कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शोभराजका दोभाषेको बयान

‘बिकिनी किलर’, ‘सिरिअल किलर’ र ‘द सर्पेन्ट’– चार्ल्स शोभराजलाई दिइने यी केही उपनाम हुन् । नेपालमा १९ वर्षको जेल सजायपछि गत साता उनलाई फ्रान्स पठाइएको छ । क्यानेडियन नागरिक आरमण्ड लरेन्ट क्यारियरेको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतमा मुद्दा चलिरहेका बेला चार्ल्सका लागि दोभाषेको काम गरेका थिए लेखक हरि अधिकारीले । अधिकारीको स्मृति :
हरि अधिकारी

चार्ल्स शोभराजसँग प्रत्यक्ष भेटघाट भएको त्यो दिन खोइ किन हो, म थोरै नर्भसजस्तो थिएँ । सदर जेल जगन्नाथ मन्दिर काठमाडौंबाट उनलाई पुलिस भ्यानमा भक्तपुर जिल्ला अदालत परिसरमा ल्याउँदा रिसिभ गर्नेमा उनकी वकिल र सासू शकुन्तला थापा थिइन् ।

शोभराजका दोभाषेको बयान

हत्कडी खोलेर शोभराजलाई जिल्ला अदालतको इजलासमा ल्याइएपछि चाउरी परेको गोरो अनुहार भएकी वकिल शकुन्तला थापाले उनीसँग मेरो परिचय गराउँदै भनिन्, ‘चार्ल्स ! दिस इज मिस्टर हरि अधिकारी, योर इन्टर्प्रेटर फर टुडे ।’ चार्ल्सले मप्रति बेवास्ताको नजर दिँदै हात बढाए । मैले हात मिलाएँ । उनको दृष्टि जस्तो भए पनि हात भने न्यानो र कोमल थियो ।

चार्ल्स गुरुमुख शोभराजका विषयमा यो लेख पढ्ने पाठकका मनमा एउटा प्रश्न उठ्न सक्छ– हरि अधिकारी र शोभराजबीच कुनै कनेक्सन भएर यो लेख तयार गरिएको हो वा मिडियामा उपलब्ध सामग्री प्रयोग गरेर लेखिएको हो ?

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्ससँग मेरो प्रत्यक्ष सम्बन्ध गाँसिएको थियो– क्यानेडियन नागरिक आरमण्ड लरेन्ट क्यारियरेको हत्या अभियोगमा चार्ल्सविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा चलिरहेका समयमा चार्ल्सका लागि मैले दोभाषेको काम गरेको थिएँ । अदालतले नै दोभाषे उपलब्ध गराउनुपर्ने भएपछि भक्तपुर जिल्ला अदालतका तत्कालीन स्रेस्तेदार खड्गप्रसाद अधिकारीको अनुरोधमा मैले जम्मा ३ दिन दोभाषेको काम गरेको थिएँ । त्यतिबेला भक्तपुर जिल्ला अदालतले मलाई प्रतिदिन १८ सय रुपैयाँका दरले पारिश्रमिक पनि उपलब्ध गराएको थियो ।

दोभाषेका रूपमा मैले त्यस दिन करीब एक घण्टा न्यायाधीश र चार्ल्सबीच भएको संवादलाई ओहोर–दोहोर गराएँ । प्रश्नोत्तरी पट्यारलाग्दो थियो । न्यायाधीशले सोधेका हरेक प्रश्नको नकारात्मक उत्तर दिइरहेका थिए चार्ल्स । एक घण्टा जति पछि सायद बोर भएका न्यायमूर्तिले बयानका लागि अर्को दिन तोकेर इजलास स्थगित गरिदिएका थिए ।

...

बाबुका तर्फबाट फ्रेन्च र आमाका तर्फबाट भियतनामी चार्ल्स गुरुमुख शोभराजले सन् १९७५/७६ मा थाइल्यान्ड, नेपाल र भारतमा शृंखलाबद्ध हत्याकाण्ड रचेर कम्तीमा २० जनाको ज्यान लिएका थिए । उनले मच्चाएको हत्याकाण्डमा ज्यान गुमाउने पीडितहरूमा अधिकांश थाइल्यान्ड घुम्न गएका युरोप, अमेरिकातिरका पर्यटक थिए । नेपालमा भने उनले सन् १९७५ को डिसेम्बर २१ का दिन भक्तपुरको पलाँसे गाउँनजिक हिमालय खोल्सा भनिने अरनिको राजमार्गछेउको पाखामा क्यानेडियन नागरिक आरमण्ड लरेन्ट क्यारियरेको र त्यसको दुई दिनपछि काठमाडौंको नरेफाँट मनहरा नदी किनारामा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको हत्या गरेका थिए । दुवैको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिसकेपछि हत्याराले पेट्रोल हालेर लासलाई चिन्न नसकिने गरी जलाएकाले पुलिसलाई मृतकको पहिचान गर्न अत्यन्तै कठिन भएको थियो ।

