कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

शरणार्थीका सबल स्वर

उर्दूका बहुप्रशंसित गजलकार मुनब्बर यस्ता अग्ला व्यक्तित्व थिए, जसको सोचको परिधि फराकिलो थियो । उनको रचनाले मानवीय मूल्यको सफल चित्रण गरेको छ, उर्दू लेखनलाई गौरवपूर्ण र नवीन उचाइ दिएको छ ।
चन्द्रकिशोर

२१ मार्च २००९ ! एउटा किताब ‘नए मौसम के फूल’ को लोकार्पण मुम्बईमा हुँदै थियो । त्यहाँ ती शायरले भनेका थिए, ‘पहिले घरबाट निस्किनुपर्दा हेर्थें– कुन सुट राखे, कुन–कुन कुर्ता– पाइजामा राख्नुपर्नेछ ! अब निस्किनुपर्दा हेर्छु– कुन–कुन औषधि राख्नुछ ।’

शरणार्थीका सबल स्वर

यसलाई उनी यसरी सायरीमा भन्थे–

‘हमारे कुछ गुनाहों की .....सजा भी साथ चलती है

मै अब तनहा नहीं चलता दवा भी साथ चलती है’

ती हुन्– उर्दू साहित्यका अब्बल भारतीय शायर मुनब्बर राना । नेपालका उर्दू लेखक इम्तियाज वफा मुनब्बरलाई बिर्सन नसकिने साहित्यिक तपस्वी मानेर आदराञ्जलि राख्छन्, यसै साता जो धर्तीमा दफन भए । नेपालका गजलकारहरूको मुनब्बरसँग असीम प्यार छ, प्रेरणा छ । इम्तियाज सम्झिन्छन्, ‘केही वर्ष पहिले भारतीय राज्य उत्तर प्रदेशको इटावामा आयोजित मुसायराका लागि प्रचारित पोस्टरमा मुनब्बरसँगै आफ्नो पनि तस्बिर छापिएको थियो ।’ अर्का ज्ञानुवाकर पौडेलले गालिब, नजिर अकबराबादी, इकबाल, फिराक गोरखपुरी, साहिर लुधियानवीलगायत उच्चकोटीका शायरका समकक्षी मानिने मुनब्बर रानाका गजलमा पाइने मानवीय एप्रोच र संवेदनाका कारण उनी न केवल भारत र पाकिस्तान, अन्य देशमा समेत लोकप्रिय भएको बताउँछन् । बुँद राना उनीसँग प्रत्यक्ष नभेटे पनि उनको खरोवादी शैलीबाट आफू प्रभावित रहेको स्विकार्छन् । घनश्याम परिश्रमी उनका पुस्तकहरू आफ्नो संकलनमा रहेको बताउँदै उनको अभिव्यक्तिमा अन्तरनिहित संवेदनशीलताको तारिफ गर्छन् ।

मुनब्बर कुनै एक समुदायको स्वर थिएन, शताब्दीयौंदेखि निरन्तरता पाउँदै आएको साझा विरासतका मुखर स्वर थिए । उनी साम्प्रदायिकताका खिलाफ बोल्थे र मानवताका लागि जुझ्थे । प्रबल हस्तक्षेपकारी उनको काव्यिक भूमिका अर्थ्याउन यो एक शेर नै काफी छ –

‘एक आँगन में दो आंगन हो जाते हैं

मत पूछा कर किस कारण हो जाते हैं

राम की बस्ती में जब जब दंगा होता हैं

हिन्दू – मुस्लिम सब रावण हो जाते हं ।’

तर, जब सत्ताले अल्पसंख्यकलाई थिच्न खोज्छ र शत्रुका रूपमा व्यवहार गर्न उक्साउँछ, तब उनी पोख्छन्, ‘बस इतनी बात पर उसने हमें बलवाई लिख्खा है, हमारे घर के बरतन पर आई .एस.आई.लिख्खा है ।’

