सधैं उम्मेदवारी !- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

सधैं उम्मेदवारी !

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा धुलाबारीका भरोसा दास पौडेल (भगवान भरोसा), नगरमा हुने कुनै पनि संघसंस्थाको चुनावमा उम्मेदवारी दिन छुटाउँदैनन् । धेरैमा पराजित हुन्छन् । तर पनि हरेस खाँदैनन् । २०५४ देखि निरन्तर चुनावीमा होमिँदै आएका नेकपा मालेका पौडेलले यस पटक मेचीनगरको प्रमुखमा उम्मेदवारी दिएका छन् । 

२०५४ को स्थानीय निर्वाचनमा रवीन कोइरालाले मेचीनगरको प्रमुख जित्दा उनी नगर परिषद् सदस्यमा मनोनीत भएका थिए । २०७४ मा प्रदेश सदस्यमा उम्मेदवारी दिएका उनी चौथो भएका थिए । ‘अहिलेसम्म ७/८ पटक उम्मेदवार भइसकें’, भन्छन्, ‘हार, जित भइरहन्छ मलाई त्यसले असर गर्दैन ।’ नजिते पनि निरन्तर चुनावीमा होमिइरहने उनी बताउँछन् । अन्य दलका उम्मेदवार दलबलसहित रंगीन चुनावी प्रचारमा व्यस्त छन्, गाडीको लावालस्कर छ । उनी भने छोरा जनार्दनसँग पैदलै घरदैलोमा छन् । बाबु–छोराको एक/एक हातमा हँसिया र तारा अंकित झन्डा छ । अर्कोमा पर्चा ।

मतदातालाई उनी पर्चा थमाउँछन् र आफ्ना एजेन्डा सुनाउँछन् । मूलतः उनी आफूलाई भ्रष्टाचारविरोधी अभियानका अभियन्ता पनि ठान्छन् । ‘मेरो चुनावको मूल मुद्दा नै भ्रष्टाचारविरुद्ध छ’, भोट माग्दै गर्दा काँकडभिट्टा बजारमा भेटिएका उनले भने, ‘नेपाली राजनीतिको क्यान्सर यही भ्रष्टाचार हो, त्यसैलाई निर्मूल गर्ने वाचासहित मत मागिरहेको छु ।’

उम्मेदवारबीच अपारदर्शी खर्च गर्ने होड चलिरहेका बेला उनी थोरै खर्चमा चुनाव प्रचार गरिरहेका छन् । पैदलै हिँड्दा प्रचारप्रसारमा खर्च हुँदैन । ‘चुनावका नाममा फजुल खर्च गर्ने मेरो हैसियत छैन’, भरोसादासले थपे, ‘चुनाव खर्चिलो हुँदा जितेर जानेले भ्रष्टाचार गर्ने निश्चित हुन्छ ।’ कम्युनिस्ट राजनीतिमा सक्रिय उनी जनआन्दोलन ०६२–६३ का घाइते पनि हुन् । वैशाख ६ मा चन्द्रगढीमा भएको विरोध प्रदर्शनमा दुई जना सहिद बन्दा धेरै आन्दोलनकारीसँगै उनी गोली लागेर ढलेका थिए । नगर प्रमुखमा विजयी भएमा जनप्रतिनिधि एवं कर्मचारीको मिलेमतोमा फस्टाएको भ्रष्टाचार र बेथिति पूर्ण रूपमा निर्मूल पार्ने उनको लक्ष्य छ ।

प्रकाशित : वैशाख २३, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धनविरुद्ध बागी उम्मेदवार कायमै

विराटनगरमा पनि चुनावी तालमेल सकसमा
विनोद भण्डारी

विराटनगर — सत्ता गठबन्धन दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीकै नेताले प्रमुख–उपप्रमुखमा बागी उम्मेदवारी दिएपछि विराटनगरको चुनावी तालमेल सकसमा परेको छ । 

चुनावी गठबन्धन र तालमेलमा चिसोपन आएको छ । यसको फाइदा एमालेलाई पुग्ने देखिएको छ । जसपाबाट प्रमुखमा उमेश यादव र उपप्रमुखमा माओवादी केन्द्रबाट महानगर कमिटी सचिव नमिता न्यौपाने उठेकी छन् । अघिल्लो निर्वाचनमा पनि जसपा र माओवादी केन्द्रबीच तालमेल हुँदा यादव प्रमुख र न्यौपाने उपप्रमुखकी उम्मेदवार थिइन् । यादवले १४ हजार ९ सय ५८ र न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएका थिए ।

सत्ता गठबन्धनले कांग्रेसलाई प्रमुख र जसपालाई उपप्रमुख भागबन्डा गरेर १९ वटै वडामा एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र छन् । बागीले चुनावी तालमेल प्रभावित भएपछि गठबन्धनका केन्द्र र जिल्लास्तरका नेताको दौडधुप बढेको छ । कांग्रेस नेता शेखर कोइरालाले माओवादीका विराटनगर सहइन्चार्ज भोगेन्द्र यादव र अध्यक्ष नवीन पौडेललाई निवासमा बोलाएर गठबन्धनलाई निःस्वार्थ सहयोग गर्न आग्रह गरेका छन् । कोइराला उम्मेदवारी मनोनयन अगाडि चुनावी तालमेलको विपक्षमा थिए । जसपाले उमेशलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बागी उम्मेदवारले चुनावी तालमेलमा प्रभाव परे पनि खासै ठूलो क्षति नहुने दाबी गरेका छन् । कांग्रेसको अहमताका कारण गठबन्धनका अरू दलका नेताले बागी उम्मेदवारी दिएको यादवको बुझाइ छ । ‘वडा तहमा पनि तालमेल गरेको भए यस्तो समस्या आउने थिएन,’ उनले भने । तर माओवादी केन्द्रले बागी उम्मेदवार न्यौपानेलाई कारबाही गरेको छैन ।

केन्द्रले प्रदेश १ मा बागी उम्मेदवार दिने र पार्टीको निर्देशन नमान्ने १४ जनालाई गरेको कारबाहीको सूचीमा न्यौपाने परेकी छैनन् । प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले विराटनगर महानगर कमिटीले नमितालाई कारबाहीको माग नै नगरेको बताए ।

कांग्रेसको अहमताका कारण नमिताले बागी उम्मेदवार दिएको र उनी असन्तुष्ट माओवादी मतदाताका आधिकारिक उम्मेदवार पनि भएको उनले बताए । ‘विराटनगरमा कांग्रेस र जसपाले उम्मेदवारी मनोनयन गर्ने समयसम्म माओवादीको आवश्यकता नै ठानेन,’ उप्रेतीले भने, ‘नेता शेखरले गठबन्धन नै चाहेनन् ।’ उनका अनुसार मतदानका दिन माओवादीका कार्यकर्ताले गठबन्धन मै मतदान गर्नुपर्छ भन्ने बाध्यता विराटनगरको हकमा छैन ।

अघिल्लो निर्वाचनमा माओवादीले जितेको वडामा समेत कांग्रेसले सहयोग नगरेको उप्रेतीको गुनासो छ । महानगरको वडा ६ माओवादीले जितेको थियो । कांग्रेसको आन्तरिक किचलो तथा गठबन्धन दलका बागी उम्मेदवारले गर्दा बिग्रेको तालमेल र खटपटको फाइदा एमालेलाई हुने जिल्ला उपाध्यक्ष बाबुराम कार्कीको बुझाइ छ ।

प्रकाशित : वैशाख २३, २०७९ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×