२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

किन शान्त छन् ब्यान्ड ? 

संगीतमा झुम्ने युवा पुस्तासँगै विदेश पुगेका छन्– नेपालका ब्यान्डहरू । ब्यान्डको लाइभ प्रस्तुतिबाट कलाकार–दर्शकबीच सञ्चार हुने सांगीतिक ऊर्जा र जोस सुस्ताउँदै छ । तर, केही ब्यान्ड दशकौंदेखि नेपाल–भूमिमा टिकेकै छन् । 
सजना बराल

सबैभन्दा चर्को स्वर भएकै कार्यक्रमको नाम थियो– साइलेन्स फेस्टिभल । हेभी मेटल ब्यान्डहरूको महोत्सव ! सन् २०१९ मा अन्तिम पटकको छैटौं संस्करणपछि साइलेन्स फेस्टिभल बन्द छ । हुन त मेटल ब्यान्डहरू प्रायःजसो सीमित समुदायमाझ नै सक्रिय हुने गरेका भए पनि अचेल ठप्पप्रायः देखिन्छन् ।

किन शान्त छन् ब्यान्ड ? 

ब्यान्ड संगीत मूलधारमा रहेको एक समय यस्तो थियो, घर–घरमै ड्रम्स र गितारको आवाज घन्किन्थ्यो । नेपालका हरेकजसो प्रमुख सहरका युवावर्गमा सांगीतिक समूहप्रति अथाह आकर्षण थियो ।

सन् १९९० देखि २०१५ वरिपरि पप, रक, लोक–पप, लोक–रक, पंक–रक, ब्लुज, मेटल, ज्याज, इस्ट्रुमेन्टल, रेग्गे, अल्टरनेटिभ रकलगायत विधाका थुप्रै ब्यान्ड स्थापना भए । सन् १९७८ मा खुलेको प्रिजम ब्यान्डलाई नेपालको पहिलो रक ब्यान्ड मानिन्छ । संगीत अन्वेषक बुलु मुकारुङको पुस्तक ‘नेपाली संगीतको अभिलेख’ मा भनिएअनुसार, प्रिजम ब्यान्डसँग केबल एउटा गितार थियो । ब्यान्डमा पेम्बा लेप्चा, जर्ज सुब्बा, देव राना, सुवर्ण लिम्बू, दिनेश राई, प्रल्हाद रोका र दीपक थापा सम्मिलित थिए । सन् १९७० मा नेपालमा हिप्पी शैलीको पाश्चात्य संगीत भित्रिइसकेको थियो । ती हिप्पीले नै रक म्युजिकलाई अगाडि बढाएको मुकारुङको दाबी छ ।

टीभीको प्रयोग बढ्दै गएको र समाज खुल्दै गएको समयमा काठमाडौं, पोखरा, हेटौंडा, बनेपा, चितवन, धरानजस्ता सहरमा प्रशस्तै ब्यान्डहरू खुले । अडियो क्यासेट र सीडीको व्यापार मुख्य आम्दानीको स्रोत हुने त्यो समयमा धेरैजसो ब्यान्ड सदस्यले विदेशी चर्चित ब्यान्डका फेसन र हेयर स्टायल (कपालका तरिका) नक्कल गर्न खोज्थे । प्रशंसकहरू व्यग्रतापूर्वक नयाँ एल्बम र सांगीतिक कन्सर्ट कुर्थे । प्रसिद्ध ब्यान्डका प्रशंसक–समूह नै गठन हुन्थे भने एफएम रेडियोमा ती ब्यान्डका संगीतकर्मीको बाक्लो उपस्थिति रहन्थ्यो । ब्यान्डका लागि छुट्टै अन्तर्वार्ता कार्यक्रम बन्थे ।