ती दुवै केसको तहकिकात मेरा मित्र, अपराध अनुसन्धान विषयमा बेलायतबाट प्रशिक्षित इन्स्पेक्टर विश्वलाल (बीएल) श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले गरेको थियो । अपराध अनुसन्धानका लागि अत्यावश्यक वैज्ञानिक उपकरणहरू लगभग शून्य रहेको त्यस समयमा इन्स्पेक्टर श्रेष्ठको टोलीलाई मृतक र हत्याराको पहिचान गर्न धेरै मुस्किल परेको भए तापनि सूक्ष्म अन्तर्दृष्टिका साथ हरेक सम्भावनाहरूलाई केलाएर अन्ततः उनीहरू मृतकद्वयको पहिचान गर्न सफल भएका थिए । यस मामिलामा प्रहरी अनुसन्धान टोलीलाई त्यस समयमा ब्याकप्याकर टुरिस्टहरूको प्रिय थलो झोंछेका लज र होटलमा बसिरहेका पर्यटकहरूले ठूलो सहयोग गरेका थिए । उनीहरूले मृतकद्वयको लासको सनाखत त गरेका थिए नै साथै सम्भावित हत्याराका बारेमा हल्का सुराक पनि दिएका थिए ।

ती ब्याकप्याकर्स विदेशीहरूले दिएको सुराक अनुसार, दुवै मृतकसँग आफूलाई डच प्रोफेसर बताउने, तर अनुहार भने इन्डो–चाइनिजको जस्तो भएको धनाढ्य अधबैंसे पुरुषको हिमचिम थियो भन्ने प्रहरी टोलीले थाहा पायो । साथै ती पर्यटकहरूले त्यो कथित डच प्रोफेसरले सेतो रङको लक्जरी कार भाडामा लिने गरेको पनि सोधपुछका क्रममा बताए । कारको प्रसंग आएपछि इन्स्पेक्टर बीएलको टोलीले त्यस समय काठमाडौंमा भएका सेतो रङका सबै कारहरूको घटना भएको दिनको गतिविधि पत्तो लगाए । सेता कारहरूमध्ये एउटा आफूलाई डच प्रोफेसर हेनरिकस बिन्टान्जा भनेर चिनाउने इन्डो–चाइनिज मुहार भएको व्यक्तिले भाडामा लिएको र भक्तपुर पलाँसेमा अमेरिकन महिला पर्यटक कोन्नी जे. ब्रोन्जिचको लास भेटिएको दिन उनी सोही कार लिएर धुलिखेलतर्फ गएको तथ्य पनि अनुसन्धान टोलीका सामु खुल्न गयो । कार मालिकसँग सोधपुछ गर्दा त्यो कथित डच प्रोफेसर पाँचतारे होटल सोल्टीमा बसेको पनि थाहा भयो ।

इन्स्पेक्टर बीएल श्रेष्ठको टोलीले सोल्टी होटलमा गएर एक पटक र हनुमानढोका प्रहरी परिसरमा बोलाएर एक पटक कथित डच प्रोफेसर बिन्टान्जासँग सोधपुछ गर्‍यो । तर, दुवै पटक उनले अत्यन्तै परिष्कृत भाषा, भंगिमा र पूर्ण आत्मविश्वासका साथ मृतक ब्याकप्याकर्ससँग आफ्नो कुनै चिनजान नभएको, ब्रोन्जिचको हत्या भएको २१ डिसेम्बरका दिन आफू दृश्यावलोकनका लागि धुलिखेल गएर फर्किएको हो भने । त्यस कथित प्रोफेसरको वेशभूषा, बोली–वचन र चालढाल हेर्दा उनीमाथि शंका गर्नुपर्ने कुनै ठोस आधार नभेट्टाएपछि प्रहरी अनुसन्धान टोलीले त्यस हत्याकाण्डको तहकिकात अर्को कोणबाट गर्नुपर्ने निष्कर्ष निकाल्यो ।

