मलाई फकिर रहन देऊ

केही यात्री छन्, जो सधैं डुलिरहन चाहन्छन्, जसलाई जीवनमा ‘एड्भेन्चर’ र ‘एक्साइटमेन्ट’ चाहिएको छ । यस्ता फकिरहरूमा म आफ्नै अनुहार देख्छु । म स्थिर भएर जीवनैभर तलाउको पानी हुन सक्दिना । बगिरहनु छ मलाई ।
शिक्षा रिसाल

लिलन एक्सप्रेसको ‘५४ सी’ सिट नम्बरको झ्यालबाट बाहिर हेरिरहेकी छु म । झ्यालको सिसा फोहोर छ । पर कतै क्षितिजमा सूर्यास्त हुँदै छ । मेरा आँखाले भ्याउनेसम्म विन्डमिलका टावर, बिजुलीका खम्बा मात्रै देखिन्छन् । कतिकति बेला स–साना झुपडी देखिन्छन् । अनि फेरि स–साना बस्ती आउँछन् । जयपुरबाट चलेको लिलन एक्सप्रेसको आफ्नै रफ्तार छ ।

मलाई फकिर रहन देऊ

प्ल्याटफर्ममा मात्रै रोकिन्छ । कोही परिवार, एकल यात्री, कोही सहरबाट केही दिन बिदा मनाउन गाउँ फर्कंदै छन् । यही रेलको डब्बामा आज कत्तिको कहानी सुरु हुँदै छ होला । कसैको कहानीको अन्तिम पन्ना यहीं कतै कुनै प्ल्याटफर्ममा पुगेर सकिन्छ होला । मेरो कुन कहानी लेख्दै छु, थाहा छैन । तर, मलाई लिलन एक्सप्रेसले राजस्थानको जैसलमेरतिर लैजाँदै छ । सायद मेरो कहानीको पहिलो अक्षर यहीं लेखिन्छ कि !

मेरो ठ्याक्कै अगाडिको सिटमा एकजना भारतीय युवती बसेकी थिर्ई— निधि । उसले सोधेकी थिई, ‘तपार्इं कन्टेन्ट क्रियटर हो ?’

‘होइन । मलाई जैसलमेर देख्न मन लागेर...,’ मेरो कुरा नसकिँदै उसले ओठ लेप्य्राई । ठसक्क पर्दै भनी, ‘थाहा छैन, मान्छेहरू यति टाढा यो माटो र बालुवा हेर्न किन आउँछन् ?’

ऊ जयपुरमा भारतीय न्याय सेवा परीक्षाको तयारी गर्दै रहिछ । ऊ रेलमै किताब लिएर प्रश्नावली भर्दै थिर्ई । अहिले ऊ आफ्नो गाउँ जैसलमेर जाँदै छे, परिवार भेट्न । उसलाई थाह पाउनु छैन— टुरिस्टहरू टाढाटाढादेखि जैसलमेर के हेर्न आउँछन् ? किन आउँछन् ? ‘आजभोलि कति धेरै महिलाहरू ट्राभलमा निस्केको देख्छु, सोलो,’ उसले जिज्ञासु हुँदै थपी ।

‘तपाईं घुम्नुहुन्न ?’ मैले सोधें ।

‘घुम्न त कसलाई मन पर्दैन र ! तर, पढ्नुपर्‍यो । जागिर खानुपर्‍यो । फेरि परिवार । घुम्न सधैं साथीहरूको मिल्दैन पनि । त्यसैले अब मेरो फोकस त यही हो,’ उसले न्याय सेवाको कानुनी किताब देखाउँदै भनी, ‘म त यहीं जयपुरबाट जेसलमैर । जेसलमैल टु जयपुर ।’ उसले रेलको सिसातर्फ यताउता इसारा गरेर देखाई ।

उसका कुरा सुन्दा लाग्यो— जीवन कति सरल छ ! पढाइ, काम अनि परिवार । अनि म ? म किन कतै टिक्न सक्दिनँ !