अहिले समय बदलिएको छ । अडियो क्यासेटमा गीत सुन्ने, सीडी वा पेनड्राइभमा भर्ने युग बदलिएर हेर्ने र युट्युबलगायत प्लाटफर्ममा स्ट्रिम हुने जमाना आइसकेको छ । पछिल्लो पुस्ताको सांगीतिक स्वाद र प्राथमिकता फेरिइसक्दा कुनै बेला अथाह स्टारडम बोकेका ब्यान्डमध्ये धेरैजसो आफ्नो अस्तित्व जोगाइराख्न वा कुनै तरिकाले संगीतमा फर्किन संघर्षरत छन् । ‘मरुन फाइभ’ नामक चर्चित अमेरिकी सांगीतिक समूहका प्रमुख गायक एडम लेभाइनले ‘अब खासै ब्यान्डहरू बाँकी छैनन्’ भनेजस्तै नेपालमा कुनै बेला असाध्यै रुचाइएका नेपाली सांगीतिक समूहहरू धेरैजसो विदेशमा आयोजना भइरहने कार्यक्रमकै भरमा टिकेका छन् ।

पछिल्लो पुस्ताले केही छोडेर अधिकांश ब्यान्डलाई खासै चिन्दैन र चिने पनि बेस्सरी वास्ता गर्दैन । कुनै बेलाको प्रसिद्ध ब्यान्ड ‘१९७४ एडी’ का गितारिस्ट मनोज कुमार केसीले कक्षा १२ सम्मका युवाले आफूहरूका गीत सुनेको भए पनि ब्यान्डबारे अनभिज्ञ रहेको पाए । कस्तो लाग्यो ? भन्छन्, ‘पुस्ता फेरिएको महसुस भयो । यसलाई स्वाभाविक पनि मान्नुपर्छ ।’ नेपाली ब्यान्डहरूको अहिलेको कमजोर स्थितिलाई विश्वव्यापी रूपमै रक ब्यान्डप्रतिको घट्दो रुचिका रूपमा अर्थ्याउन सकिन्छ । नेपाली सांगीतिक समूहमध्ये अधिकांश छिन्नभिन्न र निष्क्रिय भइसकेको अवस्थामा छन् भने केही नयाँ–पुराना ब्यान्ड संगीत सिर्जना गर्न र जतिसक्दो व्यावसायिक रूपमा चल्ने प्रयासमा छन् ।

अथक यात्रा

निरन्तरताका हिसाबले सबैभन्दा पुरानो ब्यान्ड ‘नेपथ्य’ हाल देशव्यापी कन्सर्टमा छ । दुई हप्ताअघि मात्रै ब्यान्डले इलामको करफोकमा भव्य कन्सर्ट गर्‍यो । अब चैत ३० बिर्तामोडमा हुने कार्यक्रमको तयारीमा छ । ‘नेपथ्य’ को अब्बल व्यवस्थापनकै कारण यो समूह देश–विदेशका ठूला र सफल सांगीतिक प्रस्तुति दिने ब्यान्डमा पर्छ । बेलायतको वेम्बलीजस्तो प्रतिष्ठित स्थानमा गुन्जिइसकेको नेपथ्य नेपालमा तीन दशकयता सबैभन्दा चलेको ब्यान्ड हो ।

त्यस्तै, सन् १९९४ मा स्थापना भएर अत्यन्तै चर्चित भएपछि निष्क्रिय बनेको ‘कन्दरा’ ब्यान्ड पनि पछिल्लो समय संगीतलाई पुनः निरन्तरता दिन खोज्दै छ । सातै प्रदेशमा कन्सर्टमार्फत दर्शक–स्रोतामाझ पुग्ने तर्खरमा छ । ब्यान्डले हालै पोखरामा आफ्नो प्रस्तुति दिइसकेको छ भने अर्को महिना धरानमा कार्यक्रम गर्ने तयारीमा छ । ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ विदेश जाने–आउने क्रमसँगै ब्यान्ड निष्क्रिय र सक्रिय रहँदै आएकोमा पछिल्लो समय नयाँ सदस्यसहित कन्दरा जुर्मुराउन खोजेको देखिन्छ । सामाजिक सञ्जाल प्लाटफर्मको व्यवस्थित प्रयोगमार्फत पनि ब्यान्डले आफ्ना गतिविधिबारे जानकारी दिनुका साथै नयाँ–पुराना फ्यानसँग अन्तर्क्रियाको प्रयास अघि बढाएको छ ।

