कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

‘हामी दलित अब सधैं भोट बैंक हुन सक्दैनौं’

डीबी बुढा

जुम्ला — आउ जन्ताउ भोट हालौँ भुन्ना घरघर जुनाउना ।
नेता हुना माथि जाना आफ्नो घर बुनाउना ॥ 
जुम्ला चन्दननाथ नगरपालिका १ तलिचौर दलित बस्तीकी कालिका कामीले गीतबाटै आफ्नो दुखेसो पोखिन् । उनले स्थानीय सरकार घरदैलोमा आइपुगे पनि दलित बस्तीको समस्या हट्न नसकेको सुनाइन् । ‘गाउँमा देखिएको समस्या उस्तै छन्,’ उनले भनिन्, ‘व्यवस्था बदलियो । अवस्था बदलिन सकेन । व्यवस्था ल्याउनका लागि संघर्षमा होमियौं । तर‚ दलित बस्तीको अवस्थामा सुधार आउन सकेन ।’  

‘हामी दलित अब सधैं भोट बैंक हुन सक्दैनौं’

चन्दननाथ नगरपालिकाको कार्यालयबाट यो बस्तीमा पुग्न १५ मिनेट लाग्छ । नजिकै जुम्ला विमानस्थल छ । नेतादेखि कार्यकर्तासम्म, स्थानीय सरकारका प्रतिनिधिदेखि मन्त्री-सांसदसम्म यो बस्तीनजिकैबाट आउजाउ गर्छन् । तर‚ यो बस्तीको अवस्था बदलिएको छैन ।

शिक्षा, स्वास्थ्य र रोजगारीको कुनै पनि अवसर दलित बस्तीमा आइपुग्दैन । कालिकाले भनिन्, ‘सरकार कसका लागि के गर्न आइपुगेको हो; त्यो पनि थाहा छैन । निर्वाचनमा मतदान गर्छौं । प्रतिनिधि बनाएर पठाउँछौं । न प्रतिनिधि आउँछन् न त प्रतिनिधिले विकास पठाउँछन् । दैलोको सरकारले गर्ने कामप्रति बेखबर नै छौं ।’

चन्दननाथ-१ की रातिका कामी २०६४ सालको संविधान सभाको निर्वाचनदेखि निरन्तर मतदान गर्दै आइरहेकी छन् । तर‚ उनले मत दिएर आफूले जिताएको प्रतिनिधि कहिल्यै गाउँ फर्केको देखेकी छैनन् । ‘संसद्को चुनाव जितेकाले त गाउँ पुग्न सकेनन्‚’ उनले भनिन्, ‘गाउँ-नगरमा आइपुगेको सरकारका प्रतिनिधिको समेत अनुहार देख्न पाउनु सपनाजस्तै भइसक्यो ।’

‘आफूले जितेर पठाएको व्यक्तिसँग आशा धेरै हुन्छ । तर सँगै भेटेर समस्या दर्साउने वातावरण समेत बन्न सक्दैन । भेट्न खोज्दा पनि समय दिँदैनन् । दिक्क लागेर आउँछ,’ उनले थपिन् ।

रातिकाले २०७४ को स्थानीय तह निर्वाचनअघि गाउँमा पक्की सडक आउला । घरघरमा धारा बन्लान् । नजिकै विद्यालय स्थापना होला । रोजगारीको अवसर सिर्जना भएर दैनिक जीवनयापन गर्न सहज होला भन्ने सोचेकी थिइन् ।

उनले निर्वाचनमा मत माग्न आइपुगेका नेतालाई पनि यस्तै आशा राखेको सुनाएकी थिइन् । दलित बस्तीमा आउने हरेक नेताले नमूना दलित बस्ती निर्माण गर्ने आशा देखाए । उनले भनिन्, ‘जब हाम्रा मत लिएर जितेर गए । तब गाउँमा फर्केनन् । बजारमा देखे पनि बोलचाल गरेनन् । हामी मतदातालाई कम पीडा छैन । तर न प्रतिनिधिबाट फाइदा लियौं न त कहिल्यै सम्मान नै पायौं । आफैंले जितेर पठाएको प्रतिनिधि देख्दा पनि लाज लागेर आउँछ ।’

अहिले चन्दननाथ नगरपालिकाले यो बस्तीमा पाँच वर्षमा १० लाख रुपैयाँको मात्र विकास गरेको छ । बस्तीमा शैक्षिक जनशक्ति छैन । आफ्नो जग्गा‚ जमिन छैन । अरुको जग्गा अधियाँमा लिएर गुजारा चलाउँछन् । राम्रो सडक नहुँदा स्ट्रेचरमा बिरामी बोकेर ल्याउनुपर्छ । गाउँमा बालविकास केन्द्र छ तर शिक्षक छैनन् । आधा घण्टाको बाटो हिँडेर बालबालिका शिक्षा आर्जन गर्न बाध्य छन् ।

