कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

असन्तुष्टि हुनु स्वभाविक हो, पार्टीले सम्बोधन गर्छ : प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावमा गठबन्धन गर्दा असन्तुष्टि आउनु स्वभाविक भएको बताएका छन् । उनले पार्टीले चुनावमा अन्य दलसँग तालमेल गर्दा उठेका असन्तुष्टिहरूलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदको भागबन्डा गरेपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शीर्ष नेताहरूसँग छलफल गरे ।

असन्तुष्टि हुनु स्वभाविक हो, पार्टीले सम्बोधन गर्छ : प्रवक्ता महत

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीचको छलफलपछि प्रवक्ता महतले पार्टीले राष्ट्रिय परिस्थिति र देशभरको अवस्थालाई हेरेर चुनावमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको बताए । उनले गठबन्धनको निर्णयले स्थानीय तहहरूमा उठेका असन्तुष्टिलाई पार्टीले स्वभाविक रुपमा लिएको र त्यस्ता असन्तुष्टिहरूको सम्बोधनमा नेताहरूले समेत जोड दिएको बताए ।

‘चुनावमा तालमेल गर्ने निर्णय भइसकेपछि देशभरको अवस्थाबारे बैठकमा समीक्षा भयो । कहाँ के कस्तो अवस्था सिर्जना भएको छ ? कस्तो असन्तुष्टि छ । र ती असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भनेर छलफल भयो,’ उनले भने, ‘ठूलो पार्टी छ, पार्टीमा लागेपछि साथीहरूमा आशा हुन्छ । त्यो स्वभाविक हो ।’

उनले सिट बाँडफाँटमा बृहत्तर हित हुने गरी निर्णय गर्दा केही असन्तुष्टिका आधारहरू उत्पन्न भएको बताए । ‘हामीले पनि छलफल गरेका छौँ, साथीहरू असन्तुष्टि हुने आधारहरु छन् । हाम्रो बढी प्रभाव भएको ठाउँमा पनि हामीले अरुलाई दिनुपर्ने अवस्था भएको छ,’ उनले भने, ‘नेतृत्वले बृहत्तर हितका लागि निर्णय लिँदा यस्तो भएको हो । त्यसलाई कार्यकर्ता पंक्तिले बुझिदिनुपर्छ; हामी बुझाउँछौँ ।’

उनले वर्तमान सरकार नै सत्ता गठबन्धनको जगमा बनेको र गठबन्धनको निर्माण नै मुलुकको राष्ट्रिय राजनीतिको एउटा परिस्थितिमा उभिएको भन्दै त्यसलाई बचाइराख्न चुनावी तालमेललाई अघि बढाइएको बताए । ‘यो सत्ता गठबन्धन जसरी र जुन परिस्थितिमा भयो; त्यसलाई बचाइराख्ने भन्ने उद्देश्यले अहिले हामीले चुनावी तालमेल गर्दैछौँ; यसका लागि कतिपय ठाउँमा हामीले त्याग गर्नुपरेको छ,’ उनले भने ।

कांग्रेसले केन्द्रीय समितिमा स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर तालमेल गर्न सक्ने भन्ने निर्णय लिए पनि छ महानगरपालिका र ११ उपमहानगरपालिकाको हकमा भने गठबन्धनको केन्द्रले नै निर्णय गरेर सिटको भागबण्डा गरेको हो ।

गठबन्धनमा कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगर र बाँकीमध्ये भरतपुर माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगन्जमा जसपाले उम्मेदवारी दिने सहमति भएको छ । त्यस्तै, उपप्रमुखमा काठमाडौंमा एकीकृत समाजवादी, ललितपुरमा माओवादी केन्द्र, विराटनगरमा जसपा र भरतपुर, पोखरा र वीरगन्जमा कांग्रेसले उम्मेदवारी दिने नेताहरूले सहमति गरेका छन् ।

त्यस्तै, उपमहानगरको प्रमुखमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरमा कांग्रेस, जितपुर सिमरा र घोराहीमा माओवादी केन्द्र, हेटौंडामा एकीकृत समाजवादी र जनकपुरमा जसपाले उम्मेदवारी दिने सहमति छ । उपमहानगरमा प्रमुखमा उम्मेदवारी नदिएका सबैमा कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिनेछ भने धरान र धनगढीमा माओवादी केन्द्र, इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादी र कलैया र नेपालगञ्जमा जसपाले उम्मेदवारी दिनेछ ।

प्रकाशित : वैशाख ८, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×