लामो विश्रामपछि पुनः संगीतमा फर्किएको ‘एक्सिस’ अहिलेका ‘प्रिमियम ब्यान्ड’ मध्ये एक हो । यूएई, भारत र नेपाल गरी तीन देशमा कन्सर्ट गरेर एक्सिसले ‘मेरो प्रेम अधुरो’, ‘तिम्रो त्यो मुस्कान’ लगायत आफ्ना चर्चित गीत पुनः गुन्जाएको थियो । ब्यान्ड व्यवस्थापन समूहका अनुसार, पछिल्लो कन्सर्टका लागि ८ हजार प्रतिटिकट छापेकोमा त्यो अपुग भएर थप २ हजार छाप्नुपरेको थियो । एक्सिसका भोकलिस्ट सन्दीप बेलायत बस्ने भएकाले उनको समय अनुकूल हुने गरी थप टुर गरिने व्यवस्थापनले बताएको छ ।

धेरैजसो ब्यान्ड अहिले देश–विदेशका टुरहरूमै व्यस्त छन् । ‘सबिन राई एन्ड द फरोह’ ब्यान्ड केही समययता अस्ट्रेलिया, युरोप र क्यानडाका कार्यक्रमका लागि आऊ–जाऊ गरिरहेको छ भने ‘अल्बाट्रस’ ब्यान्ड अस्ट्रेलिया र न्युजिल्यान्ड टुरको तयारीमा छ । ‘द एज’ र ‘मंगोलियन हार्ट’ पनि यूएई टुरमा जाँदै छन् । यसैबीच झन्डै एक दशकको सुस्ततापछि ‘कर्मा’ ले पुनः सक्रिय हुने तयारीसहित नयाँ एल्बम निकाल्न खोजेको छ । अर्को स्थापित रक ब्यान्ड ‘१९७४ एडी’ आगामी महिना अमेरिका टुरमा जाँदै छ । नयाँ वर्षको उपलक्ष्यमा ‘अभया एन्ड द स्टिम इन्जिन्स’ देशभित्रकै कन्सर्टहरूका लागि अनुबन्धित भइसकेको छ ।

‘नेपथ्य’, ‘१९७४ एडी’, ‘अल्बाट्रस’, ‘मंगोलियन हार्ट’ जस्ता पुराना ब्यान्ड अहिलेसम्मै टिकिरहेका छन् । तर, हिजोआज नयाँ–पुराना कुनै पनि ब्यान्डको त्यति सानदार कन्सर्ट भएका छैनन्, साना ठाउँ र सीमित दर्शक–स्रोतामाझ मात्रै ब्यान्ड गुन्जिएका छन् । तथापि, त्यस्ता कार्यक्रममा ब्यान्ड म्युजिकका सच्चा प्रशंसक टिकटै काटेर उपस्थित हुने गरेको ‘१९७४ एडी’ का मनोज बताउँछन् । ‘ठूलो कन्सर्ट गर्न ठूलै प्रायोजक चाहिन्छ, अहिले देशको आर्थिक स्थिति सुस्त भएका बेला ठूला प्रायोजक पाउन गाह्रो छ,’ उनी भन्छन्, ‘आयोजक सधैं प्रायोजकसँग झुक्नुपर्ने अवस्था छ ।’

