कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

‘पितृसत्ता’ को घेराबन्दीमा प्रमुखका महिला उम्मेदवार

पर्वत पोर्तेल

झापा — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले प्रमुखको उम्मेदवार बनाएको छ, गीताकुमारी अधिकारीलाई । उपप्रमुखवाट बढुवा भई प्रमुखमा उम्मेदवार बन्ने मौका त उनले पाइन् । तर, पुरुष उम्मेदवारहरूको घेराबन्दीका कारण उनी सकसमा छिन् । दमक नगरबाट प्रमुखमा उम्मेदवारी दिने गीताकुमारी एक्ली महिला हुन् ।

‘पितृसत्ता’ को घेराबन्दीमा प्रमुखका महिला उम्मेदवार

बाँकी १५ जना विभिन्न दल सम्बद्ध पुरुष उम्मेदवार छन्‚ जसमा पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । गठबन्धनदेखि साना-ठूला दल र स्वतन्त्र उम्मेदवारसम्म उनीविरुद्ध खरो रुपमा मैदानमा उत्रिएका छन् ।

अध्यापन गर्दागर्दै टिकट पाएकी गीताकुमारी २०७४ को निर्वाचनपछि एमाले राजनीतिमा होमिएकी थिइन् । त्यसबेला उपप्रमुखमा सहजै जित हाँसिल गरेकी थिइन् । तर, यो पटक अवस्था अनुकूल छैन । ‘मलाई हराउन १६ जना पुरुष साथीहरू प्रतिस्पर्धामा हुनुहुन्छ,’ उनले सुनाइन्, ‘म घेराबन्दीमा छु, तर पनि मेरो योगदानको कदर मतदाताले गर्नेछन् ।’

अघिल्लो निर्वाचनमा एक महिलालाई गाउँपालिकाको अध्यक्षमा पत्याएको एमालेले यसपटक चार महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ । दमककी गीता कुमारीसहित बिर्तामोडकी पवित्रा महतरा, बुद्धशान्ति गाउँपालिकाकी मीरा भूर्तेल र कचनकवल गाउँपालिकाकी दुर्गादेवी नेपाललाई प्रमुख/अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेस-एमाले तालमेलपछि दुर्गादेवीले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी थिइन् । महिला प्रमुख उठेका तीन पालिकामा एमाले‍विरुद्ध गठबन्धनका पुरुष उम्मेदवार छन्। ‘जित्न गाह्रो हुने पालिकामा मात्रै महिलालाई प्रमुखको टिकट थमाइएको छ,’ एमालेकी एक नेतृले भनिन्, ‘गठबन्धन नभएको र महिलाले जित्न सक्ने धेरै पालिकामा पुरुषलाई उम्मेदवार बनाइएको छ ।’

बिर्तामोडकी पवित्रा महतराविरुद्ध ९/९ जना पुरुष प्रमुख बन्ने दौडमा छन् । बुद्धशान्तिकी भूर्तेलविरुद्ध ६ जना पुरुष छन् । ‘पार्टीले पत्याएर टिकट दिएको छ,’ मीराले भनिन्, ‘अब जनताले कत्तिको माया गर्छन्; त्यो हेर्न बाँकी छ ।’

खासमा झापामा यी तीन महिलालाई यो पटकको निर्वाचनमा विजयी हुनु ‘फलामको च्युरा’ चपाउनुजस्तै गाह्रो हुने अनुमान राजनीतिक विश्लेषकहरूको छ ।

नेपाली कांग्रेसका दुई महिला प्रमुख/अध्यक्षमा उम्मेदवार बनेका छन् । अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर रञ्जिता कार्कीलाई प्रमुखमा उम्मेदवार बनाएका छन् । गठबन्धन दलको रुपमा रहेको एकीकृत समाजवादीले पनि रमा खवासलाई अलग्गै प्रमुखमा उम्मेदवार बनाएको छ । यो नगरमा दुई पुरुष र दुई महिलाबीच प्रतिस्पर्धा हुँदैछ । रमाले गतशुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन् ।

गौरीगञ्ज गाउँपालिकामा भने गठबन्धन दल कांग्रेस-माओवादीले अलग-अलग उम्मेदवार खडा गरेका छन् । कांग्रेसले फूलवती राजवंशीलाई अघि सार्दा माओवादी केन्द्रले मेनुका राजवंशीलाई उठाएको छ । सीके राउतको जनमत पार्टीले कौशिलादेवी महतोलाई उम्मेदवार बनाएको छ । यो गाउँपालिका ३ महिलाविरुद्ध ३ पुरुषको भिडन्त हुदैछ ।

गौरादह नगरपालिकामा राधिका धमलाले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा उनीविरुद्ध १० पुरुषहरू मैदानमा छन् । एमाले, माओवादी, एकीकृत समाजवादीसहित तीन स्वतन्त्र पुरुष उम्मेदवार प्रमुख बन्ने दौडमा छन् ।

मेचीनगर नगरपालिकामा मौलिक जरोकिलो पार्टीकी हिरा बास्तोलाले प्रमुखमा उम्मेदवार दिएकी छन् । उनका प्रतिस्पर्धी ९ जना छन्‚ जसमा दुई जना स्वतन्त्र उम्मेदवार छन् । कन्काई नगरमा जरोकिलो पार्टीकै टंका उप्रेतीले उम्मेदवारी दिएकी छन्‚ जसमा ७ जना ठूलो भनिएका दलका पुरुष उम्मेदवार नै छन् । झापा गाउँपालिकामा मंगोल नेसनल अर्गनाइजेसनकी नेता दुर्गादेवी तामाङले ७ पुरुष उम्मेदवारहरूबीचमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

बाह्रदशी गाउँपालिकामा उन्नत लोकतन्त्र पार्टीबाट उमादेवी विश्वकर्माले ९ पुरुषबीच उम्मेदवारी दिएकी छन् । शिवसताक्षीमा एकीकृत समाजवादीले कोपिला नेउपानेलाई प्रमुखमा उठाएको छ । प्रमुखमा ९ पुरुषसँग यिनले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार जिल्लाका १५ पालिकामध्ये कमल, हल्दीवारी गाउँपालिका र भद्रपुर नगरपालिकाबाहेक अन्य १२ पालिमामा प्रमुख पदमा महिला उम्मेदवारी परेको छ । जिल्लामा १३० जनाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्‚ जसमध्ये १५ जना महिला प्रमुख पदको दौडमा छन् ।

गौरीगञ्ज गाउँपालिकामा तीन तथा अर्जुनधारा नगरपालिकालगायत अन्य पालिकामा एक/एक महिला अध्यक्ष/प्रमुखमा प्रतिस्पर्धा गर्दैछन् । कमजोर जनाधार भएका पार्टीले हरेक पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ । यो दृष्यले ठूला दलहरूभन्दा साना र कमजोर जनाधार भएका दलहरू पो महिलाका हकमा बढी उदार देखिएका छन् । महिला अधिकारकर्मी रीता साहका अनुसार राजनीतिक दलमा पितृसत्तात्मक सोच र संरचना हावी भएका कारण महिलाहरूले यो अवस्था भोग्न बाध्य हुनुपरेको हो । साहले थपिन्, ‘लामो संघर्ष र बलिदानीबाट संविधान परिवर्तन गरे पनि मनोविज्ञान परिवर्तन हुन सकेन‚ जसको परिणति आज हामी भोगिरहेका छौं ।’

प्रकाशित : वैशाख १८, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×