तोप्केगोलाको उकालो

केही महिनाअघिको तोप्केगोला–यात्राले नेपालका मिथ, इतिहास र मान्छे बाँचिरहेको युगीन पुरानो कथाहरू बुझ्न सघाउँछ । प्राध्यापक बालकृष्ण मावोहाङ, मानवशास्त्री डाक्टर उद्धव राई, जगबहादुर बुढा र मैले ताप्लेजुङको तोप्केगोला हुँदै संखुवासभाको किमाथाङ्कासम्मको यात्रा गरेका थियौं । 

तोप्केगोलाको उकालो

पहिलो दिन ताप्लेजुङ मैवाखोलाको साँगुपाटी बजार पुग्यौं । अघि स्थानीय सायम्बाहाङ लिम्बूले यहाँ एउटा पाटी बनाएको हुनाले यस ठाउँलाई साँगुपाटी भनिएको रहेछ । त्यो पाटी अहिले पनि छ । पछि यहाँ बजार उठाउन थालेपछि चाहिँ यसलाई साँगुपाटी बजार भन्न थालिएछ ।

बिहानै बाटो ततायौं तेम्बे गाउँको । तेम्बे गाउँ फाँटिलो/मैदानी भूभागमा अवस्थित छ । सम्भवतः त्यसैले यस ठाउँलाई तेम्बे भनिएको होला । फाँटिलो/मैदानी जग्गालाई लिम्बूहरू तेम्बे भन्छन् । यस गाउँमा तेम्बे थरी लिम्बूहरू नै बसेका पनि भेटिए । हामी फेरि ओह्रालो झर्‍यौं । तल फटेङ्ग्रे गाउँ आयो । यहाँ जाँड बेच्दै बसेकी एउटी शेर्पेनी महिला भेटिइन् । पहिरन हेर्दा लिम्बूनी जस्तै देखिएकी ती शेर्पेनीले लुङ्गी, पटुकी, भेस्ट र घाँटीमा तिलहरी लाएकी थिइन् । शेर्पा महिलाले पनि यसरी तिलहरी लगाएको मैले पहिलोपल्ट यहीं देखें, सम्भवतः हिन्दु संस्कृतिको प्रभावले हो । हामीले ती शेर्पेनीकोमा जाँड किनेर खायौं र फेरि ओह्रालो लाग्यौं ।


अब चाहिँ दोभान बजार पुगियो । मैवाखोला र तमोर खोलाको संगम स्थलमा रहेको यो बजार ताप्लेजुङको दोस्रो ठूलो बजार हो । खाजा खान एक होटलमा पस्यौं । माथि ओदक गाउँका एक हूल शेर्पाहरू होटलभित्र खाजा खाँदै भेटिए । पहिरन हेर्दा राई/लिम्बू जस्तै देखिएका यी शेर्पाले आफूहरू कुलुङ शेर्पा भएको बताए । उनीहरूको कुरा पनि मेरा लागि नयाँ भइदियो किनभने राईहरू मात्रै कुलुङ थरी हुन्छन् भन्ने मैले बुझेको थिएँ । के भएको रहेछ भने उहिले सोलुखुम्बुका एकजना शेर्पाले कुलुङकी छोरी विवाह गरेपछि गाउँको सामाजिक प्रचलनअनुसार त्यो जोडी शेर्पाले गाउँ छाडेछन् र यता पूर्व संखुवासभा हुँदै ताप्लेजुङ आएर बस्न थालेछन् । पछि उनीहरूका सन्तानहरू कुलुङ शेर्पा भएछन् । हाल ओदक गाउँमा बसेका कुलुङ शेर्पाहरू उनीहरू नै रहेछन् ।

दोभान बजारबाट अब हामी उकालो बाटो हुँदै माथि मेरिङदेन गाउँपालिका क्षेत्र प्रवेश गर्‍यौँ । बाटोमा तीनजना शेर्पा युवाहरू भेटिए । उनीहरूले नाम कुसुम, कृष्णबहादुर र चन्द्रवीर शेर्पा । शेर्पाहरूले तेन्जिङ, छिरिङ, लाक्पा आदि नाम राखेको भेटिन्छ, जुन उनीहरूको जन्म साइतबाट राखिएको नाम हो, तर यी शेर्पा युवाले भने यस्तो हिन्दु, नेपाली भाषी नामहरू राखेको देखेर मलाई थोरै अनौठो चाहिँ लाग्यो तथापि किन उनीहरूले यस्तो नामहरू राखे होलान् ? भन्नेबारे सोधिन् । शेर्पा युवाहरू ओह्रालो लागे, हामी चाहिँ उकालो लाग्यौं । अब हामी बर भन्ज्याङ डाँडामा पुग्यौं । यहाँबाट चाहिँ बाटो तेर्सो खाम्लुङ गाउँतिर मोडियो ।