मैले आफ्नो जीवनलाई सरर फ्ल्यासब्याकमा हेरें । सकसले जीवनका ठुल्ठूला खुड्किला चढेको र हुरुरु झरेको देखें । झरेर फेरि लत्रिँदै उक्लिएको देखें । मेरा ती हरेक स्मृतिमा म एक्लै थिएँ, जसरी अहिले जैसलमेरतिर बरालिँदा एक्लै छु ।

तर, ठीक छ । अब यो मेरो अन्तिम सोलो यात्रा हो । अब जीवनमा प्राथमिकताका साथ अघि बढ्छु । अनुशासनमा बस्छु । हरेक ठाउँ जान मन लाग्ने, देख्न मन लाग्ने बानीले बित्यास लगाउने रहेछ । यही फकिरीको भुमरीमा परेर कहिले फोन हराएकी छु, कहिले पैसा र पार्सपोर्ट हराएकी छु । सँगसँगै आशा र सपना पनि हराएकी छु ।

एक मन सोचें— अब म हराउन्नँ । हराउने गरी म कतै हराउन्नँ । निधिको अनुहारमा मैले ती तमाम शान्त अनुहार देखें, जसलाई पढ्नु छ, काम गर्नु छ, एउटा सेटल्ड जीवन बाँच्नु छ, कतै नहराई एउटै लय र बाटोमा हिँड्नु छ । अर्कातर्फ ती यात्रीहरू छन्, जो सधैं डुलिरहन चाहन्छन् । जसलाई जीवनमा ‘एड्भेन्चर’ चाहिएको छ । ‘एक्साइटमेन्ट’ चाहिएको छ । यस्ता फकिरहरूमा म आफ्नै अनुहार देख्छु । म स्थिर भएर जीवनभर तलाउको पानी हुन सक्दिनँ । मलाई बगिरहनु छ ।

सन् २०१४ मा कंगना रनौतको फिल्म आयो– ‘क्वीन’ । यो फिल्मले धेरै महिलालाई एक्लै यात्रा गर्न, संसार चिन्न, आफूलाई माया गर्न प्ररेणा दियो । त्यसपछि मैले यात्राका दौरान भेटेका अधिकांश महिला ‘सोलो ट्राभलर’ थिए । एकल यात्रीहरूमा जब महिलाहरूलाई देख्छु, उनीहरूको चम्किलो मुस्कान, अटल आत्मविश्वासमा म आफ्नै प्रतिबिम्ब पाउँछु ।

रेलबाहिर साँझ ढलेर रात पर्दै थियो । झ्यालको सिसामा आफ्नै थकित अनुहार मात्रै देखिन्थ्यो ।


‘क्वीन’ आएको पाँच वर्षपछि म इन्डोनेसियाको सेम्नियाक समुद्री तटमा थिएँ । सूर्य डुब्दै गर्दा उसले छोडेर जाने रंगले आकाश पोतिएको मलाई असाध्यै मन पर्छ । त्यतिबेला म सिंगो ब्रह्माण्डप्रति कृतज्ञ हुन्छु । त्यो सूर्यास्त इन्डोनेसियाको बालीमा भइरहेको थियो ।

म बाली आएको तेस्रो दिन थियो । २०१९ अक्टोबरको रमणीय मौसमले सहर पूरै रंगीन देखिन्थ्यो । कोही परिवारको सान्निध्यमा डुबिरहेका थिए, कोही प्रेमी र प्रेमिकाको

आलिङ्गनमा डुबिरहेका । मजस्ता फकिरहरू डुब्दै गरेको सूर्यमा डुबिरहेका थिए । धेरैको हातमा ‘कोरोना’ बियरको क्यान थियो । तर, कसैलाई पनि २०२० मा कोरोनाले विश्वभर निम्त्याउने विकराल परिस्थितिको हेक्का थिएन ।