तर, अनुसन्धान टोलीलाई भोलिपल्ट नै आफ्नो त्यो निष्कर्ष त्याग्नुपर्ने ठाउँ शंकाको घेरामा परेको सोही व्यक्तिले नै दिलाइदिए । आफ्नी महिला मित्रलाई साथ लिएर हनुमानढोका प्रहरी परिसरमा आएका उनले हिजो आफूसँग बयान लिने अफिसरसँग भेट्न चाहन्छु भने । इन्स्पेक्टर बीएल श्रेष्ठलाई उनको पुनरागमन केही अनौठो त लाग्यो, तैपनि के रहेछ कुरो भनेर बुझ्न पनि उनले आफ्नो कार्यकक्षमा बोलाए । उनले भनूँ कि नभनूँजस्तो, थोरै घबराएको स्वरमा इन्स्पेक्टरसँग भने, ‘मैले हिजो यहाँ मेरो मूल्यवान् पार्कर पेन छोडेर गएको जस्तो लाग्यो । तपाईंले भेट्टाएर राखिदिनुभएको छ कि ?’ उनको यो कुरा सुन्दा अपराधीहरूको मनोविज्ञान राम्रोसँग बुझेका बीएल सतर्क भए । कथित प्रोफेसर हिजो आफ्नो कार्यकक्षमा बयान दिन आउँदा उनको कोटको बगलीमा कलम नभएको कुराको उनलाई राम्रो हेक्का थियो । त्यसैले ती दक्ष प्रहरी अफिसरले थाहा पाइहाले, ती व्यक्ति आफूमाथि भइरहेको तहकिकात कसरी अघि बढ्दै छ भन्ने कुराको पडताल गर्न हनुमानढोकासम्म आएका हुन् । प्रकटमा उनले ‘तपाईंको कलम यहाँ छुटेको छैन, जानुहोस्’ भनेर उनलाई बिदा गरिदिए ।

ती व्यक्ति फर्किएर होटल पुग्दा–नपुग्दै हनुमानढोका प्रहरी परिसरमा बसेको प्रहरी अधिकृतहरूको एक बैठकले ब्याकप्याकर्स हत्याकाण्डको एक्लो संदिग्ध सोही कथित डच प्रोफेसर बसेको सोल्टी होटलको ४१५ नम्बरको कोठा खानतलासी गर्ने र हत्यामा उनको संलग्नता साबित गर्ने कुनै प्रमाण भेटिएका खण्डमा उनलाई गिरफ्तार गर्ने निर्णय लियो । खानतलास पनि इन्स्पेक्टर विश्वलाल श्रेष्ठको नेतृत्वमा गठित अनुसन्धान टोलीले नै गर्ने भयो ।

डिसेम्बर २७, १९७५ का दिन विश्वलाल सदलबल सोल्टी होटल पुग्दा रातको १० बजेको थियो । टोलीको दुर्भाग्य होटल व्यवस्थापनले प्रहरी टोलीलाई पटक्कै सहयोग गरेन । राजपरिवारका सदस्यको स्वामित्व रहेको सोल्टीका कर्मचारीहरू कसैलाई गन्दैनथे । त्यस समयको होटल मेनेजर इटालियन नागरिकले त धम्क्याए पनि, ‘तपाईंहरू बारम्बार होटलमा आएर हाम्रा भीआईपी पाहुनाहरूलाई किन डिस्टर्ब गर्नुहुन्छ ? यसको परिणाम राम्रो हुँदैन नि !’ उनले रातको समय पाहुनालाई दुःख हुने गरी खानतलासी गर्न नदिने अडान पनि लिए । प्रहरी टोली दुई–तीन घण्टा समय होटलमा बिताएर फर्कियो । त्यसको भोलिपल्ट बिहान सोल्टी होटलले हनुमानढोकामा फोन गरेर भन्यो, ‘४१५ नम्बर कोठाको पाहुना कोठाको ढोकामा डु नट डिस्टर्बको ट्याग झुन्ड्याएर भित्र बसिरहेको छ, बाहिर निस्किने चालचुल छैन तपाईंहरू आउनुपर्‍यो ।’ विश्वलालको टोली तुरुन्तै होटल पुग्यो ।