केही पर पुगेपछि सुँगुर काटेर भाग लगाउँदै गरेको एउटा शेर्पा घर भेटियो । घरको आँगनमा युमा देवताको पूजा पनि गरिएको थियो । लिम्बूहरूले घरमा सुँगुर काट्दा युमाको पूजा गरेको मलाई थाहा छ किनभने युमालाई लिम्बूहरूले आफ्नो पितृ इष्ट देवता मान्छन्, तर शेर्पाहरूले पनि सुँगुर काट्दा युमालाई बुझाउँदा रहेछन् भन्ने कुरा यहीं थाहा पाएँ । पछि कुरा बुझ्दा के भएको रहेछ भने उहिले सोलुखुम्बुबाट यहाँ ताप्लेजुङ क्षेत्र आएर बसेदेखि नै यी शेर्पाहरूले यहाँका लिम्बूहरूको देवताहरूलाई पनि मान्न थालेछन् । त्यसैकारण यी शेर्पाहरूले सुँगुर काट्दा यसरी युमाको पूजा गरेका रहेछन् । हामीले तीन किलो सुँगुरको मासु किनेर बोक्यौं र बाटो लाग्यौं ।

बेलुकीपख हामी दिङला गाउँ पुग्यौं । यस ठाउँमा अघि काँडाघारी मात्रै थिएको हुनाले स्थानीय लिम्बूहरूले यस ठाउँको नाम तिङला राखेका थिएछन् । काँडाघारीलाई लिम्बूहरू तिङला भन्छन् । त्यसैलाई अहिले दिङला भनिएको रहेछ ।

दिङलाबाट बिहान फेरि बाटो लागियो । थुकिमा गाउँको पुच्छार हुँदै हामी मिक्वाखोला पुग्यौं । यो मिक्वा खोलाको पनि आफ्नै किसिमको कथा भेटियो । यस भेगमा प्रचलित मिथक अनुसार, उहिले माथि मुनाखाम (भोट) मा युद्ध चलेका बेला मुदिक्मा नामकी एक महिलाको धेरै सन्तान युद्धमा मरेछन् । त्यसपछि बाँकी रहेको आफ्ना सन्तानहरूलाई चाहिँ बचाउन ती मुदिक्माले तिनलाई यता तल लिएर आइछन् । यता आएपछि एउटा चङलुङ ढुंगामा उनीहरू एकैछिन बसेछन्, त्यही बेला माथि युद्धमा मरेका आफm्ना सन्तान सम्झ्रे मुदिक्मा रुन थालिछन् । उनको आँसु बग्न थालेछ र यो खोला बनेछ । मुदिक्माको आँसुबाट बनेको खोला भएको हुनाले पछि यस खोलाको नाम मिक्वाखोला राखिएछ । आँसुबाट बनेको खोलालाई लिम्बूहरू मिक्वाखोला भन्छन् । आजभोलि चाहिँ यसलाई मेवाखोला पनि भनिन्छ । ती मुदिक्माले लिएर आएका सन्तानहरू नै हाल ताप्लेजुङको यस मिक्वाखोला (मेवाखोला) क्षेत्रमा बसेका लिम्बूहरू हुन भन्ने भनाइ छ ।


मिक्वाखोला तरेर हामी फेरि उकालो लाग्यौं । अबचाहिँ तेम्बा गाउँ पुग्यौं । तेम्बा गाउँमा मुदेनसङ साँवा लिम्बूहरू बसेका भेटिए । यहाँका केही मुदेनसङ साँवाहरू चाहिँ भोटियाबाट लिम्बू भएकाहरू पनि रहेछन् । स्थानीयले भनेअनुसार, उहिले माथिबाट एकजना भोटिया यता आएछन् र यहाँको युमिक्वा पोखरी नजिकै खोलामा काठको तोङवा बनाउने काम गर्दै बस्न थालेछन् । पछि यहाँका साँवा लिम्बूहरूले त्यो भोटियालाई आफ्नै दाजुभाइ बनाई पठाएछन् र तिनका सन्तानहरू चाहिँ पछि मुदेनसङ साँवा लिम्बूहरू भएछन् । भोटे–भोटियालाई लिम्बूहरू मुदेन–मुदेन्वा भन्छन् ।