एउटी भर्खरकी युवती केही दुःखी देखिइरहेकी थिई । लाग्थ्यो— उसलाई थाहा छ, अब केही महिनापछि संसारमा विकराल भाइरस आउँदै छ । ऊ एकटकले सूर्यास्त हेर्दै थिई । सायद ब्रेकअप भएर एक्लै घुम्न निस्किएकी थिर्ई ऊ ।

‘हाई ! यु अलोन ?,’ मैले सोधें । ऊ झसंग भई ।

‘नो, आई ह्याब फ्रेन्ड्स,’ उसले हतारहतार उत्तर दिई । अनि मलाई बेवास्ता गर्दै फेरि सूर्यास्तसँगै डुब्न थाली । सोचें— म त्यस्तो खराब त देखिन्नँ होला ! यो मसँग किन तर्सिई ?

‘एक्सक्युज मी,’ त्यही दुःखी अनुहार लिएर सूर्यास्तसँगै डुबिरहेकी युवती मेरोसामु उभिई, म मुस्कुराएँ । उसले अंग्रेजीमा भनी, ‘खासमा म एक्लै नै छु । यो मेरो पहिलो सोलो यात्रा हो त्यसैले मैले तपाईंसँग झूट बोलेकी थिएँ । आई एम सरी ।’ मैले हाँस्दै ‘इट्स ओके’ भनें । ऊ क्यानडाबाट आएकी २४ वर्षकी क्याथरिन थिई । ऊ सामान्य परिवारमा हुर्केकी रहिछ । उसका कुरा सुन्दा मलाई घरीघरी कुनै फिल्मको पटकथा पढेजस्तो लाग्थ्यो । ऊ आफ्नो कथा सुनाउँदै थिई, ‘म सानै छँदा बुबा–आमाको डिभोर्स भयो । झगडा मात्रै परिरहन्थ्यो । एक हिसाबले ठिकै पनि भयो । किन सम्बन्धलाई जबर्जस्ती घिसार्नु ? आफैंलाई नबुझेसम्म अरूलाई बुझ्न कहाँ सजिलो हुन्छ र ?’

उसका कुरा सुन्दा लाग्यो— हामी आफ्नालाई भन्दा कहिल्यै नभेटिने, नचिनेका मान्छेसँग दुःखका कथा सजिलै सुनाउन सक्दा रहेछौं । हामीलाई आफ्नाले कहिल्यै किन सुन्दैनन् ?

‘मलाई जीवनमा धेरै कुरा एक्सप्लोर गर्न मन छ । यात्रा गर्न मन छ,’ यात्राको कुरा भनिरहँदा क्याथरिनका आँखामा चमक देखियो । उसलाई कसैले भनेको थियो रे, ‘जिन्दगीमा एकपटक एक्लै कतै जानू, घुम्नू । यसले संसार कति फराकिलो छ भनेर चिनाउँछ । सकारात्मक र नकारात्मक सबै कुरा पहिल्याउन सिकाउँछ । सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्ना लागि के हौं, आफ्नो कम्फर्ट जोनबाट निस्किएर आफूलाई कसरी सम्हाल्छौं भन्ने कुरा बुझाउँछ ।’

जसले भन्यो, एमदम सही भन्यो ।


बाली पुग्नुअघि म सिंगापुरमा रमाइरहेकी थिएँ । ‘मरिना बे’ को रंगीन र चम्किलो सहरमा टहलिँदा अर्की यात्री भेटिएकी थिर्ई— भारत मुम्बईकी तब्बसुम । ऊ एक्लै सिंगापुर घुम्न आएकी थिई । ऊ सिंगापुरमा भए पनि उसको मन मस्तिष्क मुम्बईमै थियो— उसको प्रेमीसँग । उसको प्रेमी हिन्दु हो, ऊ मुस्लिम । भारतमा हिन्दु–मुस्लिम द्वन्द्व चर्किरहन्छ । समाज उनीहरूको प्रेमको विरोध गर्छ । धर्म उनीहरूको प्रेमलाई पाप मान्छ ।

