कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुर नगरपालिकामा मुख्य दलका उम्मेदवार पुरानै

लिला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बलियो राजनीतिक शक्ति मानिन्छ । जनमत संग्रहपछि २०३९ सालको स्थानीय निकाय निर्वाचनपछि नेमकिपाले भक्तपुर नगरमा लगातार जित्दै आएको छ । उसको किल्लामा बलिया उम्मेदवार उठाउन प्रमुख दलहरू यसपटक पनि हच्किएका छन् । नेमकिपाले २०७४ मा प्रमुख र उपप्रमुखसहित भक्तपुर नगरको १० वटै वडामा विजयी नेमकिपाले यसपटक पुनः पुरानै उम्मेदवारलाई यसपटक दोहोर्‍याएको छ ।

भक्तपुर नगरपालिकामा मुख्य दलका उम्मेदवार पुरानै

नेमकिपाका भक्तपुर नगर प्रमुखमा पुनः सुनील प्रजापति र उपप्रमुखमा रजनी जोशीले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका उम्मेदवारसमेत पुरानै छन् । सोमबार नगरको १० वडामध्ये ७ वटाका वडाध्यक्षमा पुरानैको उम्मेदवारी परेको छ । वडा १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ९ मा रवीन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसाद ह्योमिखा पुनः वडाध्यक्षको उम्मेदवार बनेका हुन् । नगरको वडा ४ मा उपेन्द्र सुवाल, ५ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेका भाइ योगेन्द्रमान बिजुक्छे र ८ वडामा कृष्णप्रसाद कोजुले उम्मेदवारी दिएका छन् । भक्तपुर नगरमा अन्य पार्टीको आकर्षणसमेत कम छ । जिल्लाको अन्य तीन नगरपालिकामा नेमकिपा कमजोर देखिन्छ ।

नेमकिपाका तर्फबाट चाँगुनारायण नगर प्रमुखमा केशव तिमिल्सिना र उपप्रमुखमा कल्पना लामाले उम्मेदवारी दिएका छन् । सूर्यविनायक नगर प्रमुखमा नेमकिपाबाट श्याम बिसुंखे र उपप्रमुखमा चनमति खुलिमुलीले उम्मेदवारी दिएका छन् । त्यस्तै, नेमकिपाका तर्फबाट मध्यपुर थिमि नगर प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाडेले उम्मेदवारी दिएका छन् । मध्यपुर थिमि नगर प्रमुखमा एमालेका तर्फबाट पुनः मदनसुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन २०७४ मा विजयी श्रेष्ठले पुनः उम्मेदवारी दिएका हुन् । सम्पदा पुनर्निर्माणमा अग्रणी भूमिका खेलेका श्रेष्ठलाई एमालेले पुनः उम्मेदवार बनाएको हो । एमालेकै तर्फबाट उपप्रमुखमा उत्तरा नेपालको उम्मेदवारी परेको छ । मध्यपुर थिमिको वडाध्यक्षहरूमा १ मा कृष्णकुमार प्याठः, २ मा प्रकाश थापामगर, ३ मा होमनाथ ढुंगेल, ४ मा बालकृष्ण पात्य श्रेष्ठ, ५ मा राधेश्याम प्रजापति, ६ मा दिलकृष्ण प्रजापति, ७ मा कृष्णकुमार प्रजापति, ८ मा विक्रम बुढा र ९ मा दीपेन्द्र थापाले उम्मेदवारी दिएका छन् ।

सूर्यविनायक नगर प्रमुखमा एमालेका वासुदेव थापा पुनः उम्मेदवार भएका छन् । उपप्रमुखमा सरिता भट्टराईले उम्मेदवारी दिएकी छन् । नगर प्रमुख, उपप्रमुख मात्र होइन, एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरूलाई समेत दोहोर्‍याएको छ । दोहोरिएर उम्मेदवारी दिने वडाध्यक्षहरूमा वडा १ का सानुकाजी कायस्थ, ५ मा राजकुमार जोशी, ७ मा रवीन्द्र सापकोटा, ९ मा उपेन्द्र केसी र १० का शिवराम राउत छन् । एमालेले सूर्यविनायकको वडा २ मा विश्वराज विष्ट, ३ मा रामकृष्ण राउत, ४ मा भोला राउत, ६ मा सुधाम केसी, ८ मा पुष्पराज बस्नेतलाई उम्मेदवार बनाएको छ ।

चाँगुनारायण नगरमा यसअघिकी उपप्रमुख बिना बाँस्तोलाले नगर प्रमुख पदमा उम्मेदवारी दिएकी छन् । भक्तपुर जिल्लाका ४ स्थानीय तहमध्ये, नगर प्रमुखमा उम्मेदवारी दिने एक मात्र महिला उम्मेदवार बाँस्तोला हुन् । एमालेले चाँगुनारायण नगर प्रमुखमा बाँस्तोलालाई छनोट गरेको हो । उपप्रमुखमा रमेश बुढाथोकीले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट चाँगुनारायण नगरको वडाध्यक्षहरूमा वडा १ मा ईश्वर थापा, २ मा मनोज केसी, ३ मा श्यामसुन्दर धिमाल, ४ मा रोजबहादुर तामाङ, ५ मा अश्विन गिरी, ६ मा विष्णु तामाङ, ८ मा प्रकाश लामिछाने र ९ मा श्रीकण्ठ खड्काले उम्मेदवारी दिएका छन् ।