नेपालमा ब्यान्डहरूलाई कार्यक्रम गर्न पर्फर्मिङ हल, ग्राउन्ड र स्टेडियम नभएकाले पनि समस्या हुने गरेको मनोजको बुझाइ छ । ‘कन्सर्टकै लागि भनेर कुनै निश्चित गतिलो ठाउँ उपलब्ध छैन,’ उनी भन्छन्, ‘टुँडिखेल वा रंगशाला कन्सर्ट गर्ने ठाउँ होइनन् । फेरि सरकारलाई भाडा तिरेर यस्ता मैदानमा कन्सर्ट गर्न धेरै प्रक्रियागत झन्झट छ ।’ ब्यान्ड आफूले आफूलाई ‘एक्स्क्लुसिभ’ राख्न र नियमित अभ्यास गरेर स्तर बढाउन पनि कन्सर्ट चाहिने मनोजको बुझाइ छ । सन् २००२ मा ‘१९७४ एडी’ ले नेपाली ब्यान्डहरूको इतिहासमै ठूलो मानिने 'रक यात्रा' कन्सर्ट गरेको थियो । दशरथ रंगशालामा भएको कन्सर्टमा भित्र–बाहिर गरी करिब ८० हजार दर्शक उपस्थित थिए ।

विदेशमा दिनहुँ कार्यक्रम

ब्यान्डको संगीत सुन्ने र गुनगुनाउने पुस्ता विदेशिन थालेपछि अहिले धेरैजसो कार्यक्रम नेपाली बाहुल्य रहेका खाडीका देशहरू, अस्ट्रेलिया, अमेरिकाका विभिन्न सहरमा हुने गरेको आर्टिस्टहरू बताउँछन् । सन् ९० को दशकमै स्थापना भएको लोक–पप ब्यान्ड ‘मंगोलियन हार्ट’ आफ्नो स्थापनाको ३५ वर्ष पुगेको अवसरमा नयाँ एल्बमसँगै विदेश यात्राको योजना बनाउँदै छ ।

पोखरेली समूह ‘द एज’ ले पनि स्थापनाको २५ वर्ष पारेर विश्वव्यापी संगीत यात्रा गर्ने सोचेको छ । हालै मात्र अमेरिका टुरका क्रममा महिनाको १२ वटासम्म सांगीतिक कार्यक्रम गरेको ‘द एज’ ब्यान्डका भोकलिस्ट जीवन गुरुङको अनुभव छ । ‘युवाजति सबै विदेशमा छन्, हाम्रो कार्यक्रम पनि विदेशमै धेरै हुन्छ,’ जीवन भन्छन्, ‘नेपालमा पनि महिनामा दुई/चारवटा त गरिरहेकै छौं ।’

आर्थिक रूपमा राम्रै हुने भए पनि विदेशमा कार्यक्रम गर्दैमा नेपाली संगीत विदेश पुगेको भन्न सकिने अवस्था छैन । त्यहाँ पनि नेपाली समुदायबीच नै कार्यक्रम हुने भएकाले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने अवस्था नरहेको संगीतकर्मीको बुझाइ छ । विदेश रहेका नेपालीहरूको आफ्नो गच्छेले भ्याउने हुनाले उता दिनहुँजसो कार्यक्रम आयोजना हुने मनोजको अनुभव छ । ‘अस्ट्रेलिया, दुबईमा हरेक दिन सांगीतिक कार्यक्रम हुन्छन्, त्यहाँका दर्शक पनि कति वटामा मात्रै जाने ?,’ उनी भन्छन्, ‘हामीले विभिन्न अवसर, पर्व, उत्सवहरूमा कार्यक्रम गर्ने गरेका छौं । हाम्रो ३० औं एनिभर्सरी आउँदै छ, त्यसकै उपलक्ष्यमा आउँदो मेदेखि हामी वर्ल्ड टुर गर्दै छौं ।’