होटलको ४१५ नम्बरको कोठा बाहिरबाट निरीक्षण गर्दा प्रहरी टोली–नेता विश्वलाल श्रेष्ठलाई भित्र मानिस नभएको जस्तो लागेपछि उनले होटलका मेनेजरलाई मास्टर कीले कोठा खोल्न लगाए । भित्र पसेर हेर्दा त्यो कथित प्रोफेसरको नाम–निसान नै थिएन । कोठा पूरै भताभुंग थियो । संदिग्ध हत्यारा झ्यालबाट बाहिर निस्की पछाडिको आपत्कालीन भर्‍याङ हुँदै भागेको थियो । कोठाका सामानको खानतलास गर्दा प्रहरीले ब्याकप्याकर्सको हत्यामा ती भगौडाको संलग्नता साबित हुने कुनै प्रत्यक्ष दसी प्रमाण त भेटेन, तर एलेन गुटिएर नामको बैंकक ठेगाना भएको हीरा–जवाहरात व्यापारीको भिजिटिङ कार्डहरू भने कोठैभरि छरिएको पायो । इन्स्पेक्टर श्रेष्ठले अनुमान गरे– सोल्टीबाट चटक देखाएको शैलीमा भाग्न सफल ती व्यक्तिको असली नाम एलेन गुटिएर हुनुपर्छ । संदिग्ध व्यक्ति फरार भए पनि अनुसन्धान अधिकारी इन्स्पेक्टर विश्वलालले उपलब्ध दसी–प्रमाण, सर्जमिन मुचुल्का र बयानहरू पञ्जीकृत गरी ब्याकप्याकर्स हत्याकाण्डको चार्जसिट हुनुमानढोका प्रहरी कार्यालयमा दर्ता गराए ।

ती व्यक्तिको वास्तविक नाम भने एलेन गुटिएर होइन चार्ल्स गुरुमुख शोभराज थियो । उनको सही पहिचान खुलेको थियो, उनले नेपालमा काण्ड मच्चाएको करिब ९ महिनापछि, सेप्टेम्बर १९७६ मा । डिसेम्बर २८, १९७५ का दिन सोल्टी होटलबाट भागेका उनी नयाँदिल्लीको होटल विक्रममा ६० जना फ्रेन्च इन्जिनियरहरूको पूरै टोलीलाई विषादि खुवाएर लुट्न खोज्दा बडो नाटकीय ढंगमा पक्राउ परेका थिए । त्यसबखत भारतीय मात्र होइन, विश्वका प्रमुख सञ्चार–माध्यमहरूले व्यापक रूपमा प्रसार गरेको त्यस आपराधिक घटनामा उनको गिरफ्तारीको कारण बनेका थिए– विक्रम होटलमा आफ्नो एक साथीलाई भेट्न सादा पोसाकमा आएका प्रहरी इन्स्पेक्टर नरेन्द्रनाथ तुली । तुली महाशय घटनास्थल पुग्दा सोही होटलमा बसेका र त्यसको भोलिपल्ट नै फ्रान्स फर्किन आँटेका फ्रेन्च इन्जिनियरहरू एकपछि अर्को पेट दुख्ने, झाडा–पखाला लाग्ने भएर आलसतालस परिरहेका थिए । त्यस विषम स्थितिमा इन्स्पेक्टर तुलीको तीक्ष्ण नजर बिरामी नपरेका एउटा फ्रेन्च पर्यटकमाथि परेको थियो र उनले अस्वस्थ इन्जिनियरहरूलाई अस्पताल पुर्‍याउनुका साथै ती शंकास्पद फ्रेन्च पर्यटकलाई हिरासतमा लिएर सख्तीका साथ केरकार गरेका थिए ।

तुलीले शंकाको घेरामा राखेका ती व्यक्तिले आफ्नो नाम डेनियल बताएका थिए । तर, इन्स्पेक्टर तुलीले ती व्यक्ति सन् १९७१ को अशोका होटल डकैती मामिलाको एक अभियुक्त चार्ल्स शोभराज नै हुनुपर्छ भन्ने अनुमान गरी उनलाई कमिज फुकालेर शरीरको कम्मरमाथिको भाग देखाउन आदेश गरेका थिए । अशोका होटलमा डकैती गरेर भागेका बेला प्रहरीले चलाएको गोली चार्ल्सको पेटको दाहिनेतिर लागेको कुरा उनलाई थाहा थियो । नभन्दै आफूलाई डेनियल नामको निर्दोष फ्रेन्च नागरिक बताउने सो व्यक्तिको पेटको दाहिनेतिर शल्यचिकित्सापछि सिलाएको लामो खत देखियो । त्यसपछि दिल्ली प्रहरीका निम्ति इन्टरपोलको सहयोगमा फ्रान्सबाट फिंगर प्रिन्ट झिकाई मिलान गरेर चार्ल्स शोभराजको पहिचान यकिन गर्न सजिलो भएको थियो ।

विक्रम होटलबाट नाटकीय ढंगमा गिरफ्तार भएको ४ वर्षपछि सन् १९८० मा दिल्ली जिल्ला अदालतले चार्ल्स शोभराजलाई हत्या, नक्कली पासपोर्ट राखेको र कडा मादकपदार्थ खुवाई पीडितहरूको ज्यान–धनमा नोक्सानी पुर्‍याएको अभियोगमा १० वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध चार्ल्सले दिल्ली उच्च अदालतमा पुनरावेदन गरेपछि सो अपिल कोर्टले उनलाई हत्याको अभियोगबाट सफाइ दिँदै अन्य अभियोगमा जिल्ला अदालतले दिएको सजाय कायम राखेको थियो ।

