तामाङ बस्ती भोट बैंक मात्रै- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तामाङ बस्ती भोट बैंक मात्रै

प्रशान्त माली

ललितपुर — न ढलको व्यवस्था छ, न त सडक बत्ती नै । दक्षिणकाली जाने मल्लकालीन बाटोको भीर उस्तै । कलिलै उमेरदेखि यस्तै अप्ठ्यारो बाटो भएर हरेक दिन घण्टौं हिँडेर खानेपानी ओर्सार्दै आएकी छन् ललितपुर महानगरपालिका–२२ फर्सिडोलकी ७२ वर्षीया ठूली तामाङ ।

ललितपुर महानगरको अधिकांश भाग सहरीकरणतर्फ लम्कँदै गर्दा फर्सिडोलको तामाङ बस्ती अझै पनि विकट छ । २०३३ देखि चुनावमा भाग लिँदै आएको बताउने तामाङले हरेक पटक खानेपानी समस्या समाधान हुने आसमा मतदान गरिन् । जितेर गएकामध्ये कतिपय मन्त्री बने । महानगरमा गाभिएपछि २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसबाट प्रमुख/उपप्रमुख, माओवादी केन्द्रबाट वडाध्यक्ष भए । तर, समस्या भने ज्युँका त्युँ छ । उनी गुनासो गर्छिन्, ‘डाँडाबाट रसाएर आएको पानी जम्मा पारेर खाइरहेको छु । चुनावभरि यो गर्छौं, त्यो ल्याइदिन्छौं भन्छन्, जितेर गएपछि फर्केर आउँदैनन् ।’

...

फर्सिडोलकी ५९ वर्षीया देवी वाइबाको घर डाँडाको बीचमा पर्छ । भूकम्पले नजिकैको मुहानको पानीमा लेउ जम्ने समस्या भयो । अहिले घण्टौं हिँडेर खानेपानी संस्थानले बोरिङ गरेको ठाउँबाट पानी ल्याउनुपर्ने बाध्यता छ । उनले पनि खानेपानीकोआशामा धेरै नेतालाई भोट दिइन् । तर, अहिलेसम्म पूरा नभएको गुनासो गर्छिन् । ‘चुनावको समयमा भोजभतेर गरेर आश्वासन बाँड्छन्, हामी भोट हाल्छौं । चुनाव जितेपछि बेवास्ता गर्छन्,’ उनले भनिन् । गएको चुनावमा आफूलाई मनपर्ने पार्टीलाई भोट हाले पनि यसपटक विकासप्रेमीलाई चुन्ने उनले बताइन् ।

...

फर्सिडोलकै ५८ वर्षीय देवराज लामाको समस्या पनि उस्तै छ । पानीकै लागि आधा राति नै उठेर मुहानमा जानुपर्ने उनी बताउँछन् । नेताहरूले धेरै झुक्याएको भन्दै उनले पनि यसपटक हाम्रोभन्दा पनि राम्रो लाई जिताउने योजना रहेको बताए ।

...

प्रायःले ललितपुर महानगर भन्नेबित्तिकै लगनखेल, जावलाखेल, पुल्चोक, कुपन्डोल र पाटन दरबार क्षेत्र सम्झने गर्छन् । तर, बुङ्मती बस्तीबाट दक्षिण भेगमा पर्ने फर्सिडोल महानगरअन्तर्गत परे पनि विकासमा कसैको ध्यान जान सकेको छैन । २०७३ मा सुनाकोठी, हरिसिद्धि, धापाखेल, बुङ्मती र खोकना गाभेर महानगर बनाइएको थियो ।

महानगरको एक मात्र तामाङ बस्तीका ८० घरधुरीका बासिन्दाले दशकौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अन्य ठाउँमा जस्तै यहाँ पनि चुनाव रौनक छाएको छ । भूकम्पले लडेका घरमा जस्ताले छाएको स–साना झुपडीमा छन् । बस्तीमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र अन्य दलका झन्डा टाँगिएको देखिन्छ । पार्टीका आ–आफ्ना सम्पर्क कार्यालय छन् ।

