कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

कांग्रेसको संकल्प : ‘रहरलाग्दो सहर, बसौं–बसौं लाग्ने गाउँ’

काठमाडौँ — नेपाली कांग्रेसले आगामी पाँच वर्षमा स्थानीय तहलाई रहरलाग्दो सहर र बसौं–बसौं लाग्ने गाउँको रुपमा विकसित गर्ने घोषणा गरेको छ । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर स्थानीय तह निर्वाचन २०७९ का लागि जारी घोषणा पत्रमा कांग्रेसले आफ्नो नेतृत्वमा बन्ने स्थानीय सरकारले गाउँमा जनतालाई बस्नयोग्य बनाउन विशेष प्राथमिकता दिने जनाएको हो ।

कांग्रेसको संकल्प : ‘रहरलाग्दो सहर, बसौं–बसौं लाग्ने गाउँ’

कांग्रेसले हरेक नेपालीको थालमा खाना, रहरलाग्दो सहर, बसौं–बसौं लाग्ने गाउँ, हरेक नेपालीलाई गाह्रो परेको बेला तत्काल सहयोग गर्न स्थानीय पदाधिकारी, जनताको स्वस्थ जीवनशैलीबारेको सजगता, परिआएको बेला नि:शुल्क स्वासथ्य सेवा, हरेक नेपालीका सन्तानलाई गुणस्तरीय शिक्षासहितको सम्मानीत जीवन आफ्नो परिकल्पनामा समटेको छ ।

‘हाम्रो स्थानीय नेतृत्वले कर्मशील नागरिकहरूका लागि कसरी गाउँ उत्पादनमुखी बन्न सक्दछन्, कसरी उनीहरूलाई उनीहरूकै घर नजिक रोजगारी दिन सकिन्छ भनेर आफ्नो स्थानको विशेषताअनुसार आयमूलक पेसा वा रोजगारीलाई उच्च प्राथमिकता दिनेछन् । सहर बन्न न्यूनतम मापदण्डसमेत पूरा नगरेर अव्यवस्थित कंक्रिटको जंगल हुनबाट सहरलाई कसरी जोगाउन सकिन्छ भनेर स्थानीय सरकारले ध्यान दिनेछन्,’ कांग्रेसले घोषणापत्रमा भनेको छ, ‘बिजुली, पानी, सडक, फोहोर व्यवस्थापन, स्कुल, अस्पताल, इन्टरनेट, पार्क र खेल मैदानहरू अब हाम्रा सरकारका प्राथमिकतामा हुनेछन् । नेपाली कांग्रेस प्रस्ट कार्ययोजनासहित सहरलाई बस्नयोग्य ‘लिभेवल’ बनाउन कटिबद्ध रहनेछ ।’

कांग्रेसले तीनै तहमा आफ्नो सरकार भए पाँच वर्षमा हरेक नेपालीलाई सम्मानित तवरले जीवन निर्वाह गर्न सक्ने स्थितिमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले त्यसका लागि शिक्षा, स्वास्थ्य, स्थानीय पुर्वाधार, कृषि, उद्यम र रोजगारी तथा सेवा प्रवाहको क्षेत्रमा छुट्टा–छुट्टै योजना र प्राथमिकताहरू सार्वजनिक गरेको छ ।

शिक्षा : ‘ड्रप आउट’ घटाउने र ‘रिटेन्शन’ बढाउने

कांग्रेसले अबको दशकमा नेपालको शिक्षा प्रणालीमा सुधार गर्न ‘रट्ने र घोक्ने’ सिकाई परम्परालाई निरुत्साहित गर्दै बालविकासदेखि माध्यमिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने भनेको छ । कांग्रेसले देशका ९७ प्रतिशत प्राथमिक विद्यालय जाने उमेरका विद्यार्थी विद्यालय भर्ना भएका भन्दै अब ‘ड्रप आउट’ दर घटाउने र ‘रिटेन्शन’ दर बढाउने नीति र कार्यक्रमहरू अघि बढाउनुपर्ने भनेको छ ।

त्यसका लागि कांग्रेसले शिक्षा क्षेत्रको बजेटलाई दोब्बर गर्ने, हरेक स्थानीय तहमा सिकाई केन्द्रीत अगुवा विद्यालय स्थापना गर्ने, विद्यालय शिक्षामा रहेको उच्च विद्यालय छोड्ने दरलाई कम्तिमा २० प्रतिशत घटाउने, महानगर, उपमहानगर र ठूला नगरपालिकाहरूमा स्तरीय नवप्रवर्तन केन्द्र खोल्ने, हरेक स्थानीय तहमा कम्तीमा एउटा ‘व्यावसायिक सीप विद्यालय’ सञ्चालन गर्ने, फरक क्षमता भएका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायबाट आउने विद्यार्थीहरूलाई विशेष विद्यालय र आवासीय छात्रवृत्तिको व्यवस्था, विद्यार्थीहरूको सर्वाङ्गीण विकासकलागि गुणस्तरीयता दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