सोलो आर्टिस्टको जगजगी

रक विधाको स्थापित ब्यान्ड ‘द स्याडोज नेपाल’ का भोकलिस्ट स्वप्निल शर्मा कन्सर्ट नभएको र ब्यान्डहरू पनि सक्रिय नभएकाले ब्यान्ड म्युजिक हराएजस्तो देखिए पनि त्यसको मुख्य कारण स्रोताको रुचि फेरिनु भएको बताउँछन् । ‘संगीतप्रतिको प्राथमिकता चक्रियजस्तो हुन्छ, अहिले हिपहप, ईडीएम, आरएन्डबी र अलिक स्लो खालका गीत–संगीत चलिरहेका छन्, तर फेरि कुनै दिन रक विधा पुनः फर्किन्छ,’ उनी भन्छन्, ‘संगीत फेसनजस्तै हो । पहिले बेली प्यान्ट फेसनमा थियो, बीचमा हरायो र अहिले फेरि ट्रेन्डमा छ । संगीतमा पनि त्यस्तै साइकल हुन्छ ।’

स्वप्निलका अनुसार, अहिले सामाजिक सञ्जालका कारण सजिला संगीत चल्तीमा छन् । रक संगीत आफैंमा गाह्रो र बुझ्न निकै ध्यान दिएर सुन्नुपर्ने विधा भएकाले ‘इजि लिसनिङ’ को दिनचर्यामा अट्न सकेको छैन । ‘ईडीएम, आरएन्डबीको तुलनामा सन् २००० बाटै रक म्युजिकले आफ्नो पपुलारिटी गुमाउँदै गएको हो,’ उनी भन्छन्, ‘तर, समयअनुसार आफूलाई परिष्कृत गर्नेहरू सधैं रुचाइएकै छन् ।’ स्वप्निललाई लाग्छ, नेपालमा रक ब्यान्ड सुरु गर्नेहरू अहिले वयस्क उमेरमा पुगिसकेको र नयाँ पुस्ता मूलधारमा हाबी हुने गरी नआएकाले केही सुस्तता छाएको हो ।

‘विश्वमै सोलो आर्टिस्ट चलिरहेकै छन्, टेलर स्विफ्ट, एड सिरनको जमाना छ, अहिलेका पुस्ता उनीहरूलाई सुनेर हुर्किरहेका छन्, उनीहरूजस्तै बन्न चाहन्छन्,’ स्वप्निलको विश्लेषण छ, ‘हाम्रो पुस्ता मेटालिका, एरोस्मिथ सुनेर हुर्किएको हो, हाम्रा आइडल ती थिए । उनीहरूकै कारण ब्यान्ड खोल्न हामीलाई प्रेरणा मिल्यो ।’ स्वप्निलको अनुभवमा ब्यान्ड निकै महँगो चिज पनि हो । अहिले आर्थिक मन्दीका बेला ब्यान्डलाई टिक्न र अघि बढ्न चुनौती छ । ब्यान्डभन्दा सोलो आर्टिस्ट चल्नुको कारण वित्त व्यवस्थापन पनि एक हो । उदहारणका लागि- सोलो आर्टिस्टलाई दुई लाख रुपैयाँ पारिश्रमिक दिए उल्लेख्य हुन्छ र आयोजक, व्यवस्थापकलाई पनि केही फाइदा हुन्छ, तर ब्यान्डमा २ लाख भाग लगाउँदा २० हजार पनि एउटाको भागमा नआउने उनको अनुभव छ ।

यस्तै, आफू निरन्तर २२ वर्षदेखि ‘मंगोलियन हार्ट’ मा आबद्ध रहेको र अन्य पेसा वा आयस्रोत केही नभएको बताउने गितारिस्ट बबी लामा ‘राम्रै जीवन बाँचिरहेको छु’ भन्छन् । ‘युवा पुस्ता ब्यान्ड फर्म गर्दैन, एक्लै गाउन रुचाउँछ, बजारले यस्तो बनाइदिएको हो,’ उनी भन्छन्, ‘हाम्रै ब्यान्डको पनि अरू सदस्य साइड जब गर्नुहुन्छ । राजु र म संगीत मात्रै गर्छौं ।’ ब्यान्ड बनाउनु र बचाउनु महँगो र कसरतपूर्ण बन्दै गएको उनको निष्कर्ष छ ।

