कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लामसुरेका कुदिरहने लामा दाइ

समयले कतिवटा ऋतुको चक्र घुमिभ्यायो कुन्नि ? लामा दाइको दौड भने उसैगरी चलिरहेछ । शरीरका हड्डी भन्छन्– बूढो भइस् । मांसपेशीले दुःख बिसाउँछन्– अब त थकाइ मार् । तर, लामा दाइको जोसले भने क्यालेन्डर नपल्टाएको वर्षौं भयो ।
बिना थिङ

आँगनमा उज्यालो खसेपछि घाम टिप्न हिँड्नेहरूले लामा दाइलाई कहिल्यै सँगै देखेनन् । उनी त रातको गहिरो सन्नाटा बोकेर एकादेशमा ओहोरदोहोर गरिरहन्थे । उज्यालोको धर्काधर्की बोकेर फर्किने आशामा अँध्यारोको गर्त चहारिरहन्थे ।

लामसुरेका कुदिरहने लामा दाइ

कहिलेकाहीं हत्केलामा जूनकिरी च्यापेर घर फर्किन्थे । हत्केलाबाट नफुत्कोस् भनेर बलियोसँग मुठ्ठी कस्सेर ल्याएको जूनकिरीको न राप हुन्थ्यो त ताप । एउटा लामो थकथकी लिएर उनी फेरि एकादेशमा हराउँथे । समयको दस्तावेजमा पटकपटक हराइरहने र पटकपटक भेट्टिइरहने उनै लामा दाइको कथा हो यो ।

माटाको घैंटामा हप्तादिन कोचिराखेको रायोको साग झिकेर घाममा सुकाउँदा जसरी कुर्लुङकुर्लुङ पर्‍थ्यो, त्यसरी नै लामा दाइको कपाल बढ्दै जाँदा कुर्लुङकुर्लुङ पर्‍थ्यो र निधारबाट बुधुना माछाको टाउकोजस्तो नाकसम्म हाम्फाल्थ्यो । त्यही नाकको डाँडीमा अड्याएर उनी सुनौलो फ्रेमको पावरविहिन चस्मा लगाउँथे । चस्मामा लामा दाइको ज्यानै बसेको थियो । आफ्नो एउटा बाख्रेआँखालाई दुनियाँको नजरबाट जोगाउने भएर हो सायद लामाको दाइको छायाले समेत चस्मा बिर्संदैनथ्यो । आँखाबाट चस्मा छुट्थ्यो त केवल निदाउँदा वा सिरानीमुनिको उपन्यास झिकेर पढ्दा । विडम्बना त्यही चस्मामा एक दिन उनकी छोरी बसिदिई । लामा दाइ वीरगंज जाने हतारमा थिए । हतारमै चस्मा मेचमा राखेर दाह्री खौरिन थाले । हतारमै उनकी नौवर्षे छोरी मेचमाथि थ्याच्च बसिदिई । झर्‍याम्म– लामा दाइ यसरी झडङ्ग भए मानौं त्यो सिसा होइन उनको मुटु फुटेको छ र त्यसको तोडमा छोरीको गालामा बजाइदिए ।

रिस त लामा दाइलाई उठिरहन्थ्यो । गाउँलेहरू भन्थे, टुप्पीमा दुईवटा भुमरी हुने अचाक्ली रिसाहा हुन्छन् । धन्न लामा दाइको एउटा मात्रै भुमरी थियो । एउटै हुँदा त उनी रिसको झोंकमा एउटा आँखा चिम्लन्थे र बतासमा जोडले हात हल्लाउँथे । त्यतिखेर उनी नजिक भएका सबैथोक हल्लिन्थे, काँप्थे र शान्त हुन्थे । दुइटै भुमरी भएको भए ?