प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणा/प्रतिबद्धतापत्रमा खानेपानी समस्या समाधान गर्ने उल्लेख गरे पनि पिछडिएको विपन्न बस्ती लक्षित ठोस योजना न गठबन्धनले अघि सारेको छ न त एमाले र अन्य पार्टीले नै । कांग्रेसबाट महानगर प्रमुखका प्रत्याशी चिरीबाबु महर्जनको प्रतिबद्धतापत्रमा मकवानपुरको सिस्नेरी खोलाको पानी महानगर ल्याउने योजना छ । यसबाहेक प्र्रत्येक वडामा चिकित्सकसहितको क्लिनिक सञ्चालन, प्लास्टिकको झोलामुक्त सहर, कोर क्षेत्रमा विद्युतीय गाडी सञ्चालन, लगनखेलदेखि शंखमूलसम्म ढल बिछ्याउने, सिटी हल, आधुनिक पार्किङजस्ता योजना ल्याए पनि विपन्न वर्गलाई भने समेट्न सकेको देखिँदैन ।

‘मेलम्ची खानेपानी नपुगेको स्थानमा डिप ट्युवेल खनेर भए पनि पानी खुवाउँछु । महानगरको २९ वटै वडाका सडक डेढ इन्च मोटो कालोपत्र गर्नेछु,’ महर्जनले भने । उनले चक्रपथबाहिरका साबिकका गाविसमा सडकबत्ती राख्न ठेकेदारले सर्भे गरिरहेको बताए । ‘चक्रपथबाहिरका बस्तीको विकासका लागि अन्य वडाको तुलनामा थप बजेट पनि विनियोजन गरेको छु,’ उनले भने । एमालेको घोषणापत्रमा पनि सहरी गरिबलाई विद्युत् र खानेपानीको पहुँच सुनिश्चित गरिने भनिएको छ । बेरुजु फर्छ्यौट, भष्टाचार शून्यमा झार्ने, विद्युतीय सूचना प्रणाली अवलम्बन, उपभोक्ता हित संरक्षण, कालाबजारी, नाफाखोर प्रवृत्तिलाई निरुत्साहित, भाषा, कला, संस्कृति विकास, हरियाली प्रवर्द्धनजस्ता महत्त्वाकांक्षी योजना छन् ।

एमालेबाट महानगर प्रमुखका प्रत्याशी हरिकृष्ण व्यञ्जनकारले चक्रपथबाहिरका बस्तीमा आधुनिक कृषि प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने बताए । ‘कृषकलाई अनुदानका सामग्री वितरण गरी घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गर्छु,’ उनले भने । राप्रपाले भने कृषि र पशुसम्बन्धी योजना प्राथमिकतामा राखेको छ । कृषि उद्योगमा रोजगारी प्रवर्द्धन, चिस्यान केन्द्र, एक वडा एक उत्पादन, सुपथ मूल्यमा कृषि मल र औजार अनुदान वितरणजस्ता योजना छन् । विवेकशील साझाले भ्रष्टाचार नियन्त्रण, सुशासन, विद्युतीय यातायात, कला संस्कृति जर्गेना, खुला क्षेत्रको संरक्षण लगायत योजना ल्याएको छ ।

राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले आफूले जितेमा घरेलु उद्योग स्थापना गर्नेलाई १० वर्षसम्म कर छुट दिने बताए । उनले तामाङ बस्तीको खानेपानी समस्या समाधान गर्न दक्षिणकाली शेषनारायणबाट पानी ल्याउने बताए । विवेकशील साझाका उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले सम्बन्धित ठाउँको समस्याबारे अध्ययन गरेर समाधान गरिने जनाए । तर, ‘चोहो’ गुठी अध्यक्ष चन्द्रबहादुर तामाङ चुनावका बेला बाँडेको आश्वासनलाई भोटको राजनीतिको संज्ञा दिन्छन् । ‘हरेक चुनावमा राजनीतिक दलका नेता–कार्यकर्ताले खानेपानी समस्या समाधान र सडकलगायत पूर्वाधार विकास गर्ने भन्दै भोट माग्छन् । जितेपछि नाकमुख नै देख्न नपाउने भएपछि नेताप्रति विश्वास लाग्न छोड्यो,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

जो कहिल्यै हारेनन्

२०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक वडाध्यक्ष निर्वाचित नरसिंह व्यञ्जनकार फेरि चुनावी मैदानमा
प्रशान्त माली

ललितपुर — टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक वडाध्यक्ष जितिसकेका उनले यसपालि पनि स्थानीय तह निर्वाचनमा वडाध्यक्षकै लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