संगीत सुन्नेहरूको र पूरै बजारको स्वाद फेरिएकाले नै ब्यान्डहरू सुस्ताएको भन्छिन् ‘अभया एन्ड द स्टिम इन्जिन्स’ की अभया सुब्बा । केही समयअघि कान्तिपुर ‘कोसेली’ सँगकै अन्तर्वार्तामा उनले विशेषतः रक विधा विश्वमै ओझेल परेको भनाइ राखेकी थिइन् । ‘सबैलाई थाहै छ, रक संगीत अहिले चल्तीमा छैन  तर, नयाँ कुरा आउने/जाने भनेको निरन्तर चलिरहने प्रक्रिया हो,’ अभयाको भनाइ थियो, ‘रक संगीत फेरि फर्केला/नफर्केला, तर, मान्छेले नयाँ पाराले सोच्ने र नयाँ रचना गरिरहनुपर्छ ।’ अभयाले पहिले–पहिले सिम्फोनी अर्केस्ट्राहरू हुने र सय/दुई सय जना म्युजिसियन बसेर अर्केस्ट्रा चलाउने संख्या घट्दै गएर १२ जनाले अर्केस्ट्रा गर्न थालेको र बिस्तारै १२ बाट घटेर अहिले त्यो संख्या ५ मा पुगेको बताइन् । ‘अहिले त पाँचबाट पनि घटेर एउटा मात्रै भएको छ– डीजे, जसले सबैथोक आफैं गर्छ र चल्छ पनि,’ उनले भनिन् । परिवर्तन स्विकार्नैपर्ने र ब्यान्ड वा रक संगीतलाई रिइम्याजिन वा रिलोड गर्नु (अर्को ढंगबाट ल्याउन) जरुरी भएको उनको बुझाइ छ ।

नयाँ ब्यान्डको उदय

नेपालमा रक म्युजिकसहित नयाँ गीत गाउने सांगीतिक समूह बन्नै छोडेका भने होइनन् । ‘ब्यान्ड च्याम्पियन’ नामक रियालिटी शोले ब्यान्डहरूको स्थापना बढाएको पनि थियो । सन् २०२२ मा भएको ब्यान्ड च्याम्पिएनको दोस्रो सिजनमा झन्डै २०० ब्यान्डले आवेदन दिएकोमा २५ वटा छनोट भएका थिए । पहिलो सिजनमा पनि झन्डै ७० वटा ब्यान्डले छनोटका लागि प्रयास गरेका थिए । यो संख्याले पनि देखाउँछ– ब्यान्डहरू बन्नै बन्द भएको होइन, तर लोकप्रिय बन्न नसकेको सत्य हो ।

‘रकहेड्स’, ‘जन चाम्लिङको ब्यान्ड’, ‘झिल्के एन्ड द कम्पनी’, ‘पूर्ण राई एन्ड दाजुभाइ’ जस्ता केही नयाँ ब्यान्ड उदाउँदो क्रममा छन् । सन् २०१० तिर रक संगीतकै विभिन्न विधालाई आधार बनाएर स्थापना भएका ‘अन्डरसाइड’, ‘मजिपा,’ ‘पहेँलो बत्तीमुनि’, ‘द एक्ट’ पनि पछिल्लो पुस्ताका ब्यान्ड हुन् । नयाँ ब्यान्डहरू आउँदै नआएका होइनन्, तर ती केही समयमै सुस्ताउनु वा लिड सिंगर आफैं एकल गायनमा लाग्नु नै खास समस्या भएको पुराना संगीतकर्मीको बुझाइ छ । देशबाट तीव्र गतिमा युवा बाहिरिँदा ब्यान्डकै सदस्य र प्रशंसक पनि बाहिरिने गरेकाले समस्या झन् थपिएको उनीहरूको धारणा छ ।