विश्वभरि छरिएका प्रशंसकहरूले जब उनी बितेको थाहा पाए, उनीहरूलाई लाग्यो– यो एकाकीपनको कालखण्डमा हृयदको गहिरो तलबाट संवाद र सामञ्जस्यका सूत्रहरू खोज्ने एक प्रहरी बिते । मुनब्बर यतिखेरको मञ्चीय कविता पाठको लहरमा जति चाखपूर्ण ढंगले श्रोताहरूसँग घनिभूत अन्तर्क्रिया गर्न सक्थे, त्यत्तिकै नज्म, गजल लेखनको गुणात्मक परम्पराप्रति सचेत र समर्पित देखिन्थे ।

हामीलाई थाहा छ उनी फर्किंदैनन्, तर जति उत्तराधिकार उनले हामीलाई सुम्पिदिएका छन्, त्यसले हाम्रो पुस्ताको अनवरत यात्राका लागि पाथेयको काम गर्छ ।

मुनब्बर रानाको लेखनसँग मेरो परिचय करिब दुई दशक पुरानो छ । उनका काव्य–मुहावराले ममाथि गहिरो असर पारेको थियो । उर्दूका बहुप्रशंसित गजलकार मुनब्बर एक यस्ता अग्ला व्यक्तित्व थिए, जसको सोचको परिधि निकै फराकिलो थियो । उनको रचनाले मानवीय मूल्यहरूको सफल चित्रण गरेको छ, त्यही उर्दू लेखनलाई एक गौरवपूर्ण र नवीन उचाइतिर लम्काएको छ । एक स्वाभिमानी शायरको यो विनम्रता हेर्नुस्, ‘दिल ऐसा कि सीधे किये जूते भी ...बडों के, जिद इतनी कि खुद ताज उठा कर नहीं पहना ।’

भारतमा वा अन्यत्र पनि भाषाहरूबीच द्वन्द्व चल्छ । एकले अर्को मातृभाषालाई अनादर गर्न खोज्छ, तर आफ्नो भाषाको श्रेष्ठता स्थापित गर्न तम्सिरहेको हुन्छन् सबै । उनले उर्दू साहित्यलाई योगदान गरेकै थिए, अवधी–हिन्दी भाषालाई पनि गुन लगाएका थिए । विश्व पटलमा उनले अवधी भाषाको खुब प्रचारप्रसार गरे । उर्दू शायरीमा नयाँ प्रयोग गरेर उनले क्षेत्रीय भाषालाई आफ्नो अभिव्यक्तिमा गहना झैं सजाएर राखे ।

कुनै पनि कुनै धर्मको हुँदैन । बरु भाषाको भूगोल हुन सक्छ । उर्दू–हिन्दी सम्बन्धबारे मुनब्बर नै यति सशक्त, तर सुन्दर ढंगले भन्न सक्छन्–

‘लिपट जाता हूं मां से और मौसी मुस्कुराती है/

मैं उर्दू में गजल कहता हूं हिंदी मुस्कुराती है ।’

मुनब्बरसँग सौन्दर्यलाई हेर्ने, उसबाट प्रभावित हुने र त्यसको चित्रण गर्ने बेजोड क्षमता छ । उनले मातृत्वको सौन्दर्यबोध गरे, उर्दू शायरी लेखनलाई प्रेमिकाको वर्णनबाट अलग्याउँदै आमा (मां) लाई केन्द्रमा ल्याए । त्यसैगरी जुन माटोमा जन्मिए/हुर्किए र दफन हुने निश्चय गरे त्यस माटोको अनौठो र मनोरम चित्र पस्के । उनले स्वयं पनि हैदराबादको एक मुसायरामा स्वीकार गरेका थिए, ‘गजलको कोठे से उठाकर मां तक ले आए है ।’