अदालतको आदेशले १० वर्ष कारावासको सजाय भोगिरहेका चार्ल्स शोभराजलाई सन् १९७० को दशकको आधाआधीतिर बैंकक र पतायामा गरेको कम्तीमा पनि १० हत्याका लागि खोजिरहेको थाइल्यान्ड सरकारले सुपुर्दगी गर्न भारत सरकारसमक्ष विधिवत् अनुरोध गर्‍यो । भारतीय जेलमा सजाय भोगिरहेको कुनै पनि अपराधीलाई अदालतले तोकेको सजाय पूरा भुक्तान नगरी अन्य मुलुकमा सुपुर्दगी गर्न प्रचलित कानुन अनुसार नमिल्ने भएकाले भारत सरकारले थाई सरकारलाई सोही व्यहोराको जानकारी दियो । भारतीय र थाई सरकारबीच त्यस प्रकारको पत्राचार भइरहेको समयमा चार्ल्स शोभराज भारतको राजधानी दिल्लीस्थित उच्चतम सुरक्षा व्यवस्था भएको तिहाड जेलमा सजाय काटिरहेको र उनीमाथि तोकिएको १० वर्षको जेल सजाय पूरा हुन हुन आँटेको अवस्था थियो ।

अत्यन्तै धूर्त–दिमाग भएका अपराधी चार्ल्स शोभराजले भारतीय अदालतले तोकेको सजाय भुक्तान भई कारामुक्त हुनेबित्तिकै भारत सरकारले आफूलाई थाई सरकारसमक्ष सुपुर्दगी गर्छ भन्ने थाहा नपाउने कुरा थिएन । उनलाई आफूविरुद्ध थाइल्यान्डमा मुद्दा चलाइयो भने निश्चित रूपमा मृत्युदण्डको सजाय हुन्छ भन्ने पनि राम्रोसँग थाहा थियो । साथै उनी थाइल्यान्डको अदालतमा चार्जसिट दाखिल गरेको मितिले १५ वर्ष पूरा भयो भने त्यस्तो मुद्दा स्वतः निरस्त हुने थाई कानुनको पनि जानकार थिए । त्यसैले उनले आफ्नो जेल सजाय पूरा हुने वर्ष सन् १९८६ मा भारतमै अर्को अपराध गरेर त्यहीँ थप सजाय भोगी थाइल्यान्डको सम्भावित फाँसीबाट बँच्ने षड्यन्त्र रचे । त्यो षड्यन्त्र थियो तिहाड जेलब्रेक !

अंग्रेजी हुकुमतमा दिल्लीमा निर्माण भएको १० हजार कैदी राख्न सकिने तिहाड जेल भारतका कुनै पनि कारागृहभन्दा सुरक्षित र अभेद्य मानिन्थ्यो । तर, चार्ल्सले तिहाडमाथिको मिथ तोडिदिएका थिए । आफूलाई राखेको सेल र आसपास तैनाथ सुरक्षाकर्मीहरूको एउटा पूरै टोलीलाई कडा मादक द्रव्य खुवाएर उनी बडो आरामसाथ भागेका थिए त्यस अभेद्य ठानिने कारागृहबाट । मीठो बोली–वचनले जो–कसैलाई पनि लठ्ठ पार्न सक्ने उनले आफ्नो जन्मदिन मनाउने बहानामा जेलभित्र झिकाएको बर्थ–डे केक र सफ्ट ड्रिङ्क्समा मादक द्रव्य मिलाएर भारतीय सुरक्षाकर्मीहरूको स–सानो टुकडीलाई नै इन्तु न चिन्तु बनाइदिएका थिए ।

हे चार्ल्स ! ह्वाट आर यु डुइङ हियर ?