‘यदि उसले हिम्मत गरेको भए हामी सँगै हुन सक्थ्यौं । आखिरमा उसले धर्मलाई बहाना बनायो,’ उसले पिल्पिलाउँदै भनेकी थिई । मैले उसका कुरा चुपचाप सुनिरहें । सायद उसको प्रेमी चाहन्थ्यो त सँगै हुन्थे होला । तर रोएर, तड्पिएर कसैको साथ पाउनु भनेको एउटा लासलाई आफूसँग जञ्जिरले बाँधेर राख्नु जस्तै हो । उसले रुँदै सुनाई, ‘यसपालि ठूलो झगडा पर्‍यो । म त घरमा बस्नै सकिनँ । अनि भिसा–फ्री हुने देश खोजें र ब्यागप्याक गरेर निस्किएँ ।’

दिल टुटाउन र लुटाउन पनि बैंकमा टन्न पैसा चाहिन्छ । म जस्ताको दिल टुटे कहाँ जाने ? धन्न मेरा त पशुपतिनाथ छन् । अनि अलिक धेरै चुरचुर भए भारत नजिक पनि, किफायती पनि । गाडीमै पनि जान सकिन्छ । आखिर विदेश नै त हो ।

‘कहिलेकाहीं मन बहलाउन त्यो ठाउँबाट टाढा गएको राम्रो हो नि, हैन ?,’ ऊ सोध्दै थिई । म पनि उस्तैउस्तै पीरको मारा न थिएँ । तर, पनि म उसलाई सुन्ने प्रयास गरिरहेकी थिएँ । ऊ सोसल मिडियामा आशक्त थिई, इन्स्टामा स्टोरी हालिरहन्थी । तर, ब्वाइफ्रेन्डले हेर्‍यो कि हेरेन, उसको ध्यान यही कुरामा मात्रै अडिएको थियो ।

प्रेमले मान्छेलाई यति धेरै कमजोर बनाउँछ ? प्रेमले दुःखी बनाउँछ ? किन हामीलाई जीवनमा अरूको प्रेम चाहिन्छ ? के प्रेममा हामीलाई हरबखत अटेन्सन चाहिन्छ ?

सायद मान्छे अटेन्सन खोज्नैका लागि गायब हुन चाहन्छ । ऊ बस् यसका लागि हराउन चाहन्छ कि कसैले उसलाई खोजोस्– ऊ कहाँ छ ? के गरिरहेछ ? वा मतलब गरोस् । उसको वेदनामा तड्पियोस्, बिछोडमा पिरोलियोस् । तर, हामीभित्रको अहम्ले त्यस्तो भन्न दिँदैन । जो जहाँसुकै जाओस्, जसले जेसुकै गरोस्— हामीलाई चासो छैन । जो जान्छ, उसलाई जान देऊ । जो तिमीसँग बोल्दैन, ऊसँग तिमी पनि नबोल ।

तब्बसुमको प्रेमयात्रा समाज र धर्मका कारण टुंगियो । तब्बसुमको यो घाउ समयसँगै सायद निको भयो होला । ऊ केही हप्ता विदेशतिर भड्किई । के यात्रा गर्नु र भड्किनु फरक कुरा हुन् ? ऊ कहिले रोएको, कहिले हाँसेको, कहिले

एक्लिएको पोस्ट गरिरही । आफ्नो डिस्प्ले पिक्चर फेरिरही । स्टाटसमा अरिजित सिंहका गीतहरू पोस्ट गरिरही । तर, जहाँ–जहाँ भड्किए पनि उसको प्रेमीले उसको खोजी गरेन । अन्त्यमा उसले आफ्नै प्रेमसँग हार मानी र घोषणा गरी, ‘म अब कहिल्यै कसैलाई प्रेम गर्न सक्दिनँ ।’