सामाजिक–आर्थिक विभाजनका रेखाहरू यति गहिरो कहिल्यै पनि सायद देखापरेको थिएन । यो स्पष्ट देखिँदै छ कि सत्ता प्रतिष्ठानका विभाजनकारी एजेंडाले सिंगो समाजलाई बाँडिदिएको छ । यसलाई यसरी पनि भन्न सकिन्छ, पहिलेदेखि विद्यमान खाडलहरू अझ चौडा हुँदै आएको छ । पहिले सत्तामा आउन र त्यस उपरान्त सत्तामा निरन्तरता दिन आपसी विभाजनको मानसलाई सघन बनाउने व्यूह रचना हुने गरेका छन् । जब कोइ रचनाकार आफ्नो देश–काल संकटबाट गुज्रिँदै गरेको अनुभव गर्छ, ऊ आफूलाई इमानदारीका साथ अभिव्यक्त गर्ने साहस देखाउनुपर्ने दबाब महसुस गर्छ ।

प्रतिरोधका स्वर अन्य ठाउँबाट पनि उठ्छन् । विरोध वा असहमतिका स्वरले साहित्यमा पनि छाल उत्पन्न गर्छ । तर, जब सत्ताले आफूद्वारा पोषित मिडियामार्फत असहमति एवं विरोधलाई अपराधीकरण गर्न सत्तालाई सघाउन थाल्छ, साहित्यिक फाँटमा पनि सत्ताको जयगान गर्ने प्रवृत्ति संस्थागत हुँदै जान्छ । जबकि लोकतन्त्रमा रचनाकारको जिम्मेदारी हुन्छ कि उसले सत्ताको, शक्तिको दुष्कर्म, तिनका अवाञ्छित महत्त्वाकांक्षालाई उजागर गरोस्, अन्यायविरुद्ध खडा हुन आम नागरिकमा सचेतना र संवेदना भरोस् । अहिले जसरी सत्ता, मिडिया र कार्पोरेटको सिन्डिकेट बन्दै भुइँमान्छेको मनोविज्ञान र जीवन–दृष्टिमा हावी हुँदै आएको छ, यस्तोमा मुनब्बर हुँकार दिने एक दुर्लभ प्रजातिका उम्दा शायर थिए । तर, उनका तिखा शब्दहरू पनि महमा घोलिएर निस्किन्थ्यो ।

नयाँ पुस्ताका लेखकलाई आफ्नो मनको कुरा निर्भीक भएर राख्न सदैव प्रेरित गर्दै रहे । नयाँ पालुवालाई उम्रिन मुनब्बरको झाँगिएको वृक्ष–व्यक्तित्वले अहर्निश टेवा दिँदै रहे– ‘हम नहीं थे, तो क्या कमी थी यहां । हम न होंगे तो क्या कमी होगी ।’ हो उनीजस्ता नयाँ पौधालाई पानी दिने, प्रोत्साहित गर्ने अग्ला स्रष्टा विरलै पाइन्छन् ।

उनले प्रत्येक वय र वर्गका मान्छेका भावलाई आफ्नो कथ्यको विषय बनाए । त्यसैले उनलाई मन पराउनेहरूको आयतन फराकिलो छ । ज्येष्ठ नागरिक लक्षित एक शेर –

‘हम सायादार पेड जमाने के काम आए,

जब सुखने लगे तो जलाने के काम आए,

तलवार की मियान कभी फेंकना नहीं

मुमकिन है दुश्मनों को डराने के काम आए’

मुनब्बर रानाको जन्म २६, जनवरी सन् १९५२ मा भारतीय राज्य उत्तर प्रदेशमा भएको थियो । र, यही १४, जनवरी २०२४ मा ७१ वर्षको उमेरमा बिदा भए । उनका रचनाहरू उर्दू, हिन्दी र बंगाली तीनवटै भाषामा प्रकाशित छन् । उनलाई करिब दुई दर्जन पुरस्कार प्राप्त थियो । उनले भारतमा उँचो मानिएको साहित्य अकादमी पुरस्कारलाई फर्काउने आँट पनि देखाएका थिए । आफूलाई चित्त नबुझ्दा उनी

आफ्ना असहमति लुकाउँदैनथे । उनले प्रशस्तिगान गर्ने कुनै भीडको हिस्सा बन्ने बाटो आफ्ना लागि छनोट गरेनन्, आफ्नो गोरेटो आफैं कोरे र त्यसमा मस्तीले अथक् हिँडिरहे ।