तिहाड जेलबाट चार्ल्स भागेको खबरले सारा संसारभरि नै सनसनी मच्चाइदिएको थियो । तिहाड जेल प्रशासनको सातो गुम भएको थियो । त्यस कारागृहका शीर्ष अफिसरहरू अनिश्चितकालका लागि सस्पेन्डमा परेका थिए । चार्ल्सलाई पक्रन भारत सरकारले रेड अलर्ट जारी गर्दै इन्टरपोलको सहयोगमा विश्वभरि नै उनको गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । भगौडा चार्ल्सले मञ्चन गरेको जेलब्रेकको हाई–भोल्टेज ड्रामाको अन्त्य भने बहुतै मामुली किसिमले सजिलैसँग भएको थियो– तिहाडबाट करिब २५ सय किलोमिटर टाढा पर्ने गोवाको एउटा अज्ञात रिसोर्टको बारमा ।

महाराष्ट्र पुलिसका दबङ्ग इन्स्पेक्टर मधुकर झेन्डे सपरिवार गोवा आएका थिए छुट्टी मनाउन । छुट्टी मनाउन आएको भए पनि झेन्डेको पुलिसिया आत्मा स्वभावतः अपराध र अपराधीहरूसँग सम्बन्धित खबरबाट बेखबर रहन नसक्ने भएकाले उनले चार्ल्सको जेलब्रेकको खबरको अभिरुचिका साथ अध्ययन गर्नुका साथै ती भगौडाको बहुप्रचारित हुलियालाई पनि आफ्नो दिमागमा राम्रोसँग सुरक्षित राखेका थिए । इन्स्पेक्टर झेन्डेलाई चार्ल्स त्यताहुँदी भेटिन सक्छन् भन्ने कुराको भने कुनै भनक थिएन ।

दिनभर गोवाका ऐतिहासिक चर्चहरू, पुरानो बजार र समुद्रतटमा घुमघाम गरेर थकित भएका इन्स्पेक्टर मधुकर झेन्डे रातको करीब ११ बजे पत्नी र केटाकेटीलाई रिसोर्टको कोठामा छोडेर आफूलाई मन पर्ने भ्याट सिक्स्टी नाइन् ह्वीस्कीको एक–दुई पेग लगाउन सोही रिसोर्टको ग्राउन्ड फ्लोरमा सञ्चालित बारमा गएका थिए । स्कचको एउटा लार्ज पेग लिई पहिलो चुस्की लगाउन लागेका झेन्डेको नजर बार काउन्टरको सबैभन्दा छेउमा बसेर गोवाको नामी रक्सी फिनी खान प्रयोग गरिने लामो आकारको गिलास खेलाइरहेका इन्डो–चाइनिजजस्तो देखिने व्यक्तिको मुहारमा पर्‍यो । उनको पुलिसिया दिमागले पहिलो नजरमै ठम्याइहाल्यो– ती निर्दोष आत्मविश्वासले भरिएको मुहार अरू कसैको नभएर तिहाड जेलबाट ४ दिनपहिले चामत्कारिक ढंगमा भागेको कुख्यात अपराधी चार्ल्स शोभराजको हो । आफ्नो ठम्याइप्रति ढुक्क हुन उनी शोभराजले पत्तो नपाउने गरी उनलाई अझ राम्रोसँग हेर्न मिल्ने ठाउँमा गए । उनको दिमागमा टाँगिएको चार्ल्स शोभराजको मुहारचित्र र गोवाको त्यस बारको काउन्टरमा बसेर फिनी खाइरहेको व्यक्तिको अनुहार रत्तीभर पनि फरक थिएन ।

तिहाडको भगौडा भेटिएकामा आफू पूर्णतः विश्वस्त भएपछि इन्स्पेक्टर झेन्डे आत्मविश्वासले भरिएको पाइला चाल्दै चार्ल्स शोभराजको ठीक अगाडि गएर उभिए र उनले सहज, उत्तेजनारहित स्वरमा सोधे– हे चार्ल्स ह्वाट आर यु डुइङ हियर ? अचानक सोधिएको सामान्यजस्तो लाग्ने, तर परिणामका दृष्टिले निकै नै कठोर हुन सक्ने त्यो प्रश्न सुनेर एक निमेषका लागि चार्ल्स शोभराज खंग्रङ्ग भए । तर, अभिनयका जादुगर उनले तुरुन्तै सम्हालिएर जवाफ दिए– डु यु नो मी ? आई एम नट द पर्सन यु आर एड्रेसिङ मिस्टर... ? चार्ल्स शोभराजको पहिचान ठोस रूपले खुलेको कुरामा सन्देहरहित भएका झेन्डेले आफ्नो दाहिने हातको बलिष्ठ पञ्जा शोभराजतिर बढाउँदै भने, ‘मी झेन्डे, इन्स्पेक्टर मधुकर झेन्डे अफ महाराष्ट्र पोलिस ! योर गेम इज ओभर चार्ल्स ! लेट अस गो टु दी गोवा पुलिस स्टेसन ।’ चार्ल्ससँग प्रतिरोधको कुनै अवसरै थिएन ।