मलाई आफू भारतको कुनै मन्दिरमा पो छु कि जस्तो महसुस भइरहेको थियो । मलेसियाका बटु केभ परिसरमा ठूलो–ठूलो आवाजमा गायत्री मन्त्र घन्किइरहेको थियो । चारैतिर भारतीय नै भारतीयका होटेल, पूजा सामग्रीका पसल । सबै व्यापारीहरू दक्षिण भारतका । यी भारतीयहरू नभएको देश पनि कतै नहुने भो । जता पनि भारतीय भेटिएपछि एकजना साथीले भनेको थियो, ‘क्यानडा आएर अंग्रेजी राम्रो होला भनेको हिन्दी र पञ्जाबीमा पर्फेक्ट भइसकें । अब आईईएलटीएसभन्दा हिन्दीको जाँच लिनुपर्छ ।’

म मनमनै मुर्मुरिए पनि उनीहरूको व्यवसायमा थप सहयोग पुर्‍याउँदै एउटा नरिवल पानी किनें । अनि एउटा कुर्सी तानेर बसें । पसलका भारतीय दाइले सोधे, ‘यु फ्रम नर्थ इस्ट इन्डिया ?’

‘नो, आई एम फ्रम नेपाल,’ नेपाल भन्नेबित्तिकै मेरा हातका रौं ठाडा भए । मनमुटुमा देशप्रेम बग्यो ।

‘ओ ... ओ ... माउन्ट एभरेस्ट, राइट ?’ म हाँसें ।

धन्न नेपालमा सगरमाथा छ र देश चिनाउन पाइन्छ । सगरमाथा नभएको भए हामी के भनेर चिनिन्थ्यौं होला ? श्रमिकको देश ? भ्रष्ट नेताको देश ? गौतम बुद्ध बाँचिरहेका भए देशको हालत देखेर सम्भवतः अमेरिका या अस्ट्रेलिया गएर लुक्थे । खैर !

‘वाउ माउन्ट एभरेन्ट । यु बिन टु माउन्ट एभरेस्ट ?,’ मेरो टेबलछेउमा बसेकी एक विदेशी केटीले सोधी । अनि उत्तर नपाउँदै परिचय दिई, ‘हाई, नोरा फ्रम मोरोक्को ।’

कुरै कुरामा नोराले भनी, ‘मलाई नेपालमा सगरमाथा बेस क्याम्प जान मन लागेको छ ।’

ऊ मलाई देखेर किन खुसी भई, थाहा भएन । तर, म नेपालबाट एक्लै आएको सुनेपछि मेरोभन्दा बढी चमक उसको अनुहारमा थियो । मैले उसलाई नेपाल आउने निम्तो पनि दिएँ । उसले भनी, ‘सगरमाथा बेस क्याम्प त मेरो बकेट लिस्ट हो ।’

‘अनि एक्लै घुमिरहेको ? नेपाल पनि एक्लै आउने ?,’ उसले एकपटक लामो सास फेरी र भनी, ‘रिसेन्टली गोइङ थ्रु अ हार्टब्रेक ।’

प्रेममा धोका पाएपछि सबै कवि, गजलकार बन्छन्/बन्दैनन्, थाहा छैन तर कोहीकोही एकल यात्री भने जरुर बन्दा रहेछन् ।

लौ न ! नट अगेन ! नट अगेन ! मेरो दिमाग फेरि अर्को ब्रेकअपको कथा सुन्न तयार थिएन ।

ऊ आफ्नोबारे बताउँदै गई, ‘नेपाल आउने त मेरो र मेरो एक्सको योजना थियो, तर अहिले हामी छुट्टियौं ।’

‘हु गेभ अप ?,’ मैले ठाडै सोधिदिएँ । ‘उसले अरू कसैलाई मनपरायो,’ यति भनेर ऊ एकछिन अडिई अनि भनी, ‘अब म कसैसँग प्रेम गर्दिनँ । तर, सगरमाथा बेस क्याम्प पक्कै जान्छु ।’

म मौन भएँ । केही बोलिनँ । नोरा र मबीच लामो सन्नाटा छायो । त्यसपछिको मौनता तोड्दै मैले नोरालाई भनेकी थिएँ, ‘तिम्रो सबै बकेट लिस्ट पूरा होस् । शुभकामना ।’