‘लामा दाइको रिस त टुप्पीमा होइन नाकमा छ । टुप्पी त बाहुनको पो हुन्छ । लामा दाइ त भोटे हुन्’, मुखन्जेली भन्न नसके पनि गाउँलेहरू लामा दाइका पछाडि कुरा काट्न बाँकी राख्दैनथे ।

सामुन्नेमा त लामा दाइ लामसुरेको दादा नै थिए । कराँते खेल्थे । बिहान काँचो चनाको फाँको लाउँथे । काँचै अण्डाको रानो निल्थे अनि साइकल कुदाउँदै सिमरातिर हुइँकिन्थे । बटारिएका नाइलनका डोरीजस्ता पाखुरा भएका लामा दाइको छाती मानबहादुर गुरुले किक् हान्न झुन्ड्याइराख्ने बालुवा भरिएको रबरको थैलाजस्तो थियो । जतिपटक मुक्का हाने पनि यस्सो हल्लिन्थ्यो अनि स्थिर हुन्थ्यो ।

‘बेलिबटम पाइन्ट र बुट्टे सर्टमा लामा दाइ धर्मेन्द्रजस्तै देखिन्छ’, लामसुरेमा लामा दाइको गठिलो शरीरको प्रशंसा हुन्थ्यो । प्रशंसा गठिलो ज्यानको मात्र होइन, कपडाको पनि हुन्थ्यो । लामसुरेमा पहिलोपटक जिन्स पाइन्ट लगाउने उनै थिए । लेदरको ज्याकेट भिर्ने पनि उनै थिए । डिङ्गो जुत्ताको छाप सिमेन्टेड भुइँमा छोड्दै हिँड्ने पनि लामा दाइ नै थिए ।

‘पेटमा छैन लेपलेप, खुट्टामा टेपटेप’, जुत्ताको टापजस्तो लामा दाइको प्रभाव आफ्नै जीवनमा भने पर्न सकिरहेको थिएन । लमिनी दिदी रित्तिँदै गएको बोरा र भरिँदै आएको छोरीको बोर्डिङ स्कुलको फी लामा दाइलाई देखाउँदै छेड हान्थिन् । ‘के गर्ने त यार् । मैले जे काम आँटे पनि सफल हुँदैन त’, लामा दाइ लमिनी दिदीको मुखमा बुजो कोचिदिन्थे । हुन पनि लामा दाइले गर्न बाँकी काम के थियो र !

के मात्रै गरेनन् उनले ? बरफ बेचे । तितौरा बेचे । मुठ्ठीभरिको सख्खरभुजियाको डल्ला बेचे । कृषि बैंकबाट ऋण लिएर ब्रोइलर कुखुरा पाले । लेस कुखुराको अण्डाको क्यारेट साइड क्यारेजमा राखेर डिलरसम्म साइकलको पाइडल कतिपटक घुमाए–घुमाए । पाँच कक्षासम्म पढेका लामा दाइको हिसाबकिताब कहाँ मिल्दैनथ्यो कुन्नि ! सधैं घाटामा जान्थ्यो । रासन पसलमा पो नाफा होला कि भनेर घरकै सडकपट्टिको दुई खापे ढोका खोलेर दोकान थापे । गाउँलेले पूर्वजन्मको ऋण उठाएसरि उधारो लगेपछि लामा दाइले पसल बन्द गरे । बन्द गर्ने बेलामा भनी पनि हाले– ‘आ होस् है । अर्को जन्ममा असुलौंला ।’ फेरि पनि हरेस खाइहाल्ने स्वभाव थिएन उनको । बरु ज्यानमा तेब्बर चौबर कपडा खापेर आकाशबाट अगुल्टो खसिरहको सुनौलीको सडकमा तस्कर गरे । बोर्डरमा पुलिसको आहारा बने । दिल्लीको पियोर लेदरको ज्याकेटको होलसेलबाट कारोबार गरे । नेपाल आइपुग्दा त्यो र्‍याकजिन भइसक्थ्यो ।

‘मेरो लक छैन रैछ’, आजित भएर लामा दाइ जानेजतिको अंग्रेजी खोक्थे ।

उनको पैताला चिलाउन भने कहिल्यै छोडेन ।

‘पख् न यार । स्यालको सिङ खोजेर ल्याउँछु । त्यसपछि त मालामाल ।’