‘अभी जिंदा है मां मेरी, मुझे कुछ भी नहीं होगा् मै

घर से जब निकलता हूं, दुआ भी साथ चलती है ।’

आमाप्रति उर्दू साहित्यमा लेखिएका सामग्रीहरूको जबजब खोजतलास गरिन्छ तबतब मुनब्बरका शेरहरू कोसेढुंगा बनेर सामुन्ने आउँछन् । उनका रचनाभरि ‘मां (आमा) लालीगुराँस भएर आउँछन्, उनका आँखाभरि सुनगाभा’ सुनाखरी भएर पलाउँछन् । आमासँगको अपनत्व, अभिन्नता, अनुग्रहका थुंगाहरू बटुलबाटुल पारी उनिएका छन्, आमा केन्द्रित उनका कृति । उनी जति आफ्नी आमालाई सम्झनाका क्षितिजमा राख्छन्, त्यसैगरी अरूका आमाहरूप्रति सम्मान राख्छन् । भनिन्छ, उनको प्रस्तुति सुनेर कसैले रुँदै पश्चाताप गरेका थिए, कसैले पहिलेभन्दा झन् बढी आफ्नी आमाप्रति आदर देखाउन थालेका थिए । एउटा शेरले मान्छेको मनलाई कति फुकुलो बनाइदिँदो रहेछ, त्यसको ज्युँदो उदाहरण भइदिए मुनब्बर ।

हम चाहते हैं, रख्खे जमाना हमें भी याद

गालिब के शेर, तुलसी की चौपाई की तरह

उनले मुहाजिरहरूको दर्दलाई मनको चौखटभन्दा बाहिर छचल्किएर ल्याइदिए ।

मुहाजिरको अर्थ हुन्छ– शरणार्थी । आफ्नो थातथलो छाडेर हिँड्नेहरू मात्रै मुहाजिर हुँदैनन्, सत्ता प्रतिष्ठानको इको सिस्टमबाट पर धकेलिएकाहरू पनि मुहाजिर हुन् । जसलाई सत्ताले सुन्दैन, तिनलाई मुनब्बर सबल स्वर दिन प्रतिबद्ध थिए ।

‘बिछडना उसकी ख्वाहिश थी, न मेरी आरजू लेकिन, जरा सी जिद ने इस आँगनका बंटबारा कराया है ।’ जानकारहरूका अनुसार, सन् २००८ मा उनी पाकिस्तान गएका थिए । त्यही बेला हुस्सैनीवाला सीमा चौकी पुगे, जहाँबाट भारत–पाकिस्तानको टेडोमेडो सीमारेखा नियाले र त्यही बेला उनको मनबाट मूल फुटेझैं मुहाजिरहरूका कथा व्यथाहरू फुर्न थाल्यो जसले ‘मुहाजिरनामा’ को नामले ख्याति पायो, ‘मुहाजिर है, मगर एक दुनियाँ छोड आए हैं, तुम्हारे पास जितना है, हम उतना छोड आए है ।’

‘बादशाहों को सिखाया है कलंदर होना,

आप आसान समझते हैं मुनब्बर होना ।’

यस्तो भाव उसैले राख्न सक्छ, जसलाई सत्ता र शक्ति माथि होइन, आफ्ना शब्दहरूमाथि भरोसा छ । मुनब्बरले जे जति लेखे, त्यसले उत्साह र साहसको धुरी छोएको छ । अन्तमा दुनियाँभरिका आमालाई माया गर्ने, ज्येष्ठ नागरिकलाई बाटो कटाइदिने, सत्ताको चेपुवामा परेर पनि समर्पण नगर्नेहरूका तर्फबाट मुनब्बरलाई सलाम । उनको अन्तिम यात्रा शानदार होस् ।

‘मौला ये तमन्ना है कि जब जान से जांऊ,

जिस शान से आया हूं उसी शान से जांऊ ।’

प्रकाशित : माघ ६, २०८० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?