जति जति संसार फराकिलो बन्दै गएको छ, मानिसहरू उति उति एक्लै हुँदै गएका छन् । प्रेमबाट विश्वास उठेको छ । तब्बसुम र नोरा सायद मलाई त्यही सिकाउँदै थिए ।

२०२० मा विश्वभर कोरोना महामारी फैलियो । नोरा नेपाल आएर बकेट लिस्ट पूरा गरी या नाइ— थाहा छैन । नेपाल आएकी भए उसले पक्कै मलाई एकपटक सम्झेकी थिई होला । मैले दिएको शुभकामना सम्झँदै उसले ईबीसीतिर पाइला बढाएकी थिई होला । थाहा पाउन त्यति समस्या पनि थिएन । तर कुनै कुरा, कुनै याद, केही सम्झना र केही पात्र त्यो निश्चित समयका लागि मात्रै हुन्छन् । कतिकति बेला सम्झन्छु— सायद नोराले फेरी प्रेम गर्न सिकिसकी कि ?


मलेसियामा मेरो १२ घण्टाको ट्रान्जिट थियो । म बसेको लाउन्जको छेवैमा एउटा अरेबियन केटा फोनमा निकै बेरदेखि गफ गरिरहेको थियो । केही समयअघि सुनसान भएको केएल इन्टरनेसनल एयरपोर्टमा थुप्रै नेपालीको गाइँगुइँ सुनिन थाल्यो । मैले आँखा पल्टाउँदै सरर एयरपोर्ट वरपर नियालें । कति धेरै नेपाली दाजुभाइ ओहो !

एकजना अरेबियन केटाले मतिर हेर्दै सोध्यो, ‘यु वर्क इन मलेसिया ?’ मैले उसलाई पुलुक्क हेरें । मेरा आँखा थाकेका, लोलाएका थिए । आँखामा गाजल लत्पतिएका थिए । उसले आँखीभौं माथि सार्दै भन्यो, ‘यु लुक टायर्ड ।’

म केही बोलिनँ । उसले फेरि आँखा ठूलो पार्दै टाउको हल्लाएर सोध्यो, ‘यु वान्ट कफी ?’

‘भैया, एक कफी देदो ।’

लिलन एक्सप्रेसमा चिया–कफी बेच्नेहरू ओहोरदोहोर गरिरहन्छन् । बिहानको ३ बजिसकेको छ । बाहिर पानी परिरहेको छ । मरुभूमिमा पनि पानी परेको देखेर म दंग थिएँ । राजस्थान त मरुभूमि हो । जैसलमेर स्टेसन आइपुग्न अझै दुई घण्टा छ । मलाई यो केटीको हौसला र लगन देखेर ऊ भविष्यमा पक्कै ठूलो महिला वकिल हुन्छे भन्ने लाग्यो । जीवनका सारा रसरंग त्यागेर गरेको मिहिनेत खेर जानै हुँदैन । मैले मनमनै निधिका लागि प्रार्थना गरें ।

५ बजे प्ल्याटफर्ममा रेल रोकियो । सबैले आआफ्नो ब्याग निकाल्न थाले । निधि बाहिर निस्किइसकेकी थिई । म उसलाई हेरेर मुस्काएँ अनि अन्तिम हात हल्लाएर आफ्नो रिक्सामा चढें । मेरो होस्टल अबु सफारी आइपुग्यो । पानी झमझम नै परिरहेको थियो । आफ्नो ब्याकप्याक लिएर बेडमा पल्टिएको, भुसुक्कै निदाएछु ।

बिहान १० बजे ब्युझिँदा न होटलमा बिजुली थियो न पानी । म रिसाउँदै काउन्टरतिर गएँ । एउटा राम्री केटीले ‘एनिथिङ यु वान्ट ?’ भन्दै सोधी । यो पनि विदेशी थिई । सोधें, ‘कहाँबाट आएको तिमी ?’ ‘म त यहीं बस्छु दुई महिनादेखि,’ उसले अंग्रेजीमा भनी, ‘यहाँ भोलुन्टेयर गर्छु । के भने नि यहाँका मान्छेलाई डिजिटल मिडिया अनि इन्स्टाग्राम अलिक चलाउन आउँदैन के । सिकाइदिन्छु ।’

म हाँसें, ‘अनि तिमी सित्तैमा बस्ने ? पैसा पनि दिन्छन् ?’