बिहानै यो ठाउँको चर्चित फुङफुङ्गे झरना हेर्‍यौं । अघि यहाँका लिम्बूहरूले फङफङदेन वधाम नाम राखेको यस झरनालाई अहिले फुङफुङ्गे झरना भनिँदोरहेछ । लिम्बू मिथकअनुसार, उहिले यो झरनामा मान्छे खाने एउटा राक्षस बस्थ्यो रे, त्यसले यहाँका गाउँका बच्चाहरू खाने गर्थ्यो रे । एकपल्ट के भएछ भने यहाँको गाउँका साँवा लिम्बूहरूको कुल देवता ‘तुङदुङगे साम्माङ’ सानो बालक बनेर यस झरनामा आएछ । बालकलाई देखेपछि त्यो राक्षस निस्केछ । र, खान बालकलाई झम्टेछ, त्यहीबेला त्यो बालक यानिकी तुङदुङगे साम्माङले त्यस राक्षसलाई त्यहीं मारेछ । त्यसपछि मात्रै यस ठाउँमा बच्चाहरू जोगिए भन्ने कथन छ । हामी झरनाको नजिकै पुग्यौं । देवता मानेर पुज्दै आएको एउटा लामो ढुंगाको स्तम्भ पनि यहाँ भेटियो । मिथकअनुसार उहिले तल एउटा गाउँमा महिला र पुरुषले हाडनाता सम्बन्धबाट छोरा जन्माएछन् । पछि तिनीहरूले पापबाट मुक्त हुन प्रायश्चित स्वरूप लामो ढुंगा यहाँ ल्याई गाडेर यसलाई देवता मानी क्षमायाचनाका लागि यस ढुंगाको पूजा गर्न थालेछन् । पछि चाहिँ यस ढुंगालाई महादेव देवता मानेर पुज्न थालिएछ । हामीले पनि यस ढुंगालाई भेटी चढायौं ।

तेम्बा गाउँदेखि चाहिँ हाम्रो यात्रा तोप्केगालाको उकालोतर्फ मोडियो । माथि एउटा ताङखुक गाउँ आयो । यो गाउँको नाम पनि लिम्बू भाषाबाटै राखिएको भेटियो । स्थानीयले भने अनुसार, उहिले तल गाउँमा हाडनाताबाट जन्मिएको छोरालाई यहाँ ल्याएर राखिएको थियो रे । लिम्बूहरूभित्र हाडनाताबाट जन्मिएको बच्चालाई चट्याङले हानेर मार्ने लोक–विश्वास रहेको हुनाले पछि आकाशबाट चट्याङ खस्यो भने त्यसलाई छेकेर बच्नका लागि त्यस मान्छेले यहाँ एउटा ठूलो ढुंगाको छाता रोपेछ । त्यसपछि यस ठाउँलाई लुङताङखुक भन्न थालिएछ । ढुंगाको छातालाई लिम्बूहरू लुङताङखुक भन्छन्, जसलाई पछि ताङखुक मात्र भन्न थालिएछ र यहाँको गाउँलाई ताङखुक गाउँ भन्न थालिएछ ।


त्यस मान्छेको सन्तानहरू चाहिँ पछि फेन्छाङवा लिम्बूहरू भएछन् ।

ताङखुकबाट पापुङ हुँदै माथि तार्तुङ गाउँ पुगेर कान्छी शेर्पेनीको घरमा हामी बास बस्यौं । घरमा कान्छी र उनकी बहिनी एन्जिला मात्रै थिए । उनीहरूका बुबाआमा चाहिँ माथि तोप्केगोला बस्दा रहेछन् । बिहान फेरि कान्छी शेर्पेनीको साथमा हामी उकालो लाग्यौं । बेलुकीपख तोप्केगोला पुगियो र सिधै कान्छी शेर्पेनीको बुबाआमाको घरमा पस्यौं । घरमा कान्छीको बुबा तेन्जिङ र उनका श्रीमती पेमा भाउजू मात्र थिए । यस आसपासमा पच्चीस/छबीसवटा अरू पनि घरहरू देखियो, तर घरमा मान्छे चाहिँ देखिएन । यहाँका मानिस पापुङतिर बस्दा रहेछन् । बर्खाका बेला बस्तुगोठ राख्न र जडीबुटी टिप्न मात्र उनीहरू यहाँ आउँदा रहेछन् । तेन्जिङ दाइले हामीसँग गफ सुरु गरे । उनले भनेअनुसार उहाँ च्यावा भोटिया हुन् । यस तोप्केगोला बसेका भोटियाहरू विभिन्न कालखण्डमा विभिन्न ठाउँबाट आएकाहरू हुन् । उनीहरू आफूलाई भोटिया नै भन्छन्, कसैले जात अथवा थर सोधे भने ढोक्प्या भन्छन् । ढोक्प्याको अर्थ बस्तुगोठाले भन्ने बुझिँदो रहेछ । तर, नेपाल सरकारले भने तोप्केगोलावासी यी भोटियालाई तोप्केगोले जाति बनाएको भेटिन्छ, तथापि यो तोप्केगोले चाहिँ जातिभन्दा पनि ठाउँको नाम रहेको तेन्जिङले बताए ।

बिहान फेरि तेन्जिङसँगै हामी उकालो लाग्यौं र उहिले मुदिक्मा बसेको चङलुङ ढुंगामा पुग्यौं । यहाँ पुरानो घरका केही अवशेष पनि भेटिए । तेन्जिङले भनेअनुसार, यो ठाउँ उहिले तिब्बतसँगको व्यापारिक नाका थियो रे, यहाँ ठूलो व्यापारिक बजार पनि थियो रे । सम्भवतः यसरी व्यापारिक बजार रहेको हुनाले नै यस ठाउँलाई तोप्केगोला भनिएको हो कि ? यसबारे थप अध्ययन आवश्यक छ ।


प्रकाशित : चैत्र १७, २०८० ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?