कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

आकांक्षीमा पुरानै अनुहार

स्रोतसाधन परिचालन र शक्तिको अभ्यास गर्न सकिने भएकाले दोहोरिन इच्छुक
केही पालिकामा सर्वसम्मत सिफारिस
प्रदेश ब्युरो

लुम्बिनी — स्थानीय तह निर्वाचनका आकांक्षीमा अधिकांश पुरानै जनप्रतिनिधि र प्रतिस्पर्धी देखिन थालेका छन् । स्थानीय तहमा पर्याप्त स्रोतसाधन परिचालन गर्न पाइने र शक्तिको अभ्यास गर्न सकिने भएकाले अधिकांश जनप्रतिनिधि दोहोरिन इच्छुक छन् । 

आकांक्षीमा पुरानै अनुहार

दाङको घोराही उपमहानगरपालिका प्रमुखमा एमालेबाट हालका प्रमुख नरुलाल चौधरी दोहोरिन खोजेका छन् । उपप्रमुख सीता सिग्देल न्यौपानेले पनि प्रमुख पदमा दाबी गरेकी छन् । चौधरी र न्यौपानेको नाम उम्मेदवारमा सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले बताए । घोराहीका १९ वटै वडाध्यक्ष र सदस्यले फेरि दाबी गरेका छन् । अन्य दलबाट समेत पुरानै उम्मेदवार दोहोरिन थालेका छन् । घोराहीमा कांग्रेसले गत निर्वाचनमा प्रतिस्पर्धा गरेका भूपबहादुर डाँगीलाई प्रमुखमा दोहोर्‍याउने तयारी गरेको छ । माओवादी केन्द्रबाट जीवन गौतम प्रमुख दाबेदार छन् । उनी गत निर्वाचनमा उम्मेदवार थिए ।

तुलसीपुर उपमहानगरपालिका प्रमुखमा एमालेबाट वर्तमान उपप्रमुख माया शर्माको नाम सिफारिस भएको छ । तुलसीपुर–६ का वडाध्यक्ष नवराज लामिछानेले प्रमुखमा दाबी गरेका छन् । तुलसीपुरका १९ वटै वडामा पुरानै अध्यक्ष र सदस्यले दोहोरिने चाहना देखाएका छन् । तुलसीपुरमा कांग्रेसबाट पुरानै उम्मेद्वार गेहेन्द्र गिरीले प्रमुखमा दाबी गरेका छन् । गिरी कांग्रेस केन्द्रीय सदस्य छन् । तुलसीपुरमा गत निर्वाचनमा एमालेका घनश्याम पाण्डे प्रमुखमा विजयी भएका थिए । लमहीमा एमालेले वर्तमान प्रमुख कुलबहादुर केसीको नाम सिफारिस गरेको छ । केसीका साथै डण्डीराम चौधरी र रतन केसीको नाम प्रदेशमा सिफारिस भएको छ । बबई गाउँपालिकामा एमालेबाट वर्तमान अध्यक्ष भुवनेश्वर पौडेलले दोहोरिने बताएका छन् । अध्यक्षका लागि पौडेलका साथै उपाध्यक्ष सावित्रा विश्वकर्मा र प्रेमबहादुर खत्रीको नाम सिफारिस भएको छ ।

प्यूठानका अधिकांश स्थानीय तहमा पालिका अध्यक्ष र वडाध्यक्षहरू दोहोरिन खोजेका छन् । दलहरूको तयारी पनि त्यस्तै देखिंदै छ । कांग्रेस, एमाले, माओवादीलगायत प्रमुख दलहरूले यसपटक पनि पहिले नै जनप्रतिनिधि भइसकेकालाई पहिलो प्राथमिकता दिएका छन् । नौ स्थानीय तहमध्ये सरुमारानी गाउँपालिकामा एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छ । गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मालाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

कांग्रेसले पनि नौबहिनीमा अध्यक्ष शिवराज रिजालको नाम सर्वसम्मत रूपमा जिल्लामा पठाएको छ । पाँच दलीय गठबन्धनमा पनि गाउँपालिका अध्यक्ष कांग्रेसको भागमा परेको हो ।एमालेले माण्डवी गाउँपालिकामा पनि बहालवाला अध्यक्ष श्रीधर रोकालाई नै उम्मेदवार बनाउने चर्चा छ ।

दुर्गालाल केसी (दाङ), घनश्याम गौतम (रूपन्देही), ठाकुरसिंह थारु (नेपालगन्ज) र शमशेरविक्रम जीसी (प्यूठान)

प्रकाशित : वैशाख ६, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×