‘अफकोर्स दे पे । एन्ड आई एम ट्राभिलिङ टु । डिजिटल नोम्याड ओके,’ ऊ खितिती हाँसी । मेरो कफी र ब्रेकफास्टको प्रबन्ध मिलाइदिई । हामी माथि छतमा उक्लियौं । ऊ गाँजा तान्न थाली । सोधी, ‘तिमी तान्छ्यौ ?’ मलाई जीवनमा पहिलो पटक कसैले गाँजा अफर गरेको थियो । फकिरहरूलाई गाँजाको धूवाँले जीवनको तत्त्वबोध गराउँछ भनेर धेरै पढेकी थिएँ । तर, मलाई गाँजाको गन्ध मन पर्दैन । मैले उसको अफर लत्याइदिएँ । छतबाट सहर सुन्दर देखिएको थियो । गोल्डेन सिटी अफ राजस्थान यसै भनेका होइनन् । यहाँका सबै घरका पर्खालमा सुनौलो रङ पोतिएको छ । उसले फेरि मतिर चुरोट तेर्स्याउँदै भनी, ‘प्लिज वान पफ ।’ मैले तानिनँ ।

‘यार, तिमीहरू गाँजाबिना बाँच्न सक्छौ ? दे आर माई लाइफ । म मेरो जीवन सोच्न पनि सक्दिनँ विदाउट गाँजा । नो... नेभर । मेरो ब्यागमा त सधैं हुन्छ,’ उसले खल्तीबाट दुई पाउच गुन्द्रुक जस्तो पोका देखाई । ‘तिम्रो नि ब्रेकअप भएको थियो, हो ?,’ मैले अनायासै सोधिदिएँ । ऊ ठुस्स परी ।

‘हाउ डिड यु नो ? गेस गर्‍या है ? भन न । अ काइन्ड अफ,’ त्यति भनेर फेरि अर्को पफ तानी । हामी दुवैको कपाल कर्ली रहेछ भनेर घरी–घरी ऊ उत्साही हुन्थी । अनि मलाई भने डर लाग्यो— कतै यो लेस्बियन पो हो कि ?

‘यु अल्सो स्टे हेयर ?,’ उसले सोधी ।

उसको प्रश्नले म आत्तिएँ, ‘ह्वाट ?’

‘हैन हैन, भोलुन्टिर । जस्ट पेड भोलुन्टेयर । हामी सँगै बसुम्ला ।’ अबचाहिँ म दिनभरको योजना बताउँदै निस्किएँ— हवेलीतिर, ‘ओके, आई विल थिंक अबाउट इट ।’

म थार डेजर्टतिर जाने बेला नाटकीय पाराले ठसठस रुँदै भन्दै थिई, ‘हामीसँग इन्डो–पाक बोर्डर हिँड न ।’ मैले ‘अर्को पटक’ भनेपछि उसले फेरि दंग परेर मलाई अँगालो हाली ।

फाइनल्ली साँझ राजस्थानको थार मरुभूमिबाट सूर्यास्त देखियो । संसारका विभिन्न ठाउँबाट देखिइरहेका होलान्– नारायणीको पुलबाट, काठमाडौंको चोभारबाट, इन्डोनेसियाको तन्हा अ लटबाट, अमेरिकाको म्यानह्याटनबाट ... ! कोही समुद्री तटमा, कोही खोलाको बगरमा, कोही मरुभूमिमा, कोही तराईका फाँट र पहाडका खोंचबाट सूर्यास्त हेरिरहेका होलान् ।