चार्ल्स शोभराजका लागि गोवामा भएको त्यो गिरफ्तारी छद्म भेषमा आएको वरदान अथवा प्राणरक्षक घटना साबित भएको थियो । गोवाबाट ल्याई तिहाड जेलमा हुलेपछि उनलाई जेल–ब्रेक गरेबापत थप १० वर्षको जेल सजाय भयो । त्यसपछि उनले सन् १९९६ सम्म तिहाड जेलमा बिताए । त्यस अवधिमा थाइल्यान्डको अदालतविरुद्ध दायर भएका मुद्दाहरूको कारबाही चल्ने १५ वर्षको हदम्याद सकिएकाले थाई सरकारले उनको मुद्दाका मिसिलहरू फेरि कहिल्यै नखोल्ने गरी थन्क्याइदियो । सन् १९९६ मा कारामुक्त हुँदा उनी कुनै पनि देशको कुनै पनि अदालतमा मुद्दा नहालिएका स्वतन्त्र व्यक्ति बनिसकेका थिए । त्यसपछि उनी आफ्ना भारतीय मूलका बाबु होतचन्द गुरुमुखको देश फ्रान्सतर्फ लागे, जहाँ उनले बाल्य र किशोरवयका अनेक वर्षहरू बिताएका मात्र थिएनन् अपराधको दुनियाँमा पहिलो कदम पनि राखेका थिए ।

सन् १९९६ देखि २००३ सम्म फ्रान्समा शान्त जीवन बिताएका शोभराजको जीवनमा अर्को दुखद मोड तब आयो, जब उनले दुई जना ब्याकप्याकर्सलाई निर्ममतापूर्वक हत्या गरेर फरार भएको देश नेपालको यात्रा गर्ने निर्णय लिए । उनले त्यस्तो जोखिमी निर्णय किन लिए ? यो प्रस्ट भएको छैन । उनको चरम आत्मविश्वासी चरित्रले उनलाई डुबाएको हुनुपर्छ भन्ने अनुमान भने गर्न सकिन्छ । सेप्टेम्बर १, २००३ का दिन चार्ल्स नेपाल उत्रिएका थिए र बिनाकुनै समस्या अध्यागमन डेस्क पार गरेर ठमेलको होटल गार्डेनमा बस्न थालेका थिए । पछिल्लो समय उनमा सानो–सानो बाजी राखेर जुवा खेल्ने बानी बसेको थियो । काठमाडौंमा पनि उनले प्रत्येक साँझ क्यासिनो रोयाल गएर थोरै रकम थाप्दै ब्याक्यारेट नामको जुवा खेल्ने गरेका थिए । उनको दुर्भाग्य भनौँ कि नियतिको निर्देश भनौँ, क्यासिनो रोयालका अर्का एक नियमित खेलाडी थिए ‘दी हिमालयन टाइम्स’ र ‘अन्नपूर्ण पोस्ट’ को प्रकाशन संस्था आप्काका कर्पोरेट एडिटर– जोसेफ नाथान । मेरा मित्र, भारतीय नागरिक जोसेफ नाथान त्यसअघि ‘दी टाइम्स अफ इन्डिया’ का क्राइम रिपोर्टर थिए र शोभराजले भारतमा अपराध–कर्म गरेताका सम्बन्धित मुद्दाहरूको रिपोर्टिङ गरेकाले उनको अनुहार राम्रोसँग चिन्दथे ।

एक साँझ ब्ल्याक लेभल ह्वीस्कीको एउटा सानो पेग लिएर रुलेट खेलको आनन्द लिइरहेका बेला जोसेफको दृष्टि अर्को टेबुलमा एकाग्र चित्तले ब्याक्यारेट खेलिरहेका चार्ल्स शोभराजमाथि पर्‍यो । पहिलो नजरमै उनले शोभराजलाई चिनिहाले । उनको क्राइम रिपोर्टरको छुरा दिमागले क्यारिअरकै सबैभन्दा ठूलो स्कुप भेट्टाएको थाहा पायो ।

त्यसपछि उनले गुप्ती क्यामेरा प्रयोग गरेर चार्ल्सको फोटो उतारे, पहिचान भेरिफाइ गर्न सन् १९८६ मा गोवाको रिसोर्टमा इन्स्पेक्टर मधुकर झेन्डेले जुन वाक्य प्रयोग गरेका थिए, ठ्याम्मै त्यही वाक्य प्रयोग गरेर चार्ल्सलाई सोधे, ‘हे चार्ल्स ह्वाट आर यु डुइङ हियर ?’

