कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

नयाँ मतदाता भन्छन्, ‘सृजनशील नेतृत्व आओस्’

अबको नेता परम्परावादी नभई ऊर्जावान् होस् भन्ने चाहना  शिक्षा
स्वास्थ्य र अवसरयुक्त गाउँ बनाऊन् 

पोखरा — यस पटकको स्थानीय तहको निर्वाचनमा केही मतदाता नयाँ अनुहारका छन । पहिलो पटक मतदानमा सहभागी हुन लागेका युवाले स्थानीय तहको चुनाव सफल भए देश विकसित हुने र रोजगारीको अवसर सिर्जना हुने आशा गरेका छन् । उम्मेदवारको समाजसेवामा सक्रियता हेरेर भोट दिने पक्षमा उनीहरू छन् । 

नयाँ मतदाता भन्छन्, ‘सृजनशील नेतृत्व आओस्’

स्नातकोत्तर अन्तिम वर्षको परीक्षा तयारी गरेकी पर्वतको कुश्मा नगरपालिका–८ की २१ वर्षीया पूजा गिरी पहिलो पटक मतदानमा सहभागी हुँदै छिन् । गिरीलाई अबको उच्च शिक्षा र त्यसपछि दीर्घकालीन जीविकोपार्जनको स्रोतको चिन्ता छ । उनी चाहन्छिन्, ‘नगरभित्रै रोजेको विषय पढ्न पाइयोस्, सुविधासम्पन्न र विशेषज्ञसहितको अस्पताल होस्, घरमै आयआर्जनको स्रोत होस्, दक्षताअनुसारको रोजगारी पाइयोस् ।’ यस्तै चाहना पैयुं–७ की २० वर्षीया कल्पना बस्यालको पनि छ । उनी पढ्नका लागि पोखरा बस्न थालेको ३ वर्ष भयो । मासिक १५ देखि २० हजार खर्च हुन्छ । गाउँमै क्याम्पस, सडक र कृषि उपजको सहज बजारीकरण हुन सके वार्षिक २ लाख बढी रकमको आर्थिक भार कम हुने उनको अपेक्षा छ । गिरी र बस्यालजस्तै नयाँ मदताताको संख्या पर्वतमा २३ हजार २ सय ५७ छ । यी मतदातामध्ये ९५ प्रतिशतभन्दा धेरै नयाँ हुन् । नयाँ सबैजसो मतदाता विश्वविद्यालय तहका विद्यार्थी हुन् । विश्वविद्यालय तहको पढाइका क्रममा युवायुवतीलाई एकैपटक आइपर्ने चिन्ता र समस्या समाधानमा स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गरिदियोस् भन्ने सबैको चाहना छ ।

‘हामीले भविष्यको गोरेटो कोर्ने भनेकै यही समय हो,’ फलेबासकी उर्मिला पौडेलले भनिन्, ‘समस्यामा साथ दिने जनप्रतिनिधि र युवाको समस्या समाधान गर्ने भिजन भएको नेतृत्व हुनुपर्छ ।’ युवा अवस्थामा हरेक कुराको महत्त्वाकांक्षा धेरै हुने र भविष्य निर्माणको जगसमेत यही उमेरमा बसाल्नुपर्ने भएकोले ती अनेक समस्याको समाधान घरदैलाकै सरकारले गरिदियोस् भन्ने चाहना भएको बिहादीका दिलीप पौडेल बताउँछन् ।

अधिकांश युवा मतदाताले घरदैलामै भएको सरकारले न्यूनतम आवश्यकता, दीर्घकालीन जीविकोपार्जनको स्रोत गाउँमै सहज भएको देख्न चाहन्छन् । कुश्मा–९ का राजीव रिमाल आफ्नो सीप र क्षमता विश्व बजारसम्म पुर्‍याएर घरमै बसीबसी रोजगारी गर्न सक्षम छन् । तर, त्यस्तो अवसरका लागि पनि स्थानीय सरकारले भूमिका खेलिदिनुपर्ने उनको अपेक्षा छ । उनले भने, ‘स्थानीय तहको सरकारले एउटा यस्तो नीति बनाउनुपर्‍यो । हामीले बनाएको वेभ पोर्टल वा एपमार्फत विश्व बजारमा सामान बिक्री गर्न सकियोस् । त्यस्ता कुराको व्यवस्था स्थानीय सरकारले नीतिगत विषयमै समेट्नुपर्छ ।’ त्यसबाहेक बिरामी हुँदा सहज रूपमा विशेषज्ञ सुविधासहितको उपचार, सहज यातायातको अपेक्षा युवाको छ ।

म्याग्दीमा १३ हजार ४ सय ६३ जनाले पहिलो पटक मतदान गर्दै छन् । थपिएको प्रायः सवै २४ वर्षमुनिका छन् । उच्च शिक्षाका लागि सहर झरेकोले हामी नेतालाई खासै चिन्दैनौं । तर युवापुस्ताले पालिकाको नेतृत्व पढलेखा, गाउँको भविष्य देख्न सक्ने र खाका कोर्न सक्ने होस् भन्ने चाहन्छौं,’ अन्नपूर्ण गाउँपालिका–८ राम्चेकी शान्ति पुनले भनिन्, ‘अबको नेता परम्परावादी नहोस्, युवाका कुरा सुन्ने, पारदर्शी, सिर्जनशील र ऊर्जावान् होऊन् ।’