यही मरुभूमिको बालुवामा त हो— सन्नी देवल, अक्षय खन्ना, सुनिल सेट्ठीले चिच्याई–चिच्याई ‘सन्देशे आते है...’ गीत गाउँदै दौडिएका । ‘हम दिल दे चुके सनम’ मा सलमान र ऐश्वेर्याको बिछोडमा ‘तडप तडपके इस दिल से...’ भन्दै यही बालुवामा दिनरात ढलेका । त्यतिबेला लाग्थ्यो— कस्तो होला यो ठाउँ ? कहाँ होला ? कति टाढा होला ?

म अहिले त्यही बालुवामाथि उभिएकी थिएँ ।

सूर्योदय र सूर्यास्तको शृंखला हजारौं वर्षदेखि चलिरहेको छ । हामीले देख्न नचाहे पनि सूर्यास्त हुन्छ, दिन ढल्छ, साँझ पर्छ, रात आउँछ । समय अनन्त चलिरहन्छ । माया, प्रेम, ब्रेकअप र यात्रा पनि हजारौं वर्षदेखि चलिरहेकै छन् । हामी नभए पनि चलिरहन्छन् ।

रफ्तारमा चलिरहेको समयले मलाई आज यो मरुभूमिमा ल्याएर उभ्यायो । जैसलमेरबाट पनि टाढा थार मरुभूमिको सूर्यास्त हेर्दै गर्दा मेरा आँखा बेलाबेला रसाएका थिए । मसिना बालुवाका कण आँखाभित्र पस्दा सास अड्किएझैं हुन्थ्यो । मेरो छेउमा न नोरा थिई, न तब्बसुम न निधि । न मेरा कोही आफन्त थिए, न कोही साथी । न ब्रेक अप, न प्याचअप । म एक्ली थिएँ । मैले आफ्नो काँधमा धाप मार्दै भनें, ‘आई एम प्राउड अफ यु यार ।’

सूर्य डुब्नै लागेको थियो । सबै क्यामरा तेर्स्याएर उभिएका थिए । कतै सूर्यास्त हुँदा कतै सूर्योदय हुन्छ । त्यसैले त भन्छन्— ‘इन्डिङ इज द न्यु बिगिनिङ ।’

अर्को दिन राति १२ बजे लिलन एक्प्रेसबाट मलाई जयपुर फर्किनु थियो । म जैसलमेर स्टेसनमा एक्लै तीन घण्टा बसिरहँदा अनेक मानिसहरू बोल्न आए । रेल स्टेसन पहिलाभन्दा केही सुरक्षित भएको रहेछ । ठूलाठूला नम्बरमा चौबिस घण्टे हटलाइन नम्बर देखिन्थे । असुरक्षित महसुस भएमा उत्तिखेरै फोन गर्न सकिन्थ्यो । एक्लै हिँड्दा समस्या त आइपर्छन् नै, तर जैसलमेरका मीठा यादहरू बोकेर म फिर्ता जाँदै थिएँ ।

मध्यरातको १२ बजे रेल आयो । ४४ बी नम्बरको बर्थ खोजेर म भित्र छिरें । सामानहरू सिटमुनि घुसारें । केही समयपछि रेल घत्र्याकघत्र्याक गर्दै बिस्तारै चल्न थाल्यो । म माथिल्लो बर्थमा गएर पल्टिएँ । मोबाइलमा ५ जीबी डाटा एक्टिभेट भएछ । इन्स्टाग्राम खोलें । रिल्समा मलाई मनपर्ने अग्रेजी गाना बज्यो–

ह्वेन यु मिस द ट्रेन आई एम अन

यु विल नो द्याट आई एम गन

यु क्यान हेयर द ह्विसल ब्लो

१०० माइल्स ।

१०० माइल्स । १०० माइल्स ।

प्रकाशित : चैत्र १७, २०८० ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?