कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

कास्कीमा गठबन्धनमा भाग मिलाउन गाह्रो

पाँच स्थानीय तह रहेको कास्कीमा कांग्रेसको पाँच वटै, माओवादी केन्द्रको २ र नेकपा एसको पोखरा प्रमुखमा दाबी 

पोखरा — स्थानीय तहको निर्वाचनलाई लिएर कास्कीमा गठबन्धनका पाँच दलबीच दिनदिनैजसो बैठक हुन्छ । उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा पाँच स्थानीय तह रहेको कास्कीका गठबन्धनलाई भागबन्डा मिलाउनै गाह्रो देखिएको छ ।

कास्कीमा गठबन्धनमा भाग मिलाउन गाह्रो

आइतबारको बैठकमा कांग्रेसले पोखरा महानगरपालिकासहित पाँचवटै स्थानीय तहको प्रमुख आफूले पाउनुपर्ने र उपप्रमुखमा छलफल गर्न सकिने अडान लियो । माओवादी केन्द्रले आफू गठबन्धनभित्रको दोस्रो दल भएकोले २ पालिकाको प्रमुख र ३ वटामा उपप्रमुख दाबी गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिकाको प्रमुखमा दाबी गर्दै आएको छ । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले भने विभिन्न वडामा अध्यक्ष र सदस्यको माग गरेका छन् । माओवादी केन्द्रका कास्की संयोजक बखानसिंह गुरुङले महानगरको हकमा गठबन्धनको केन्द्रीय संयन्त्रले नै टुंग्याउने भएकोले हेरफेर हुन सक्ने बताए ।

देशभरका ६ महानगरमध्ये पाँचदलीय गठबन्धनभित्र सहमति नजुटिसकेको अवस्थामा कांग्रेसको पोखरा महानगर समितिले आकांक्षीको आन्तरिक उम्मेदवारी दर्ता गराएको छ । पोखरा महानगरको प्रमुख बन्न कांग्रेसभित्र बहालवाला प्रदेशमन्त्रीदेखि पूर्वसचिवसहित १८ जनाले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आइतबार पार्टी कार्यालय पुगेर आफ्नो उम्मेदवारी प्रस्तुत गरे । यसैगरी नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्यलगायत छन ।

कांग्रेस महानगर समितिका सचिव गणेश थापाले दर्ता भएका नामउपर छलफल भएर सर्वसम्मत उम्मेदवार टुंगो लगाउने बताए । ‘सहमति नजुटे आन्तरिक निर्वाचनबाट १ महिलासहित ३ जनाको नाम पठाउने वा उम्मेदवारी दर्ता गरेका सबैको पठाउनेबारे छलफल हुनेछ,’ उनले भने । कांग्रेसले महानगर प्रमुख र उपप्रमुखका आकांक्षीसँग स्वेच्छिक सहयोग संकलन गरेको थियो । अन्य गाउँपालिकामा कांग्रेसले आकांक्षीको नाम संकलन गरिरहेको छ ।

एमालेलाई भने उम्मेदवार टुंग्याउन गाह्रो भएको छ । एमाले पोखरा महानगर कमिटीले प्रमुख र उपप्रमुखका लागि दर्ता भएका सबैको नाम जस्ताको तस्तै माथिल्लो कमिटीमा पठाएको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रमुखमा एमालेबाट १२ र उपमेयरमा ९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । नेताहरूकै हस्तक्षेप हुन सक्ने भन्दै सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको हो ।

म्याग्दीमा सत्तारूढ ५ दलीय गठबन्धनका प्रमुख दलहरू कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहमा आ–आफ्ना उम्मेदवार घोषणा गर्न थालेका छन् । कांग्रेस कार्यकर्ताले माओवादी केन्द्र र समाजवादी पार्टीसँग मतदाता नभएका भन्दै एकपक्षीय रूपमा उम्मेदवार घोषणा थालेपछि चुनावी गठबन्धन प्रयास असफल भएको हो ।

गठबन्धन प्रयास टुटेपछि आइतबार माओवादी केन्द्र म्याग्दीले बेनी नगरपालिकाको मेयर र उपमेयरमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । मेयरमा शेरबहादुर केसी, धनलाल जैसी र उपमेयरमा ज्योती लामिछानेको नाम प्रदेशमा सिफारिस गरेको हो । कांग्रेसले मेयरमा चिरञ्जीवी शर्मालाई उम्मेदवार घोषणा गरेपछि बिच्किएको माओवादीले पनि अन्य पालिकाको उम्मेदवारी घोषणा गर्दै छ ।

कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन टुट्नुको मुख्य कारण मालिका गाउँपालिकामा कांग्रेसले एक पक्षीय रूपमा प्रमुखमा श्रीप्रसाद रोकाको नाम सार्वजनिक गरेपछि हो । ‘हामी पार्टी केन्द्रको निर्देशनअनुसार कांग्रेससँग चुनावी गठबन्धन गर्ने विषयमा केही चरण कुरा भए पनि टुङ्गोमा पुग्न सकेन । हामी आफ्नैतर्फबाट चुनावमा जाने निर्णय गरी उम्मेदवारको नाम टुङ्गो गरेका छौं,’ माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले भने, ‘राजनीतिमा सबै प्रकारका सम्भावना नकार्न सकिन्न । यद्यपि अन्य दलसँग चुनावी तालमेलको सम्भावना टर्दै गएको छ ।’

गाउँपालिकामध्ये कांग्रेसले धवलागिरि र मालिका गाउँपालिकाबाहेक अन्यत्र नाम टुंग्याउन सकेको छैन । एमालेले पनि मेयर र उपमेयरको नाम टुङ्गो लगाउन सकेको छैन । गाउँपालिकामध्ये एमालेले धवलागिरिबाहेक अन्यको प्रमुख तथा उपप्रमुख र वडाध्यक्षहरूको टुङ्गो लगाएको छ ।

टुंगो लागेनन् उम्मेदवार

बागलुङमा सत्ता गठबन्धन, एमाले, राप्रपालगायत दलले उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् । गत स्थानीय निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । कांग्रेस एक्लै लड्दा २ नगरप्रमुख, दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिकाको उपाध्यक्ष र एक नगर उपप्रमुख जितेको थियो । अहिले गठबन्धन बन्दा कांग्रेसले ६ वटा पालिका लिएर राजमो र माओवादीलाई २/२ पालिका दिन खोजे पनि माओवादी र राजमोले ३/३ पालिकको दाबी गरेको एक नेताले बताए । नेकपा एकीकृत समाजवादीले भने पालिका प्रमुखभन्दा पनि केही वडा मात्रै खोजेको छ । उपप्रमुख पाएमा केही स्थानमा चासो राखेको छ ।

तनहुँमा एमाले–जोशी समूह तालमेल

तनहुँमा भने एमाले र कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेलको सहमति भएको छ । दुवै पक्षका नेताबीच भएको छलफलमा चुनावी तालमेल गरी निर्वाचनमा सहभागी हुने सहमति भएको हो । एमाले र जोशी समूहका ४–४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकाको प्रमुखमा यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेससँगै मिलेर निर्वाचनमा जाने भनिए पनि कुनै पनि समन्वय नदेखाएपछि एमालेसँग मिलेर निर्वाचनमा जाने निर्णय गरिएको जोशीले बताए । तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पार्टी सदस्यसमेत नरहने गरेर कारबाही गरेको थियो । जोशीमाथि नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) लाई जिताउन भूमिका खेलेको आरोप थियो ।

यसैबीच माओवादी केन्द्रले शुक्लागण्डकी नगर प्रमुखमा पूर्वमन्त्री आशा कोइरालालाई उठाउने निर्णय गरेको छ । गठबन्धनमा शुक्लागण्डकीको प्रमुख माओवादीले दाबी गर्दै प्रमुखमा कोइरालालाई सिफारिस गरेको माओवादी केन्द्र नगर अध्यक्ष मनराज गुरुङले बताए । २०७४ मा महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएकी उनी गण्डकी प्रदेशसभा सदस्यसमेत हुन् ।

कांग्रेसले बल्ल एउटा वडा टुंग्यायो

९२ वटा वडा रहेको पूर्वी नवलपरासीमा कांग्रेसले बल्ल एउटा वडाका उम्मेदवारको टुंगो लगाएको छ । कावासोती नगरपालिका–११ मा शारदाप्रसाद अधिकारी वडाध्यक्षको उम्मेदवार रहने गरी अन्य ४ सदस्यको पनि निधो गरेको हो । एमालेले यहाँको बौदीकाली र हुप्सेकोट गाउँपालिकामा अध्यक्षसहितको उम्मेदवार टुंगो लगाएर प्रचारमा खटिएको छ ।

प्रकाशित : वैशाख ५, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?