२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

उम्मेदवारलाई थाहै नदिई मनोनयन फिर्ता

आश गुरुङ

लमजुङ — राइनास नगरपालिकामा मध्यराती उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले शुक्रबार साझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोके पनि उपप्रमुखमा उम्मेदवारी दिएका महिला उम्मेदवारको मनोनयन फिर्ता गराउन राती १ बजेसम्म समय लागेको हो ।

उम्मेदवारलाई थाहै नदिई मनोनयन फिर्ता

राइनास नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएका विष्णुमाया न्यौपाने धितालको उम्मेदवारी फिर्ता गराउन कांग्रेस–माओवादीको सिंगो पार्टी सक्रिय भएको थियो ।

उम्मेदवारलाई थाहै नदिई केन्द्रीय कार्यालयबाट उम्मेदवारी फिर्ता गराएको पत्र आएको भन्दै कांग्रेसले राइनासस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता गराएको थियो । कांग्रेस–माओवादी गठबन्धनको घोषणा गर्दै जिल्ला संयन्त्रले माओवादी केन्द्रका पुष्पराज खनाललाई उम्मेदवार बनाएको थियो । पार्टीको टिकटमा राइनास नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी विष्णुमायालाई उम्मेदवारी दर्ता गराउन समेत निर्वाचन अधिकृतको कार्यालयले आनाकानी गरेको थियो । कार्यालयले रुजु गरेर बिहीबार साझ नामावली सार्वजनिक गरेकोमा शनिबार राती उम्मेदवारलाई थाहै नदिई उम्मेदवारी फिर्ता गराएको हो ।

आफू्नो सहमतिबेगर पार्टी नेतृत्वले गठबन्धनका नाममा महिला हिंसा हुनेगरी उम्मेदवारी फिर्ता गराएको विष्णुमायाले बताइन । ‘केन्द्रीय कार्यालयबाट पत्र आएको भनियो । तर पत्र देखाइएन । उपसभापतिमा कांग्रेसको उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमै जान दिइएन’ उनले भनिन्, ‘पार्टीले टिकट दिएको हो । पत्र आएको भनी मलाई भित्र जानै दिइएन । म रुदै फर्किन बाध्य भए ।’ निर्वाचन अधिकृत घनश्याम न्यौपानेले ऐन कानुन अनुसार काम गरेको दावी गरे । ‘मनोनयन फिर्ताको लागि ५ बजे अगाडि आएका निवेदनमाथि कारबाही गरिएको हो’ उनले भने । उनका अनुसार समय तोकिए पनि बाहिरी नाराबाजी भएको र सवै फारमहरु मिलाउादा रातको १२/१ बजेको हो । यहाँ १४ जनाको मनोनयन फिर्ता भएको छ ।

कांग्रेस सभापति डा.टकराज गुरुङले कांग्रेसले उपप्रमुखमा विष्णुमायालाई टिकट दिए पनि केन्द्रीय कार्यालयले साझ टिकट रद्द गरेको पत्र पाएपछि सोही अनुरुप काम गरिएको बताए । ‘उम्मेदवारी फिर्ता गराउन केही समय लाग्यो । म राती ९ बजेतिर फर्किएँ । पत्र ४ बजेर ४३ मिनेटमा आएको हो’ उनले भने । कांग्रेस–माओवादी केन्द्र गठबन्धन भएको र राइनासमा प्रमुख कांग्रेस भएकाले उपप्रमुख माओवादी केन्द्रले दावी गरेअनुरुप सहमित भएको उनले बताए ।

प्रकाशित : वैशाख १७, २०७९ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?