’ उनले भने, ‘अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपिल गर्दै गर्दा कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ ।’

गठबन्धनले पाँच दललाई नै फाइदा पुर्‍याएको उनको भनाइ थियो । ‘गठबन्धन एकातिर विचार, राजनीति, मुद्दामा एकता, संविधान, गणतन्त्र, संघीयताको रक्षामा एकता, अर्कोतिर सबैलाई फाइदा,’ उनले भने, ‘यो गठबन्धनबाट ५० प्रतिशत नेपाली कांग्रेसलाई फाइदा, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी, जनमोर्चा सबैलाई फाइदा हुने भएकोले हुने हो गठबन्धन । एकातिर मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भयो भने गठबन्धन अगाडि जान्छ ।’

देशमा गठबन्धनको संयुक्त सरकारको तरिकाबाट मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सम्भावना रहेको उनले उल्लेख गरे । ‘यो गठबन्धन जन्मिने दिनदेखि नै प्रतिक्रियावादी र अवसरवादीको लगातारको कोसिस यो गठबन्धनलाई टुटाउने, यसलाई अगाडि बढ्न नदिने रुपमा देखापर्‍यो, परिरहेकै छ,’ उनले भने, ‘अहिलेको निर्वाचनमा पनि संविधान, राष्ट्र र गणतन्त्रको रक्षाको निम्ति अगाडि बढेको यो गठबन्धनलाई कुनै न कुनै रुपमा विभाजित गर्ने षड्यन्त्र चलिनै राखेको छ । स्थानीय निर्वाचनको तहमा मात्रै होइन भोलि प्रदेश र संघीय निर्वाचनसम्म पनि गठबन्धनलाई लैजानुपर्छ ।’

प्रकाशित : वैशाख २५, २०७९ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?