कसले सुनायो कुन्नि लामा दाइलाई स्यालको सिङ हजारौंमा बिक्री हुने रहस्य ! एक दिन लामा दाइ चारकोसे झाडीमा अलप भए । महिनौंसम्म लोग्नेको अत्तोपत्तो नभएपछि लमिनी दिदीले चर्खा किनिन् । बजारबाट ठेक्कामा भेडाको ऊन झिकाइन् र चर्खा घुमाउन थालिन् । आफ्नै जिन्दगीजस्तै कहिले मोटो कहिले पातलो धागो कात्न थालिन् । समय र मिहिनेत भन्दा आम्दानी कम भइराख्दा पनि लमिनी दिदीले चर्खा घुमाउन छोडिनन् । लमिनी दिदीको जीवन र चर्खा उस्तैउस्तै भयो । घुमेको घुम्यै । नतिजा शून्य । शरदको एउटा साँझ, रुझेको बिरालोको अनुहार बोकेर लामा दाइ घरमा टुपुल्किए ।

‘अनि भेटियो त स्यालको सिङ ?’, दूधभात खाँदै गरेका लामा दाइको किलकिलेमा लमिनी दिदीले हुरुक्कै हुनेगरी झटारो दिइन् ।

‘काँ यार् । ठ्याक्कै स्यालको सिङ उम्रिएको बेलामा भेटिनुपर्ने रहेछ । मेरो लक लागेन,’, लामा दाइले दन्तसौन्दर्य प्रदर्शन गरे र खाटमा उत्तानो पल्टिए । उनले देखे– हुरीले टायल उडाएर ह्वाङ्ग पारेको छानो । माटाको लिउन उप्किँदैँ गएको कोठाको भित्तो र वषौं बाछिटाले हानेर मक्किँदै गएको झ्यालका चौकस । लच्किँदै गएको ढोका ।

त्यही ढोकाबाट बोजबहादुर स्वाट्ट पसे र लामा दाइलाई खाटसहित जुरुक्क उचाले, ‘वन झाँक्रीको हड्डी भेट्टाउन सके त मालामाल ।’

अर्को बिहान ढाड सीधा पारेर लामा दाइ निस्किए । लमिनी दिदीलाई थाहा थियो त्यसरी ढाड सीधा पारेर निस्केका लामा दाइ फेरि एकदिन छातीतिर साठी डिग्रीमा ढल्किँदै ढोकाबाट पस्नेछन् ।

हुन पनि त्यस्तै भयो । वर्षको सुरुमा निस्केका लामा दाइ मध्याह्नमा साठी होइन पूरै तीस डिग्रीमा ढल्किँदै लच्किएको ढोकाबाट पसे ।

‘अब त चुपचाप लागेर मलाई सघाऊ बूढा । घरै बस’, त्यतिन्जेलमा लमिनी दिदीले कानको जुली बेचेर एउटा भैंसी किनिसकेकी थिइन् । लामा दाइकी छोरी दूध भरिएको क्यान बोकेर डेरीमा पुर्‍याउन जान थालेकी थिई । घरमा दाल भातसँगै राँगाको मासु पाक्न थालेको थियो । लामा दाइले पहिले लमिनी दिदीको हाड उठेका गाला सुम्सुम्याए अनि गोठमा गएर भैंसी सुम्सुम्याए । ‘लु होइ तैंले भैंसी ल्याइहालेछ । अब गोबरग्यास प्लान्ट राख्न पर्छ । अनुदान दिन्छन् क्यार’, लामा दाइको मगजमा बिजुलीको तारमा हाई भोल्टेजले कुद्ने करेन्ट कुद्यो ।