सन् २०१० मा स्थापना भएको रोहित शाक्यको ‘जिन्दावाद’ ब्यान्ड केही समयमै सुस्तायो । युट्युब, स्पटीफाइ जस्ता प्लाटफर्मबाट हुने आम्दानी र सोलो करियरको आकर्षणले ब्यान्ड संगीत सुस्ताएको अनुभव गरेका रोहितले एक अन्तर्वार्तामा भनेका थिए– आफ्नो ब्यान्ड फेरि जगाउन लागिपरेको छु ।

लाइभ म्युजिकको मिठास

कुनै समय चर्चित रहेर अहिले सेलाएका वा फेरि ब्यान्ड ब्युँताउने प्रयत्नमा रहेका सबैजसो संगीतकर्मी लाइभ संगीतको आकर्षण नघटेको धारणा राख्छन् । ‘मंगोलियन हार्ट’ का बबी लामाको बुझाइ छ– लाइभ संगीत सिर्जना र प्रस्तुतिमा ब्यान्ड म्युजिकको ठूलो महत्त्व हुन्छ र एक्लै स्टेजमा उभिएर ट्र्याकमा गाउनुभन्दा स्टेजभरी नै विभिन्न बाजागाजा बजाउँदै प्रस्तुति दिनुमा धेरै अन्तर रहन्छ । ‘ट्र्याकमा गाउनेले गाएको हो कि लिप सिंक गरेको, छुट्याउनै गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘कतिले त दर्शकलाई गाएजस्तो गरी झुक्याइरहेका हुन्छन् ।’

झन्डै तीन दशक नेपाली संगीतमा सक्रिय रहेका उनका लागि ब्यान्ड भनेको लाइभ म्युजिक र लाइभ म्युजिक भनेको कला सभ्यताको प्रतिबिम्ब हो । स्वप्निलको बुझाइमा, विशेषतः लाइभ संगीतकै कारण अहिले पनि ब्यान्डहरूको माग छ । कन्सर्टमा ब्यान्डले जति कसैले पनि ऊर्जा जगाउन र दर्शकसँग जोस साटासाटा गर्न नसक्ने उनी बताउँछन् । तर, अचेल आउटडोर कन्सर्ट हुनै छोडेकोमा उनलाई दुःख लाग्छ । ‘ब्यान्ड भनेको इनडोरका लागि हुँदै होइन, यस्तै तारताम्य नमिलेर ब्यान्डहरू पहिलेजस्तो भाइब्रेन्ट नदेखिएका हुन्,’ स्वप्निल भन्छन्, ‘ब्यान्ड कल्चर जोगाउन हामीले आफ्नोतर्फबाट केही प्रयास गर्दै आएका छौं । पर्पल हेज रक बारमा रक ब्यान्डलाई प्राथमिकता दिएर निरन्तर कार्यक्रम गर्दै आएका छौं ।’

सन् २००४/५ तिर ब्यान्ड सुरु गर्दा जताजतै रक ब्यान्डकै गीत सुन्न पाइने र टीभीमा पनि रक गीत नै बज्ने गरेको स्वप्निल सम्झन्छन् । ‘त्यो बेला कार्यक्रमहरू पनि टन्नै हुन्थे । हामीले विभिन्न सहरका छत–छतमा कन्सर्ट गर्‍यौं,’ उनी भन्छन्, ‘काठमाडौं मल उद्घाटन गर्दा हामीले त्यसको छतमा कन्सर्ट गरेका थियौं । मलहरूको आँगनदेखि सडक–सडकमै पनि कन्सर्ट गरियो । ती दिन असाध्यै रमाइला थिए ।’

स्वप्निल र अशोक सेनले सन् २०११ मा ‘पर्पल हेज’ स्थापना गरे । पर्पल हेजले वार्षिक रूपमा ‘बिग फोर’ कार्यक्रम गरी चारवटा ब्यान्ड र अन्य आर्टिस्टलाई अनिवार्य स्टेजमा उभ्याउने गरेको छ । चार दिनसम्म चल्ने कार्यक्रममा स्थापित ब्यान्डहरूको प्रस्तुति विशेष आकर्षण हुन्छ । यसपालि पनि नयाँ वर्षका दिन यो कार्यक्रम हुँदै छ । त्यसमा ‘सबिन राई एन्ड द फरोह’, ‘अल्बाट्रस’, ‘कर्मा’ र ‘जन चाम्लिङ राईको ब्यान्ड’ को प्रस्तुति रहनेछ ।