‘प्रत्येक चुनावमा राजनीतिक दलहरूले टिकट लिन आग्रह गर्छन्, पार्टीबाट उठेपछि दोहोरो मार पर्छ,’ ललितपुर महानगरपालिका–१० का निवर्तमान वडाध्यक्ष व्यञ्जनकार भन्छन्, ‘वडाध्यक्ष भनेको जनताको सेवा गर्नु हो । पार्टीको टिकट लिएपछि जनताको मात्र सेवा गरेर पुग्दैन, नेताको पनि चाकरी गर्नुपर्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’ पार्टीबाट चुनाव जित्दा आफ्नो हक अधिकार नेताको स्वार्थमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

२०४९ मा कांग्रेसले टिकट दिँदा उनी निर्विरोध नै चुनिएका थिए । यतिका वर्षसम्म मतदाताले निरन्तर रुचाइरहनुमा उनी भ्रष्टाचार र जनताको काममा ढिलासुस्ती नगर्नुलाई प्रमुख कारण ठान्छन् । जनतालाई दिएको सुख सम्झेर भोट पाउने गरेको उनले सुनाए । ‘वडा कार्यालय राजनीति गर्ने ठूलो होइन, जनताको सेवा गर्ने ठाउँ हो,’ ८१ वर्षीय व्यञ्जनकारले भने, ‘सामाजिक काम गर्ने धोको पूरा भएको छैन ।’

२०७४ को स्थानीय चुनावमा व्यञ्जनकारले प्रतिस्पर्धी कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोटले हराएका थिए । व्यञ्जनकारले ६ सय ९१ मत ल्याए भने कर्मलालले ५ सय ९४ र एमालेका कुलबहादुर आचार्यले १ सय ८७ मात्र पाए ।

व्यञ्जनकार पहिलो पटक २०२९ मा ललितपुर नगरपालिका–१ बाट वडाध्यक्ष बने । उक्त चुनावमा देवेन्द्रलाल अमात्यलाई उनले ४ सय २२ मतको अन्तरले हराएका थिए । चुनाव जितेपछि उनको ध्यान जनतालाई सेवा सुविधा दिनेमै केन्द्रित रह्यो । त्यसबाट उनलाई विश्वास जित्न सहज भयो । पञ्चायत कालमा गाउँ फर्क राष्ट्रिय अभियान लागू भएपछि २०३४ मा उनी नै

वडाध्यक्ष छानिए । २०३६ मा जनमत संग्रहको घोषणा भएपछि राजीनामा दिएर बहुदल ल्याउन आन्दोलनमा होमिए । २०३९ मा भएको स्थानीय निकायको चुनावमा पुनः निर्विरोध भए । २०४० मा नगरपालिका भवन बनाउने विषयमा तत्कालीन प्रधानपञ्चसँग विवाद भएपछि उनले राजीनामा दिए ।

२०४१ मा भएको उपचुनाव र २०४३ मा पुनः निर्विरोध भए । पञ्चायत ढलेर प्रजातन्त्रको पुनर्बहाली भएपछि २०४९ सालको पहिलो स्थानीय चुनावमा उनलाई कांग्रेसले टिकट दियो । फेरि पनि उनका विरुद्ध उम्मेदवारी दिने आँट कसैले गरेन र निर्विरोध भए । २०५४ र २०७४ को स्थानीय निकायको चुनावमा पनि उनी स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित भए ।

व्यञ्जनकारको सरल र सहयोगी व्यवहारले उनलाई निर्वाचित गराउन सहयोग गरेको स्थानीय मतदाताहरूको बुझाइ छ । ‘निर्वाचित भएर गएकाहरू प्रायः हाकिमको व्यवहार गर्छन्, उनी भने जनताको नोकर बनेर काम गर्छन्, गरिबको उद्धार गर्छन्,’ कुपन्डोलका ७३ वर्षीया ज्ञानु विष्ट भन्छिन्, ‘मेरै छोरा प्रतिद्वन्द्वीमा उठे पनि भोट उनलाई नै दिन्छु ।’

वैशाख ३० को स्थानीय चुनावमा व्यञ्जनकारको प्रतिस्पर्धामा कांग्रेसबाट उनकै भतिज रवीन व्यञ्जनकार, माओवादी केन्द्रबाट रघु दुलाल र राप्रपाबाट वीरबहादुर तामाङले उम्मेदवारी दिएका छन् । एमालेबाट भने उम्मेदवारी परेको छैन । ललितपुर महानगर–१० मा २ हजार ७ सय ६६ जना मतदाता छन् ।

प्रकाशित : वैशाख १४, २०७९ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×