उनीमात्र नभई नयाँ मतदाताको चाहना आगामी पालिकाको नेतृत्व सृजनशील, भिजनरी र ऊर्जावान् होस् भन्नेछ । रघुगंगा गाउँपालिका अध्यक्षका प्रत्यासी सागर भण्डारी भन्छन्, ‘मतदाताको दैलोमा पुग्दा दिगो विकास योजना र सिर्जनशील नेतृत्व चाहेको भेटेको छु । मतदाता भरोसायोग्य युवाको खोजीमा छन् ।’ अबको स्थानीय सरकारको नेतृत्वले दिगो विकास र रोगजार तथा अवसरको सृजना गर्ने क्षेत्रमा काम गर्नुपर्ने मालिका गाउँपालिका–३ की लक्ष्मी पौडेलले बताइन् । ‘सहरबाट गाउँमा फर्केर केही उद्यम, व्यवसाय गर्छु भन्ने युवा निराश भई बिदेसिन नपरोस्,’ उनले भनिन्, ‘पालिकामा सवै युवा उम्मेदवार छन् । तर उमेर युवा भए पनि व्यवहार र कार्यशैली भने पुरानै ढर्राको नहोस् भन्ने चाहन्छु ।’

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकका २४ वर्षीय सिर्जन गुरुङ यस पटक पहिलोपल्ट मतदानमा सहभागी बन्दै छन् । निर्वाचनको घोषणा भएदेखि नै पहिलोपल्ट भोट हाल्न पाउने हुटुहुटीले आतुर बनाएको उनले बताए । वैशाख ३० को निर्वाचनमा गाउँ विकासको एजेन्डा बुझेर मतदान गर्ने सोच रहेको उनले बताए । ‘सबै गाउँ ठाउँको दाइदिदी हुनुहुन्छ, सबैको चिनेको भएर सबैले मत माग्नुभएको छ, कसलाई भोट हालौँ हुँदो रहेछ,’ उनले भने, ‘गाउँको विकासमा खटिने गाउँमै बस्ने उम्मेदवार रोज्ने हो ।’ सिर्जनलाई स्थानीय भाषामा उम्मेदवारले रिझाउने प्रयासमा पनि छन् । तर पार्टी नहेरी गाउँ विकासमा ध्यान दिने उम्मेदवार चयन आफ्नो प्राथमिकता रहेको गुरुङले बताए । ‘मेरो अमूल्य मत सही ठाउँमा जाओस्, भन्ने चाहन्छु,’ उनले भने । नयाँ मतदाता आरुघाट गाउँपालिका–९ की सञ्जु श्रेष्ठ पनि व्यक्ति हेरेर मतदान गर्ने सोचमा छिन् । ‘पार्टीकै उम्मेदवार भए पनि कसले गाउँको विकास गर्न सक्छ बुझ्न सक्छौँ,’ उनले भनिन् ।

तनहुँमा स्थानीय तहको निर्वाचनमा कार्यकारी पदमा उम्मेदवारी दिएकाहरू विभिन्न गहकिला तथा महत्त्वाकांक्षी चुनावी एजेन्डा दिएर घरदैलोमा व्यस्त देखिन्छन् । विकास निर्माण र सेवासुविधाको आशा देखाएर भोट फकाउने काम पनि भइरहेको छ । तर, युवा भने नेताका गहकिला योजनाभन्दा पनि युवा तथा सूचनामैत्री नेतृत्वको आवश्यकता रहेको बताउँछन् । अबको जनप्रतिनिधि युवा तथा सूचनामैत्री हुन् भन्ने चाहेको व्यास नगरपालिका–१ का २० वर्षीय मुकेश विकले बताए । उनले भने, ‘अब आउने जनप्रतिनिधिले युवाको समस्य बुझ्ने मात्र होइन त्यसको समाधानमा पनि सहयोग पुर्‍याउने हुनुपर्छ ।’ उनी पनि पहिलो पटक मतदानमा सहभागी हुँदै छन् । जुन उम्मेदवारले पालिकाको विकास सँगसँगै युवाका विषय, सुशासन र युवालाई सूचनासँग प्रत्यक्ष जोड्ने प्रतिबद्धता गर्छ उसैलाई मतदान गर्ने सोचमा उनी छन् ।

शुक्लागण्डकी नगरपालिका–४ की २० वर्षीया सुविना थापा मगरले पनि अबको नेतृत्वले कुन उमेर समूहलाई के आवश्यकता छ भन्ने बुझेर त्यसको पहिचन गरी समग्र नगरवासीलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् । शिक्षा, स्वास्थ्य, कृषिलगायत विषयलाई उम्मेदवारहरूले विशेष प्राथमिकतामा राखे पनि विशेष महत्त्वसाथ यसको विकासको दीर्घकालीन विकासको सोच राखेर अगाडि बढेको नपाइएको व्यास नगरपालिका–५ की २३ वर्षीया अस्मिता अधिकारी बताइन् । उनले भनिन्, ‘शिक्षाकै कुरा गर्ने हो भने आझै पनि यही नगरपालिकाभित्र अधिकांश सरकारी विद्यालयका विद्यार्थीहरू प्राविधिक र सीपमूलक शिक्षाबाट वञ्चित छन्, कुनै विद्यालयमा कक्षा ८ सम्म मात्र पढाइन्छ । पठनपाठन हुने विद्यालयमा पनि प्राविधिक शिक्षाका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षककै अभावले गर्दा पनि गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन् ।’ युवा भाषण, चिल्ला कुरामा नभुल्ने भन्दै उनले काम गरेर देखाउने युवालाई सँगै लिएर दीर्घकालीन विकास निर्माणको कार्य गर्ने जनप्रतिनिधिलाई मतदान गर्ने बताइन् ।

(अगन्धर तिवारी (पर्वत), घनश्याम खड्का (म्याग्दी), हरिराम उप्रेती (गोरखा) र सम्झना रसाइली (तनहुँ)

प्रकाशित : वैशाख २२, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?