२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

दुधौलीस्थित कांग्रेस सम्पर्क कार्यालय एमाले कार्यकर्ताले तोडफोड गरेको आरोप, ७ घाइते

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा कांग्रेसको प्रचार सम्पर्क कार्यालयमा बिहीबार राति एमालेका कार्यकर्ताले आक्रमण गरेर कार्यालय तथा सवारीसाधन तोडफोड गरेको कांग्रेसले आरोप लगाएको छ ।

दुधौलीस्थित कांग्रेस सम्पर्क कार्यालय एमाले कार्यकर्ताले तोडफोड गरेको आरोप, ७ घाइते

कांग्रेसका उपसभापति दिपक घिमिरेका अनुसार एमालेका कार्यकर्ताले प्रचार काार्यालयमा तोडफोड गरी दुईवटा प्रचारका गाडी र मोटरसाइकलहरुमा क्षती पुर्‍याएका छन् ।

सम्पर्क कार्यालय जोगाउन खोज्दा कांग्रेस कार्यकर्ताहरु कमल भुजेल, रंजित कुँवर, सन्तोष भुजेल, पेसल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएको उपसभापति घिमिरेले जानकारी दिए । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । आक्रमणबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका ना७ ख ७७७० नम्बरको ठूलो टिफर, जीपमा क्षति पुगेको छ ।

राति १२ बजेतिर आक्रमण गरिएको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न कांग्रेसले माग गरेको छ । एमालेको वडाध्यक्षका उम्मेदवार रितेश राउतले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले घटनामा संलग्न भएको आशंका दुईजनालाइ नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको बताए । क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : वैशाख १६, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?