कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा गठबन्धनभित्र अन्योल

स्थानीय तहको नेतृत्व लिन गठबन्धन दलले आ–आफ्नो दाबी नछोड्दा टुंगिएन उम्मेदवार छनोट
विनोद भण्डारी

विराटनगर — सत्ता गठबन्धनका दलले सांगठनिक अवस्थाभन्दा बढी माग दाबी गरेपछि आसन्न स्थानीय निर्वाचनमा गर्ने भनिएको तालमेलले प्रदेश १ मा मूर्तरूप लिन सकेको छैन । त्यसका लागि कांग्रेसको तालमेल गर्ने वा नगर्ने मनोगत धारणा, नेकपा एकीकृत समाजवादीको सांगठनिक अवस्थाभन्दा बढी मागसहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गत वर्ष जितेभन्दा बढी स्थानीय तहमा सुनिश्चितता हुनुपर्ने माग राखेपछि गठबन्धनले गति लिन नसकेको सम्बद्ध दलका नेताले बताएका छन् ।

प्रदेश १ मा गठबन्धनभित्र अन्योल

प्रदेश १ का १४ जिल्लामा एक महानगर, दुई उपमहानगरपालिका, ३६ नगरपालिका र ८८ गाउँपालिका गरी १ सय ३७ स्थानीय तह छन् । गत निर्वाचनमा एमालेले जितेका सबै स्थानीय तहमा एकीकृत समाजवादीले दाबी गरेपछि गठबन्धनको कुरो अड्किएको कांग्रेस प्रदेश उपसभापति रमेशजंग रायमाझीले बताए । एमाले अघिल्लो निर्वाचनमा प्रदेश १ का ४६ प्रतिशत स्थानीय तहमा विजयी भएको थियो । ती सबै एकीकृत समाजवादीलाई दिएर वडामा पनि सदस्य दिनुपर्ने उसको माग छ । रायमाझीले भने, ‘संगठनको अवस्थाभन्दा बढी माग गरेकाले तालमेलले मूर्त रूप लिन नसकेको हो ।’

कांग्रेसको तालमेल गर्ने वा नगर्ने मनोगत धारणा र एकीकृत समाजवादीको गर्विलो मागले तालमेलको सहमति हुन नसकेको माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीको भनाइ छ । उनको अनुसार एमाले फुटाएर आएको एकीकृत समाजवादीको मागले तालमेललाई नै अवरुद्ध गरेको छ । ‘अघिल्लो निर्वाचनमा जस–जसले जहाँ जहाँ जितेको छ, त्यो स्थान उसलाई छाडेर बाँकी रहेका स्थानीय निकाय बाँडफाँट गरौं भन्दा पनि सबै दलले आ–आफ्नो दाबी नछाड्दा दलबीचको गठबन्धनको छलफल ६०–४० मा अड्किएको उप्रेतीले बताए । माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा एक नगारपालिकासहित १० स्थानमा जितेको थियो ।

यसपालि तालमेलमा ५० स्थानीय तह माग गरेको उप्रेतीले बताए । ‘गत निर्वाचनमा एमालेले जितेका सबै ठाउँमा एकीकृत समाजवादीले दाबी गर्नु स्वाभाविक हो,’ प्रदेश सचिवालय सदस्य पारुल क्षत्रीले भने, ‘तर एकीकृतले यति नै चाहियो भनेर तालमेलमा अवरोध गरेको छैन, भूगोलका आधारमा भागबन्डा गरौं भनेका छौं ।’ उनको अनुसार कांग्रेस, माओवादी र समाजवादीको रटानका कारण तालमेलको बहस ओझेलमा परेको हो । ‘वर्तमान गठबन्धन कायमै राख्न एकीकृत समाजवादी जे जस्तो त्याग गर्न पनि तयार छ,’ क्षत्रीले भने, ‘तर भागबन्डा सम्मानजनक हुनै पर्छ भन्ने हाम्रो माग हो ।’

कांग्रेसको आन्तरिक गुटका कारण तालमेलको समीकरणले पूर्णता पाउन नसकेको जनता समाजवादी पार्टीका नेता राजकुमार यादवको आरोप छ । ‘गठबन्धन दलहरूको दाबीभन्दा पनि कांग्रेसको गुट–उपगुट चुनावी तालमेलको समीकरणमा घातक देखियो,’ यादवले भने ।

जसपाले गत वर्ष मोरङको जहदा जितेको थियो, त्योसहित मोरङको कटहरी, धनपालथान र सुनवर्षी नगरपालिका आफ्नो भागमा पर्नुपर्ने र प्रदेशभरि उपस्थिति हुनुपर्ने माग गर्नु स्वाभाविक भएको उनको भनाइ थियो । प्रदेशका अन्य जिल्लामा पनि पदभन्दा आकांक्षीको संख्या दोब्बर भएपछि गठबन्धनको गाँठो अड्किएको देखिन्छ ।

प्रकाशित : वैशाख ५, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?