एमालेका तर्फबाट भक्तपुर नगर प्रमुखमा रवीन्द्र लाछिमस्यू र उपप्रमुखमा रञ्जना खर्बुजाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षहरूमा वडा १ मा रमेश न्याइच्याईं, २ मा राजाराम सुवाल, ३ मा रामसुन्दर बोइजु, ४ मा सुरेश नापित, ५ मा राजेशपतिराज शर्मा, ६ मा भूपेन्द्र नेपाली, ७ मा राम तचामो, ८ मा नरेश दुवाल, ९ मा अक्षसुन्दर प्रजापति र १० मा पुण्यराम घटुवाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिने अन्तिम समयसम्म पनि गठबन्धनका दलहरूलाई उम्मेदवार छनोटमै सकस पर्‍यो । दलका कार्यकर्ता सोमबार मध्यरातसम्म नै उम्मेदवारी दर्तामै व्यस्त भए । गठबन्धनका तर्फबाट जिल्लाको भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगर प्रमुखमा कांग्रेसले उम्मेदवारी दिएका छन् । जसमध्ये, भक्तपुरमा अघिल्लो निर्वाचनमा पराजित रामप्रसाद कासुलाले नगर प्रमुख पदमा उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट मध्यपुर थिमिमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले र सूर्यविनायक नगर प्रमुखमा कांग्रेसका नगर सभापति निशान ढुंगेलले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट भक्तपुर नगर उपप्रमुखमा एकीकृत समाजवादीका ओमचरण अमात्य, मध्यपुर थिमि उपप्रमुखमा माओवादीका विजयकृष्ण श्रेष्ठ र सूर्यविनायकको उपप्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट नगर प्रमुख र उपप्रमुखमा मात्र सहमति कार्यान्वयन भएको छ । वाग्मती प्रदेशस्तरीय गठबन्धनका बैठकले प्रमुख र उपप्रमुखका लागि मात्र निर्णय गरिदिँदा वडास्तरमा गठबन्धनमा उल्झन देखिएको कांग्रेसका एक नेताले बताए । वडास्तरमै पाँच दलीय गठबन्धन भने पनि कांग्रेसले प्यानलगत रूपमा प्रत्येक नगरको वडाहरूमा उम्मेदवारी दर्ता गरेको जनाएको छ ।

चाँगुनारायण नगरमा भने गठबन्धन हुन सकेन । २०७६ को उपनिर्वाचनमा प्रदेशसभा सदस्य कृष्णलाल भँडेललाई जिताउन राप्रपासँग भएको लिखित सम्झौता बाहिरिएपछि गठबन्धन टुट्यो । कांग्रेसका तर्फबाट चाँगुनारायण नगर प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेले उम्मेदवारी दिएका छन् । चाँगुनारायणको वडाध्यक्षहरूमा वडा १ मा सिजन कार्की, २ मा सोमप्रसाद प्रधान, ३ मा गोविन्द थापा, ४ मा बलबहादुर श्रेष्ठ, ५ मा जयन्द्र खड्का, ६ मा वीरमान तामाङ, ७ मा रमेश लामा, ८ मा जनक खत्री र ९ मा राजकुमार खड्काले उम्मेदवारी दिएका छन् ।

२०७६ को उपनिर्वाचनको सहमतिअनुसार कांग्रेससँग तालमेल हुन नसकेपछि राप्रपाले एक्लै लड्न उम्मेदवारी दिएको छ । नगर प्रमुखमा राप्रपाबाट रवीन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्कीले उम्मेदवारी दिएका छन् । वडाध्यक्षहरूमा वडा १ मा जनक थापा, २ मा सन्तोष केसी, ३ मा सरोज मल्ल, ४ मा कमलदीप थापा, ५ मा जनक कार्की, ६ मा धनबहादुर लामा, ७ मा श्याम नायजु, ८ मा रामबहादुर खत्री र ९ मा रमेश खत्री छन् । गठबन्धन हुन नसकेपछि एकीकृत समाजवादीबाट नगर प्रमुखमा ईश्वर खड्काले उम्मेदवारी दिएका छन् । माओवादीका तर्फबाट नगर प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेको उम्मेदवारी परेको छ । त्यस्तै, भक्तपुर नगर प्रमुखमा माओवादीका तुल्सीभक्त सुवाल र उपप्रमुखमा इन्द्रमाया सुवालले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : वैशाख १३, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?