घरबाहेक जग्गा नहुँदा कृषिका क्रियाकलापमा संलग्न हुने कुनै अवस्था छैन । सरकारले बाँडेको गरिब घरपरिवार परिचय पत्रसमेत यो बस्तीकाले पाएनन् । यो बस्तीका सबै घरपरिवार धनीको सूचीमा पर्छन् । यहाँका धनीमानीहरू गरिबको सूचीमा रहेका छन् । गरिबका नाममा आएको सेवासुविधा धनीले उपयोग गरिरहेका छन् । रातिकाले भनिन्, ‘चुनावमा सबै तपाईंको अवस्था बदल्न आइपुग्यौं भन्छन् । तर‚ जितेर गइसकेपछि फर्केर हेर्दैनन् । चुनावताका खाएका वाचा कसम सबै बिर्सिन्छन् ।’

बस्तीमा नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने चुनाव प्रचारप्रसारका क्रममा पुगेकी थिइन् । तर‚ नगरप्रमुख, उपप्रमुख भइसकेपछि एक पटक पनि गाउँमा नपुगेको स्थानीय दुखेसो गर्छन् । दलित बस्ती नजिकै कान्जिरोवा होटल छ; त्यहाँ वडाध्यक्षदेखि मन्त्रीसम्म आएर बस्छन् । नगरप्रमुख, उपप्रमुखलगायत त्यही होटल काटेर गाउँ छिर्दैनन् ।

‘चुनाव आउँदा काम गर्छौं भनेर सबैले भन्छन् तर चुनाव सकिएपछि कोही पनि फर्किंदैनन्‚’ चल्ली सरा कामीले भनिन्, ‘निर्वाचनमा आधा सम्पति दिउँला भनेजस्तो गर्छन् । तर पछि वास्ता गर्दैनन् ।’ नगरपालिकाले मेयर तथा उपमेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमको लक्ष्य गरिबलाई व्यवसायमा प्रोत्साहन गर्ने रहेको छ । तर‚ मेयर तथा उपमेयर रोजगार कार्यक्रम गाउँसम्म पुग्दैन । यो कार्यक्रमको नामसमेत नसुनेको उनीहरू बताउँछन् ।

यहाँका स्थानीय जीविकोपार्जनका लागि ठेकेदारसँग काम मागिरहेका हुन्छन् । नजिकैको तिला नदीमा ज्यान हत्केलामा राखेर बालुवा निकाल्छन् । गाउँको छेउछाउमै गिट्टी कुट्छन् । पुरुष सबै मिस्त्री काममा निस्किन्छन् । चल्ली सराले भनिन्, ‘स्थानीय सरकारले कामदारको ज्यालासमेत बढाउँदैनन् । पहिले प्रतिदिन एक सय ५० रुपैयाँ थियो । अहिले बल्ल ५ सय रुपैयाँ पुर्‍याएका छौं; त्यो पनि हामीले लडेर पुर्‍याएका हौं ।’

पहिलेको चुनावमा जितेर गएका प्रतिनिधिले धोका दिएकाले यो पटक उम्मेदवार छानेर काम गर्ने खाले व्यक्तिलाई मतदान गर्ने दलित बस्तीको सोच छ । ‘अब एक गिलास चियामा बिक्दैनौं । एक बोरा चामल र एक पोका नुनमा झुक्दैनौं । दलित हक-अधिकारका लागि लड्न सक्ने व्यक्ति छानेर मतदान गर्छौं‚’ स्थानीय पदम नेपालीले भने, ‘हामीलाई काम गर्ने प्रतिनिधि चाहिएको छ । गफ गरेर समय बिताउने प्रतिनिधि आवश्यक छैन । यो बस्तीले यो निर्वाचनमा बडो सचेततापूर्वक मतदान गर्नेछ ।’

वर्षायाममा बस्ती नै हिलाम्मे हुन्छ । हिउँदमा निकै धुलोले सताउँछन् । हिलोमुक्त बस्ती बनाउने विषयमा नगरपालिकाले कुनै चासो राख्दैन । गाउँमा एम्बुलेन्स आउँदैन । दमकल आउन सक्ने सडक बनिसकेको छैन । गाउँको फोहोर लुकाउन ढल निकासको व्यवस्थापन भएको छैन । यो दलित बस्तीमा दुई सय मत छन् । १ सय ५ घरपरिवार बस्छन् ।

सदरमुकाम खलंगाभित्रको बस्तीमा देखिएको यो अवस्था हेर्दा घण्टौँसम्म हिँडेर पुग्नुपर्ने दुर्गम बस्तीको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिने अवस्था छैन ।

प्रकाशित : वैशाख १४, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×