कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

माओवादी केन्द्रको गुठिचौर घोषणापत्र : डाक्टर, पाइलट र इन्जिनियरका लागि छात्रवृत्ति

डीबी बुढा

जुम्ला — नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै डाक्टर, पाइलट र इन्जिनियर उत्पादनका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ । पार्टी कार्यालय झारज्वालामा पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि डाक्टर उत्पादनमा जोड दिने, हवाई क्षेत्रमा प्रतिनिधित्वका लागि पाइलट र भौतिक पूर्वाधार निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्न इन्जिनियरमा छात्रवृत्ति प्रदान गर्ने घोषणा पत्र सार्वजनिक गरेको हो । 

माओवादी केन्द्रको गुठिचौर घोषणापत्र : डाक्टर, पाइलट र इन्जिनियरका लागि छात्रवृत्ति

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढाले गुठिचौरको विद्यालय शिक्षा निःशुल्क गर्ने, हरेक माध्यमिक विद्यालयमा एक नर्स कार्यक्रम चलाउने र १५ वर्षमा टोलटोलमा डाक्टर उत्पादन गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

घोषणापत्रमा गाउँपालिकालाई दुई वर्षमा पूर्ण साक्षर बनाइनेसमेत उल्लेख छ । सरकारी सेवामा छिर्नका लागि लोकसेवा अध्ययन गर्न जेहेन्दार विद्यार्थीलाई अनुदान दिइने, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा डाक्टर, पाइलट र इन्जिनियरमा छात्रवृत्ति दिने, गुठिचौरमा १५ शय्याको अस्पताल निर्माण गर्ने र गुठिचौर बहुउद्देश्यीय परियोजनालाई मूर्त रुप दिने गरी घोषणापत्र तयार पारिएको गुठिचौर गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष लालबहादुर रावलले जानकारी दिए ।

प्रतिबद्धतापत्रमा गुठिचौर गाउँपालिकाको धिताचौरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पसहरू स्थापना गर्ने, बहुप्राविधिक शिक्षालयको स्थापना गर्ने र प्रत्येक ६/६ महिनामा नियमित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने समेटिएको छ ।

गुठिचौरका भवन मौलिक, भूकम्प प्रतिरोधी, अपाङ्ग तथा पर्यावरणमैत्री बनाउने, नमूना सहर र बस्ती विकासको गुरुयोजना तयार गर्ने, आन्तरिक सडकहरू आरसीसी तथा ढल निकास गर्ने जनाइएको छ ।

सिमाचौरमा गाउँपालिका स्तरीय रंगशाला निर्माण गर्ने, एक वडा एक खेलकुद मैदान स्थापना गर्ने, ३ महिनामा उज्यालो गाउँपालिका घोषणा गर्ने, सार्वजनिक यातायात सञ्चालन गरेर सवारीयात्रालाई सहज बनाउने, एकल महिला र पुरुषको सामाजिक सुरक्षा भत्ता नियमित गर्ने, सहिद परिवारलाई एक-एक हजार सामाजिक भत्ता उपलब्ध गराउने अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारीले जानकारी दिए ।

कृषिमा एक घर एक बगैंचालाई अनुदान दिइने, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, जडिबुटीको उत्पादन, संरक्षण, प्रवर्द्धन र बजारीकरणमा जोड दिने,जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्नेसमेत घोषणापत्रमा उल्लेख छ । गुठिचौर रेडियोको क्षमता अभिवृद्धि गर्ने, डिजिटल गाउँपालिकामा जोड दिइने, अन्वेषण तथा आविष्कार गर्ने युवालाई अनुदान तथा ऋण उपलब्ध गराइने उल्लेख गरिएको छ ।

नेकपा माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले गुठिचौरको विकास र समृद्धि केन्द्रित घोषणापत्रअनुसार काम अघि बढाउने बताए । गुठिचौरलाई हरेक हिसाबमा अब्बल बनाएर सबैको आकर्षणको केन्द्र बनाउने र कर्णाली प्रदेशको नमूना पालिका बनाउने प्रतिबद्धता जनाए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा हरिबहादुर भण्डारीले अध्यक्षमा जितेका थिए । उपाध्यक्षमा जानदेवी ऐडी विजय भएकी थिइन् । यो निर्वाचनमा पनि हरिबहादुर भण्डारीले राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएका छन् । राजकन्या बुढालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । लिजामा गुठिचौर गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको थियो ।

प्रकाशित : वैशाख २५, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×