त्यस्तै, छात्राहरूका लागि विद्यालयमा नै गुणस्तरीय नि:शुल्क सेनिटरी प्याडको व्यवस्था, हरेक वडामा कम्तीमा १ विद्यालयमा नमूना प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन, विद्यालयका कार्यक्रममा अभिभावकको उपस्थितिलाई कम्तीमा ९० प्रतिशत बनाउने, दरबन्दी नभएका विद्यालयमा युवालाई स्वयंसेवाकालागि प्रोत्साहन गर्ने, प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने र संस्थागत विद्यालयलाई गैरनाफामूलक वा सार्वजनिक गुठीमा आबद्ध हुन प्रोत्साहन गर्नेसम्मका गतिविधि घोषणा गरेको छ ।

स्वास्थ्य : पाँच वर्षमा सबै स्वास्थ्य बिमित, घरमै स्वास्थ्य सेवा

कांग्रेसले सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा पनि लोकप्रिय अवधारणा अघि सारेको छ । कांग्रेसले हाल बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हनुे खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।

कांग्रेसको नेतृत्व भएका स्थानीय तहले स्वास्थ्य क्षेत्रको बजेट कम्तिमा १० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । त्यस्तै, हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ–नगरपालिकामा विशेषज्ञ सेवा सहितको प्राथमिक अस्पताल, उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवा सहितको अस्पताल स्थापना गर्ने, त्यसका लागि आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र उपकरणको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षणको सुविधा वडामै व्यवस्था गर्ने घोषणा गरेको छ ।

अबका पाँच वर्षभित्र प्रत्येक स्थानीय तहलाई ’पूर्ण स्वास्थ्य बीमित’ बनाउने कांग्रेसको घोषणा छ । कांग्रेसले सुत्केरी महिलालाई ‘५ हजार सुत्केरी सहायता भत्ता’ दिने, हरेक वडामा गुणस्तरीय आधारभूत र आकस्मिक सेवा प्राप्त हुने गरी दक्ष स्वास्थ्यकर्मी सहितको प्रसुती केन्द्र सञ्चालन, सबै महिलालाई नि:शुल्क गुणस्तरीय स्यानिटेरी प्याड, घरमै पोष्ट न्याटल सेवा उपलब्ध गराउने भनेको छ ।

त्यस्तै, ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुाचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा, तीन वर्षभित्र सबै विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम व्यवस्थित गर्ने घोषणा गरेको छ ।

दुर्गम गाउँ–नगरपालिकाको हकमा चिकित्सा शिक्षा आयोगसँग समन्वय गरी जेहेन्दार विद्यार्थीका लागि स्थानीय तहले आफ्नो स्रोतमा चिकित्सक लगायतको जनशक्तिका लागि छात्रवृत्ति र अध्ययनपश्चात् आफ्नो स्थानीय तहमा सेवा दिने प्रबन्ध मिलाउने कांग्रेसको घोषणा छ ।

कृषि : किसानको वर्गीकरण, साना किसानलाई क्रेडिट कार्ड

कांग्रेसले कृषि क्षेत्र र किसानका लागि समेत समुन्नत गाउँ निर्माण अभियानको अङ्ग बनाएर विभिन्न गतिविधि गर्ने घोषणा गरेको छ । त्यसकालागि किसानहरुको सूचीकरण र वर्गीकरण, कृषि समग्री तथा कृषि सेवामा सुनिश्चित पहुँच, स्थानीय किसानलाई भूमि बैंकमा अग्राधिकार, साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड, साना किसानलाई दुई प्रतिशत तथा मझौला र ठुला किसानलाइ चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था, कृषि बीमामा साना किसानलाइ ९० प्रतिशत र अन्यलाई ७५ प्रतिशत अनुदान तथा उन्नत बीऊ विजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदानको घोषणा गरेको छ ।

सामाजिक सुरक्षा–कोखदेखि शोकसम्म

नेपाली कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणास्वरुप जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाको कार्यक्रम घोषणा गरेको छ । स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो सरकार भए कांग्रेसले सामाजिक सुरक्षामैत्री कार्यक्रमलाई उच्च प्राथमिकता दिंदै लागू गर्ने घोषणा गरेको हो । जसमा गर्भावस्थामा स्वास्थ्य परीक्षणदेखि वृद्धवृद्धालाई भत्ता र स्वास्थ्योपचारसम्म समेटेको छ ।