‘उहँ हुन्न । पहिलेकै रिनले थाप्लो भत्भताइराछ’, लमिनी दिदीले मैलो सिरकको खोल धोएर बटारे जसरी आफ्नो मुन्टो बटारिन् । लामा दाइ गोडा बटार्दै मटानमा गए । साइकलमाथिको धूलोको छप्पर टक्टक्याए र बजारतिर बत्तिए । लमिनी दिदीलाई थाहा थियो– लामा दाइ टुप्पामा तानेर भुइँमा लतार्दै छोडेको बाँसजस्ता छन्, जो अहं र अटेरीपनले पुनः ठडिन्छन् ।

हप्तादिनपछि मान्छेहरूले देखे–केही मान्छेहरू लामा दाइको घरपछाडिको बारीमा उभिएका छन् । लामा दाइ हातमा फित्ता लिएर छेउकुना नाप्दै छन् । त्यसको हप्तादिनपछि लामा दाइ आफैंले कोदालो र पिकले बारीमा खाडल खन्न थाले । लमिनी दिदीले माटो झिक्दै फाल्न थालिन् । लामा दाइकी छोरीले भान्छा सम्हालिन् । दृश्यमा लामा दाइको घर सम्हालियो ।

‘एकतले भए पनि घर त ढलान गर्न पर्‍यो,’ अर्को वर्ष सप्रिएको मूलाबारीबाट मूला उखेल्दै लामा दाइले भने ।

‘काँ छ त्यत्रो पैसा ?,’ लमिनी दिदीले उखेलेको मूला पखाल्दै सोधिन् । उत्तर खोज्न लामा दाइ साइकलमा बत्तिए– बजारतिर । महिनादिनपछि आँगनमा गिटी, डन्डी, सिमेन्ट अनलोड भयो । लमिनी दिदी ट्वाँ परिन् । त्योभन्दा बढ्ता त्यतिखेर ट्वाँ परिन् जतिखेर अग्राखको दराजबाट घडेरीको पुर्जा गायब भएको थाहा पाइन् ।

‘मुर्दार जग्गा काँ लगेर बन्दगी राख्या ?’, लमिनी दिदीको मुख एचआईडीको सैलुनमा ठाकुरले चलाउने छुरा जत्तिकै चल्यो । बीस वाटको गुलुपको उज्यालोमा लामा दाइले सय वाटको झट्का लाग्नेगरी लमिनी दिदीको अनुहारमा कराँतेवाला मुक्का दिए । त्यस दिन लामा दाइले बोम्जन बुढाको घरबाट छोरीलाई रक्सी ओसार्न लाएर पिएका थिएनन् । रक्सी पिएका भए मुसुमुसु हाँसेर नीलो गिजा देखाउँथे ।

‘कस्तो उल्टो मान्छे’, गाउँलेहरू लामा दाइ र चमेरोलाई एउटै लहरमा झुन्ड्याइदिन्थे ।

हुन पनि दुनियाँ हिँड्ने बाटामा लामा दाइ हिँड्दैनथे । नहिँड्ने बाटोमा दौडिन्थे ।

समयले कतिवटा ऋतुको चक्र घुमिभ्यायो कुन्नि ? लामा दाइको दौड भने उसैगरी चलिरहेछ । शरीरका हड्डी भन्छन्, बूढो भइस् । मांसपेशीले दुःख बिसाउँछन्, अब त थकाइ मार् । तर, लामा दाइको जोसले भने क्यालेन्डर नपल्टाएको वर्षौं भयो । लमिनी दिदीलाई काठमाडौंछेउको दन्त्यकथाको जस्तो सानो घरमा छोडेर उनी कुदिरहन्छन्, पल्सर बाइकको एक्सिलेटर बटार्दै पहाडै–पहाड । ‘ज्याद्रो छ हो यो बूढो त, हामीभन्दा पनि रफ चलाउँछ’, नुवाकोट जिम्नाङ गाउँका केटाहरू जिब्रो टोक्छन् । तर, उनको स्पिड थामिए पो ! सपना र रहर हो सायद अझै पूरा भएको छैन ।

अस्ति भर्खर त फोन गर्दैथे, ‘छोरी गाउँमा किवी खेती गर्न थालेको छु, लौ लगानी गर्नुपर्‍यो ।’

प्रकाशित : पुस १६, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?