यस पटक पनि उनले आफू चार्ल्स नभएको जनाउने प्रयत्न त गरे, तर व्यर्थ ! जोसेफ नाथानले आफ्नो संस्थाले निकाल्ने दुवै पत्रिकामा सन् ७० को दशकको कुख्यात सिरियल किलर चार्ल्स गुरुमुख शोभराज काठमाडौंमा आई होटल गार्डेनमा बसिरहेको सनसनीदार समाचार छापिदिए ।

उपसंहार

‘अन्नपूर्ण पोस्ट’ र ‘दी हिमालयन टाइम्स’ मा त्यो स्कुप छापिएपछि प्रहरीले शोभराजलाई क्यासिनो रोयालबाट

गिरफ्तार गर्‍यो । उनको गिरफ्तारीबाट सर्वाधिक सन्तुष्टि प्राप्त गर्नेमा थिए, चार्ल्सले पहिलो पटक कर्तव्यज्यान सम्बन्धी कसुर गर्दा तहकिकातको जिम्मेवारी लिएका तत्कालीन प्रहरी इन्स्पेक्टर र हालका कानुन व्यवसायी विश्वलाल श्रेष्ठ । आफूले अधुरो छोड्नुपरेको मुद्दालाई अन्तिम परिणतिमा पुर्‍याउने अवसरलाई खेर जान नदिन उनले मृतकद्वय कोन्नी जे. ब्रोन्जिच र अर्मन्ड क्यारेरेका आफन्तहरूबाट अख्तियारनामा लिई काठमाडौं र भक्तपुर जिल्ला अदालतमा चार्ल्सविरुद्ध कर्तव्य–ज्यान मुद्दा दायर गरे । दुवै अदालतबाट कसुर प्रमाणित भएको फैसला भई जन्मकैदको सजाय पाएका शोभराजले उच्च र सर्वोच्च अदालतमा सो फैसलाविरुद्ध अपिल गरे । तर, दुइटै सम्मानित अदालतले तल्लो अदालतको फैसलालाई नै सदर गर्‍यो । र, चार्ल्सले गत साता कारामुक्त हुने बेलासम्म करिब १९ वर्ष सदर जेल काठमाडौंमा सजाय काटे । कारामुक्त भएकै दिन १० वर्षसम्म नेपाल आउन नपाउने गरी उनलाई फ्रान्स पठाइएको छ ।

...

चार्ल्स शोभराजसँग दोभाषे भएर प्रत्यक्ष एक पटक र परोक्ष रूपमा दुई पटक सम्बन्ध जोडिएको थियो मेरो । पहिलो अप्रत्यक्ष सम्बन्ध सन् १९७६ मा शोभराजको मुद्दाको तहकिकात गर्ने इन्स्पेक्टर र पछिल्लो पटक २००३ मा सो मुद्दालाई जगाउने वकिल विश्वलालले शोभराजको जीवन–कहानीको पुस्तक ‘चक्रव्यूह’ को सम्पादन र परिमार्जन गर्ने जिम्मा मलाई दिएपछि कायम भएको थियो । त्यो पुस्तकको अंग्रेजी संस्करणको कपी एडिट पनि मैले नै गरेको थिएँ ।

दोस्रो पटक आप्काका कर्पोरेट एडिटर जोसेफ नाथानले शोभराज काठमाडौंमा आइपुगेको सनसनीदार समाचार दिने बेला मैले ‘अन्नपूर्ण पोस्ट’ को एक सम्पादकका हैसियतले इनहाउस छलफलमा भाग लिएपछि चार्ल्स र मेरो परोक्ष सम्बन्ध थप गहन भएको थियो ।

लेखकको भूल सुधारसहित क्षमायाचना :

'धेरै वर्ष पहिलेको घटनामा आधरित फिचर हुनुका साथै मेरो स्मृतिमा आएको मलीनता-दोषका कारण गत शनिबारको कोसेलीमा प्रकाशित चार्ल्स शोभराजसम्बन्धी मेरो लेखमा भक्तपुर जिल्ला अदालतमा चार्ल्स शोभराज विरुद्ध चलेको कर्तव्यज्यान मुद्दा क्यानेडियन नागरिक लरेण्ट अर्मान्ड क्यारेरेको हत्यासम्बन्धी हुनु पर्नेमा अन्यथा भएकोले क्षमायाचनाका साथ भूल सुधार गरेको छु ।' -हरि अधिकारी

सच्याइएको : शनिबारको कोसेलीमा प्रकाशित 'शोभराजका दोभाषेको बयान' शिर्षकको सामाग्रीमा लेखक हरि अधिकारीले क्षमायाचनाका साथ भूल सुधार गरेकाले सोही अनुसार उक्त लेखमा गलत रुपमा उल्लेख गरिएको तथ्य सच्याइएको छ । -सम्पादक

प्रकाशित : पुस १६, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?