नेपाली संगीत क्षेत्रलाई नजिकबाट नियाल्नेहरू ब्यान्ड संगीत सुस्ताउनुमा प्रविधि र प्रस्तुतिमा नयाँपन नहुनु, कमजोर बजार व्यवस्थापन, ब्रान्डिङको अभावसँगै बलियो व्यावसायिक योजना नहुनुलाई पनि प्रमुख कारण मान्ने गर्छन् । संगीत विश्लेषक सलिल सुवेदीका अनुसार, ब्यान्डहरू मरेका होइनन् तर सांस्कृतिक शैलीमा परिवर्तन आएको हो । ‘रक फेरि फर्किन्छ । अहिले एनालग क्यामरा र क्यासेट चक्का खोज्न थालिएको छ,’ उनी भन्छन्, ‘यो यस्तै चक्र हो, संस्कृति परिवर्तनशील हुन्छ र यसलाई अहिले प्रविधिले अत्यन्तै प्रभावित पारेको छ ।’ कुनै बेला ‘आयोनिका’ नामक रक ब्यान्ड र त्यसपछि ‘त्रिकाल’ समूहमा आबद्ध सुवेदी अहिले आर्थिक, प्राविधिक, व्यवस्थापकीय लगायत विभिन्न कारण ब्यान्ड स्थापना गर्न कठिनाइ भए पनि संगीतकर्मीले आपसमा सहकार्य गर्न भने छाड्न नहुने धारणा राख्छन् । ‘प्रविधिको हस्तक्षेपले गीत बनाउने र गाउने तरिका फेरिएको छ, मान्छेहरू बढी निजत्व भावका गीत बनाउने र सुन्ने गर्छन्,’ सलिल भन्छन्, ‘सन् ७०, ८० र ९० को दशकका गीत ऊर्जावान् र खुसीयाली मनाउने भावका हुन्थे । त्यो बेला ब्यान्डहरूको लहर थियो ।’

रक प्रस्तुतिमा कलाकार–दर्शक दुवैको जोस र ऊर्जा उजागर भएर आउने सलिल बताउँछन् । अचेल आफैं पनि सोलो करियरमा भइरहँदा रक विधाको भाइब असाध्यै खड्किने उनको अनुभव छ । ‘अहिलेका गीतहरू साह्रै सफ्ट, मेलोडियस र मीठा खालका हुन्छन्,’ उनले भने, ‘कहिलेकाहीं लाग्छ– किन सबै यति शान्त छन् ? किन कोही भित्रैदेखि चिच्याइरहेको छैन ? आफूभित्रको सबैथोक किन गीतमार्फत ओकलिरहेको छैन ? गीत सधैं मीठो मात्रै हुनुपर्दैन । संगीतमा अहिले पोलिटिकल करेक्टनेस हाबी भएको छ ।’ यो माहोल जति धेरै उत्कर्षमा पुग्छ, रक विधा त्यति छिटो फर्किने सलिलको बुझाइ छ, किनभने रक विद्रोही विधा हो ।

सलिलका अनुसार, ब्यान्ड सदस्यहरूले एकै स्टेजमा उभिएर निकाल्ने संयुक्त ऊर्जाले समाजलाई पनि जोसिलो बनाउँछ, जस्तो थियो ‘साइलेन्स फेस्टिभल’ को माहोल, जहाँ देश–विदेशका हेभी मेटल ब्यान्ड एकै ठाउँ उभिएर विद्रोह र आक्रोश ओकलिरहेका सुनिन्थे । त्यो थियो– साइलेन्स फेस्टिभल अर्थात् ब्यान्डहरूको उत्सव ।

प्रकाशित : चैत्र २४, २०८० १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?