२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

निर्वाचन सामग्री ढुवानी गर्न मोबाइलमा जीपीएस

काठमाडौँ — निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ । 

निर्वाचन सामग्री ढुवानी गर्न मोबाइलमा जीपीएस

आयोगले ५५ प्रकारका निर्वाचन सामग्री जिल्लामा पठाएको हो । सुरुमा दुर्गम जिल्लामा पठाउने भनिए पनि पहिलो दिन नै काठमाडौंमा समेत सामग्री ढुवानी गरिएको छ । यहाँ सबैभन्दा धेरै सामग्री भएकाले आयोग परिसरमा राख्ने ठाउँको व्यवस्थापन गर्न काठमाडौं पनि प्राथमिकतामा परेको हो । निर्वाचनका लागि आवश्यक १६ प्रकारका सामग्री जिल्लामै खरिद गर्ने व्यवस्था मिलाइएको थियो ।

निर्वाचन सामग्री ढुवानी भएको गाडीमा आयोगका एक जना कर्मचारी पनि खटिएका छन् । उनको मोबाइलमा जीपीएस जडान गरिएको छ । ‘सामान बोकेको गाडी कहाँ पुग्यो भनेर ट्र्याकिङ गर्न कर्मचारीको मोबाइलमा जीपीएस पनि राखेका छौं,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘आयोगबाट छुटेको गाडीको निगरानी गर्न छुट्टै टोली पनि छ ।’ गाडीको सुरक्षाका लागि हरेक जिल्लाका प्रहरीसँग समन्वय भइरहेको उनले बताए । मतपत्रको ढुवानी भने सेनाको सुरक्षा निगरानीमा हुनेछ । सडक मार्गबाट ढुवानी हुन नसक्ने जिल्लामा हवाई मार्गबाट हुने आयोगले जनाएको छ । आयोगले सडक विभागलाई पत्र लेखेर सडक मार्गको अवस्थाबारे जानकारी लिएको थियो ।

यस्तै, निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन अधिकृतको कार्यालय बिहीबार हरेक स्थानीय तहमा खुलेको छ । शनिबारसम्म कार्यालय व्यवस्थापन गरेर आइतबार यही कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको पौडेलले बताए ।

प्रकाशित : वैशाख ९, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?