२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रुपन्देहीका ११ पालिका प्रमुख र ९ उपप्रमुखमा पुरानै उम्मेदवार

अमृता अनमोल

बुटवल — एक पटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा देखिएकै छ । यही रोग स्थानीय तहसम्म पुगेको छ । आफूले स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन‚ सिन्को नभाँच्नेसम्मका जनप्रतिनिधि यसपालि पनि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका छन् ।

रुपन्देहीका ११ पालिका प्रमुख र ९ उपप्रमुखमा पुरानै उम्मेदवार

रुपन्देहीका १६ स्थानीय तहमध्ये ११ पालिकाका प्रमुख तथा अध्यक्षले उही पद दोहोर्‍याउन चुनावी प्रतिस्पर्धा गर्दैछन् । ९ वटा पालिका उपप्रमुख तथा उपाध्यक्षले सोही पद दोहोर्‍याउँदै छन् । सत्ता मोह यतिसम्म छ कि ८ स्थानीय तहमा त प्रमुख र उपप्रमुख दुवैले त्यही पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् ।

नगरपालिकातर्फ सैनामैना प्रमुखमा चित्रबहादुर कार्की र उपप्रमुखमा बिना राना दोस्रोपटक पद लिनका लागि चुनावी मैदानमा छन् । उनीहरू दुवै एमालेबाट विजयी भएका थिए । प्रमुखका प्रतिस्पर्धी चित्रबहादुर कार्कीले आफू प्रमुख भएपछि थालिएका कतिपय दीर्घकालीन योजनाहरू पूरा गर्न नपाएकाले तिनलाई पूरा गर्न पुनः नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा गएको बताए । आफ्नो नभई पार्टी र स्थानीय स्वतन्त्र मतदाताको समेत रायमा आफूले उम्मेदवारी दिएको उनले जनाए ।

‘गाउँपालिकाबाट नगरपालिका बन्नासाथ नेतृत्व लिएँ । धेरै अत्यावश्यक र महत्त्वाकांक्षी काम थालें । तर‚ सबै काम ५ वर्षमा पूरा भएन,’ उनले भने, ‘नगरपालिका नमूना बनाउन पुनः यही नेतृत्व चाहिन्छ भन्ने चाहनाअनुसार मतदातामाझ जान लागेको हुँ ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मनमोहन चौधरी र जानकीदेवी श्रीवास्तव सोही पदका लागि चुनावी मैदानमा छन् । यसअघि स्वतन्त्रबाट चुनाव जितेका चौधरी यसपालि लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचनमा होमिँदैछन् । श्रीवास्तव जनता प्रगतिशीलबाट चुनावी मैदानमा छन् । उनीहरू आफूले गरेका राम्रा काममा गति लिन र यसअघि गर्न नसकेका कामलाई पूर्णता दिन पुनः सोही पद दोहोर्‍याएको दाबी गर्दै मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन् ।

देवदह प्रमुखमा हिराबहादुर खत्री र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ त्यही पद दोहार्‍याउन प्रतिस्पर्धामा उत्रिएका छन् । हीराबहादुर कांग्रेस र विद्यालक्ष्मी एमालेका उम्मेदवार हुन् । पहिलो कार्यकाल सिकाइ र अनुभव लिनमा बितेकाले यसपालि त्यही अनुभवअनुसार नगरको विकास गर्न नेतृत्व दोहोर्‍याउन चाहेको प्रमुखका प्रतिस्पर्धी हीराबहादुरले बताए । ‘ऐन‚ कानुन, कर्मचारी र जनप्रतिनिधिको अनुभवको अभावले पनि पहिलो कार्यकालमा सोचेजति काम भएन,’ उनले भने, ‘आफूले प्रमुखमा चुनाव जिते पनि अधिकांश वडामा कांग्रेस आउँदा बहुमतमा काम गर्न सकिएन । यसपालि बहुमतसहित जाने र निर्धक्क काम गर्ने धोको छ ।’

गाउँपालिकातर्फ अध्यक्ष र उपाध्यक्षमा क्रमशः शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरी र शान्ता ज्ञवाली, मर्चवारमा केशवनन्द बानियाँ र सुनिता कलवार, रोहीणीमा सनोज यादव र शिवकान्ती हरिजन‚ मायादेवीमा ध्रुवनारायण चौधरी र तारादेवी यादव एवं सियारीमा अयोध्या थारु र अमृता गुरुङले पद दोहोर्‍याउनका लागि मतदातासामु मत माग्दै छन् । प्रमुखतर्फ कोटहिमाई गाउँपालिकामा चन्द्रभूषण यादव, सम्मरीमाईमा जितेन्द्रनाथ शुक्ला र गैडहवामा बच्चुलाल केवट नयाँ उपाध्यक्षका लागि चुनावी प्रतिस्पर्धा गर्दै छन् । उपप्रमुखतर्फ नयाँ प्रमुखका साथमा तिलोत्तमा नगरपालिकाकी जगेश्वरीदेवी चौधरीले सोही पदमा चुनाव लड्दैछिन् ।

राप्रपाबाट उपाध्यक्षमा चुनाव जितेकी शिवकान्ती हरिजनले स्थानीय तहबारे बल्ल सिकेकाले फेरि काम गर्ने इच्छासहित चुनावमा गएको बताइन् । ‘उपाध्यक्षले कसरी बोल्ने, के बोल्ने‚ के काम गर्ने बल्ल सिक्दैछु,’ उनले भनिन्, ‘त्यसैले काम गरेर देखाउन फेरि उपाध्यक्ष बन्न लागेकी हुँ ।’

नागरिकको ढोका अगाडिको पहिलो सरकार मानिने स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधिले नागरिकका गुनासा र सुझाव प्रत्यक्ष लिन र सुन्न सक्छन् । स-साना काम पनि मन लगाएर गरे भने नागरिकको मन जित्न र परिवर्तनको अनुभूति दिलाउन सक्छन् । एक कार्यकाल बिताएका जनप्रतिनिधिहरू आफ्नो दललाई प्रभाव पारेर सोही पदमा दोहोरिन चुनावमा गए पनि राम्रो काम गर्नेलाई जिताउने र नराम्रोलाई पन्छाउने अधिकार भने नागरिकसँग मात्रै रहेको विश्लेषक विमलबहादुर शाक्यले बताए । उनले भने, ‘राम्रो भिजन भएका कतिपय प्रतिनिधि नागरिककै चाहनामा उठेका होलान् । उनीहरू आउलान् । तर‚ पदको लोभमा मात्रै उठ्ने जनताको मतबाटै बाहिरिनेछन् ।’

प्रकाशित : वैशाख १४, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?