कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

बागी नै धेरै

सत्ता गठबन्धनको विरोधमा बागी उम्मेदवारी दिनेमा कांग्रेसकै नेता कार्यकर्ता बढी

पोखरा — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार गण्डकी प्रदेशका पालिकामा हर्षोल्लाससाथ उम्मेदवारी दर्ता भएको छ । पहिलो दिन आइतबार केही साना दल र स्वतन्त्रबाट उम्मेदवारी दिए पनि मुख्य दल र अन्यले सोमबार मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।

बागी नै धेरै

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको भए पनि कतिपय स्थानीय तहमा राती अवेरसम्म दर्ता प्रक्रिया चलिरहेकोले पूर्ण विवरण प्राप्त हुन अझै बाँकी छ ।

प्रदेशका केही पालिकाहरूमा बागी उम्मेदवारको बिगबिगी देखिएको छ । विशेषगरी सत्ता गठबन्धनको बिरोधमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका हुन् । पोखरा महानगरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा परेपछि असन्तुष्टि जनाउँदै कांग्रेसका ३ नेताले प्रमुखमा उम्मेदवारी दिएका छन् । ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्कीले उम्मेदवारी दिएका हुन् । गठबन्धनका नाममा अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताए ।

पूर्वी नवलपरासी संवाददाताका अनुसार कावासोती नगरपालिकामा कांग्रेसका ३ बागी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यहाँ कांग्रेसले महेन्द्रप्रसाद पोख्रेललाई उम्मेदवार बनाएको छ । कावासोती–१ का वडाध्यक्ष नारायणप्रसाद पन्त, कमलराज गुरौ र बालकृष्ण पाण्डेले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पन्तले पुनः वडाध्यक्षमा उम्मेदवार नपाएकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले कहिल्यै स्थान नदिएकाले र पार्टीलाई ठेक्काट्टावालालाई जिम्मा लगाएको भन्दै गुरौले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएको बताए । कावासोतीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको छ ।

यहाँ कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी हुप्सेकोट गाउँपालिकाका कांग्रेस सभापति बलबहादुर रानाले आधिकारिक उम्मेदवार लक्ष्मीदेवी पाण्डेविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

निवर्तमान अध्यक्ष नै बागी
बागलुङमा माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा विजयी ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सोमबार बागी उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा माओवादीकै कोटामा परेको ताराखोलामा टिकट नपाएपछि घर्तीले उम्मेदवारी दर्ता गरेका हुन् । माओवादीले धनबहादुर विकलाई टिकट दिएको छ । पार्टीको गाउँ कमिटीले निर्विरोध पठाएका घर्तीलाई जिल्लाले टिकट नदिएपछि बागी उम्मेदवारी परेको हो ।

यसैबीच कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघ बागलुङकी सचिव उषा पौडेलले पार्टी त्यागेर एमालेबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । कांग्रेसबाट दाबी गरेकी पौडेलले सोमबारै एमालेको टिकट लिएर उमेदवारी दर्ता गरेकी हुन् । उनी कांग्रेस प्रदेशको महाधिवेसन प्रतिनिधिसमेत हुन् ।

जैमिनीमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चालाई प्रमुख र कांग्रेसलाई उपप्रमुखको उम्मेदवारी बनाएको थियो । राष्ट्रिय जनमोर्चाबाट विद्रोही उम्मेदवारको रूपमा रुद्राकुमारी केसीले पनि उपप्रमुखमा उम्मेदवारी दिएकी छन् ।

गठबन्धनले महिला पछाडि
सत्ता गठबनधनका कारण बागलुङका १० पालिकामा १ जना मात्रै महिला पदाधिकारीको उम्मेदवारी परेको छ । फरक–फरक चिन्हबाट उम्मेदवारी दर्ता गरेका कारण सबै पुरुषको मात्रै उम्मेदवारी परेको हो । गठबन्धनका २० उम्मेदवारमा बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी मात्रै महिला उमेदवार हुन् । सदरमुकामको बागलुङ नगरपालिकामा एमालेले राप्रपासँग तालमेल गरेर दुवै जना पुरुष उम्मेदवार उठाएको छ । त्यस्तै सत्ता गठबन्धनले पनि कांग्रेस र माओवादीको उम्मेदवारी दिँदा दुवै पुरुष परेका छन् । ‘गठबन्धनको नाउँमा पुरुषवादी सोच नै हाबी भयो,’ नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘महिलालाई अब एक पद अनिवार्य हुनैपर्ने प्रावधान चाहिन्छ ।’ राजमोकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटाले कानुन तत्काल संशोधनको जरुरी भइसकेको बताइन् ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको उपाध्यक्षमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङले एमालेको तर्फबाट उम्मेदवारी दिइन् ।

खोसियो उम्मेदवारी
एमालेले पोखरा महानगरपालिकाको प्रमुखमा प्रदेश सांसद कृष्णबहादुर थापालाई उम्मेदवार बनाएको छ । उपप्रमुखमा मन्जुदेवी गुरुङ दोहोरिएकी छन् । यसअघि एमाले सचिवालय बैठकले गत शनिवार प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा गुरुङ उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णयबाट पछि हट्दै सोमबार मात्रै पौडेलको उम्मेदवारी खोसेर थापालाई बनाइएको हो । पौडेलले पोखराको एक सुनचाँदी पसलबाट सुनको सिक्री चोरेको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको र कतिपय कार्यकर्ताको दबाबका कारण पनि एमालेले उम्मेदवार फेरेको बताइएको छ ।

सोमबार उम्मेदवार मनोनयन गरेका थापा पनि जातिय विभेदको अभियोगमा हिरासतमा रहेकालाई बिनासर्त रिहाई गर्न विज्ञप्ति निकालेपछि आलोचित भएका थिए । कास्कीकै रुपा गाउँपालिकामा कांग्रेस कार्यकर्ताले पार्टीले टिकट दिएको अध्यक्ष पदका उम्मेदवार आनन्द सुवेदी र उपाध्यक्ष अप्सरा श्रेष्ठको उम्मेदवारी नै फेरिदिएका छन । सुवेदी र श्रेष्ठ उम्मेदवार मनोनयन गर्न गएका बेला कार्यकर्ताले गलत व्यक्तिलाई उम्मेदवार बनाएकाले विरोध गर्दै दर्ता गर्न अवरोध गरेपछि अध्यक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायणकुमार श्रेष्ठलाई उम्मेदवारी मनोनयन गर्न लगाइएको थियो ।

प्रकाशित : वैशाख १३, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?