सो कार्यक्रममा गर्भावस्थामा नि:शुल्क परीक्षण, घरवारविहीन विपन्न गर्भवतीका लागि नि:शुल्क आश्रय र पोषणको व्यवस्था, नि:शुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा, पाँच हजाररुपैयाँ सुत्केरी भत्ता, हरेक पालिकामा शिशु स्याहार केन्द्र र दिवा खाजा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ ।

त्यस्तै, सबै नागरिकलाई स्वास्थ्य विमा र ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका विपन्न लगायतलाई नि:शुल्क विमा स्वास्थ्य उपचारमा खल्तिको पैसा खर्च कम गर्ने व्यवस्था, सवै युवा–युवतीलाई सम्मानित रोजगार स्वरोजगार कार्यक्रम सञ्चालन, ६५ वर्ष माथिका सवै जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा, ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक उपचार खर्च र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने घोषणा गरेको छ ।

त्यस्तै, नागरिक समुदाय र धर्म बमोजिमको बेग्लै अन्तिम संस्कारको लागि स्थान उपलब्ध गराउने र मृत्यु संस्कार खर्च समेत दिने कांग्रेसको घोषणा छ ।

कर प्रणाली : दायरा बढाउने, कर रकम घटाउने

कांग्रेसले स्थानीय तहलाई समुन्नत बनाउने गरी स्रोत व्यवस्थापनकालागि आन्तरिक आम्दानी बढाउन कर संकलनका विभिन्न सिद्धान्तहरू अपनाउने उल्लेख गरेको छ । करको दायरा बढाउने, तर कर रकम घटाउने, दोहोरो कर अन्त्य गर्ने, स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाका आधारमा कर शुल्क निर्धारण जस्ता कर सिद्धान्तहरू अपनाउने कांग्रेसको घोषणा छ ।

स्थानीय पुर्वाधार : सबै वडामा सडक, सबै टोलमा इन्टरनेट

पुर्वाधार विकासले मात्रै विकास र समुन्नतिको संकेत नगर्ने दाबी गरेको कांग्रेसले स्थानीय पुर्वाधारलाई समेत समुन्नत गाउँ/शहर निर्माणको क्षेत्रभित्र समेटेको छ । कांग्रेसले ग्रामीण केन्द्रलाई बजारसम्म जोड्ने र शहरी केन्द्र बीचको सडक उन्नतिकरणलाई विशेष प्रथामिकता दिने, सबै गाउँ–नगरपालिका केन्द्रमा पक्की सडकको पहुँच पुर्‍याउने, सबै गाउँ–नगर पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पुर्‍याउने, सडक पूर्वाधारको गुणस्तर र मर्मतमा विशेष ध्यान दिने र सडक दुर्घटनाको न्यूनिकरणका निम्ति ‘सडक सुरक्षा निर्देशिका’लाई कडाईका साथ लागू गर्ने लगायत घोषणा गरेको छ ।

त्यस्तै, सबै स्थानीय तहमा आधारभूत अस्पाताल भवन र सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण, एक गाउँ एक व्यवसायिक उत्पादन र कृषि उपज सङ्कलन केन्द्रको निर्माण गर्ने, टोलका सबै सार्वजनिक क्षेत्र, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्थाआदि अपांगतामैत्री बनाउने, स्थानीय तहमा मुख्य प्रशासनिक भवन र आवश्यकता अनुसारका वडा कार्यालयका भवन मौलिक शैलीमा निर्माण गर्ने, एक स्थानीय तह एक पर्यटन पूर्वाधारको व्यवस्था गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने भनेको छ । हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिक स्थानमा नि:शुल्क वाईफाईको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

हरेक स्थानीय तहमा रोजगार बैंक

कांग्रेसले हरेक स्थानीय तहमा रोजगारीको सम्भावनाको खोजी गर्न र सूचना प्रवाह गर्न रोजगार बैंक स्थापना गर्ने घोषणा गरेको छ । रोजगारीको खोजीमा रहेकाहरुको सहयोगका लागी रोजगार बैंकले सूचना उपलब्ध गराउने तथा सहजकर्ताको काम गर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै, स्थानीय तहका उच्च माध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उसको अनुकूलतामा एक वर्षको इन्टर्नसिपको अवसर प्रदान गर्ने, स्थानीय रोजगारी सिर्जना गरे वापत स्थानीय कर छुटको व्यवस्था गर्ने र सबै स्थानीय तहमा श्रमिकको न्यूनतम ज्याला, आधारभूत श्रम अधिकार र श्रम मापदण्डको कार्यान्वयन जस्ता गतिविधि गरेर रोजगारी प्रवद्र्धन गर्न सकिने घोषणा गरेको छ ।

प्रकाशित : वैशाख ११, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×